ज्योति लाईफ इन्स्योरेन्सकाे बीमा शुल्क ९७ प्रतिशतले वृद्धि
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स बीमा शुल्क गत वर्षको तुलनामा चालु आर्थिक वर्षको तेस्रोत्रयमा ९७ प्रतिशतले वृद्धि भएको छ । लकडाउनको अवधिमा नै इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रोत्रय प्रकाशित गरेको थियो । प्रकाशित सो वित्तीय विवरण अध्ययन विश्लेषण गर्दा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस आर्थिक वर्षको तेश्रोत्रयमा समाकुल बीमा शुल्कमा ९७ प्रतिशतले वृद्धि गर्दै १.१४अर्ब रुपैयाँ आर्जन गर्न सफल भएको देखिन्छ । व्यवसाय वृद्धिसंगै जीवन बीमा कोष ज्योति लाईफ इन्स्योरेन्स बलियो बनाउँदै गएकाे छ । कम्पनीले अल्पकालिन लगानी घटाई दिर्घकालिन लगानीलाई प्राथमकिता दिएको कारणले दिर्घकालिन लगानी ८३ प्रतिशतले वृद्धी भएको छ । त्यस्तै अल्पकालिन लगानीमा ५८ प्रतिशतले गिरावट आएको छ । व्यवस्थापन खर्चमा भएको वृद्धिको बाबजुद कम्पनीले खुदनाफामा समेत १४ प्रतिशतले सुधार गर्दै ११.५१ करोड रुपैयाँ नाफा गर्न सफल भएको छ भने नाफाको रकम बीमाङ्किय मूल्याङ्कन पश्चात परिवर्तन हुन सक्नेछ । व्यवसाय तथा बीमितको संख्या वृद्धीसंगै कम्पनीको दाबी भुक्तानी रकम पनि १३६ प्रतिशतले वृद्धी भईदाबी वापत ८९.५९ लाख रुपैयाँ भुक्तानी गरेको देखिन्छ । व्यवसाय तथा लगानी बृद्धि, संचालन खर्चमा सन्तुलन लगायतको कारणले कम्पनीको तेश्रोत्रय मासमा जगेडा कोषमा समेत ८३ प्रतिशतले वृद्धि भइ ३७.३९ करोड रुपैयाँ कायम हुन गएको देखिन्छ । भने जिवनबीमा कोषमा १९१ प्रतिशतले वृद्धि भइ १.४० अर्ब रुपैयाँ रहेकोे देखिन्छ । कम्पनीको वित्तीय विवरण अध्ययन गर्दा दिर्घकालिन लगानीको अनुपात बढी रहेको र वित्तीय बजारमा निक्षेपको ब्याजदरमा कमी आएता पनि कम्पनीको नाफा आगामी दिनमा समेत सन्तुलित हुने विश्लेषण गर्न सकिन्छ ।
लकडाउनकाे कारण उद्योग व्यवसायमा भएकाे क्षतिको बीमा हुन्छ ?
काठमाडौं । कोरोना भाइरस संक्रमण रोक्न सरकारले ११ चैतदेखि देशभर लागू गरेको लकडाउनको अवधि १ महिनाभन्दा बढी समय भइसकेको छ । सरकारले २५ बैशाखसम्म देशभर लकडाउन जारी गर्ने निर्णय गरेको छ । अहिले नेपालको वार्षिक कूल गार्हस्थ उत्पादन ३६ खर्ब रुपैयाँको हाराहारीमा भएको मानिन्छ । अर्थात प्रतिमहिना औसत कूल गार्हस्थ उत्पादन ३ खर्ब रुपैयाँ बराबरको छ । सरकारले लागू गरेको लकडाउनको कारण प्रतिमहिना ३ खर्ब रुपैयाँको दरले नोक्सानी भइरहेको छ । लकडाउनका कारण उद्योग व्यवसाय थलापरिसकेको उद्योगी व्यवसायीले बताएका छन् । लकडाउनको समयमा पनि उद्योेगले कर्मचारीलाई तलब दिनै परेको छ, बैंकबाट लिएको ऋणको किस्ता तिर्नै परेको छ, भाडा बुझाउनै परेको छ, निश्चित रकमसम्मको विजुलीको विल तिर्नै परेको छ । अन्य निश्चित खर्च भइरहेका छन् । यस्तै खर्चको कारण आफूहरुलाई थप समस्या भएको उद्योगी व्यवसायीको भनाइ छ । तर, सरकारले लागू गरेको लकडाउन जस्ता अवस्थाको बीमा गर्न सकिदैन ? यस्तो अवस्थाको बीमा गर्ने हो भने उद्योग तथा कम्पनीहरु नोक्सानीमा जानुपर्ने वाध्यात्मक अवस्थाको अन्त्य हुने पो थियो कि ? बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल उद्योग प्रतिष्ठानहरुले नाफा नोक्सानको बीमा गराउन सकिने भएपनि लकडाउन जस्तो अवस्थाको बीमा गराउन नमिल्ने बताउँछन् । कम्पनीहरुले गर्ने नाफा नोक्सान बीमा भनेको सम्पत्ती बीमासँगै जोडिएर आउने बीमालेख हो । यो बीमालेख लिएका उद्योग प्रतिष्ठानहरुको आम्दानीमा कुनै पनि प्रकारको असर परेर नोक्सानी भएमा बीमा कम्पनीबाट क्षतिपूर्ति पाइन्छ । तर, नेपालमा नाफा नोक्सान बीमाको प्रचलन जलविद्युत कम्पनीहरुमा भए पनि अन्य उद्योग प्रतिष्ठानमा नगन्य मात्रामा छ । निर्जीवन बिमक संघका महासचिव तथा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री पनि लकडाउन जस्तो परिस्थितिका कारण उत्पन्न हुने जोखिमको बीमा नहुने बताउँछन् । अनिश्चित कारणबाट उत्पन्न भएको परिणामले भौतिक क्षति भएको अवस्थामा मात्रै बीमाले रक्षावरण गर्ने भएकोले यस्तो अवस्थाको बीमा नहुने उनको भनाइ छ । कुनैपनि उद्योगमा भौतिक क्षति भएको अवस्थामा बीमाले आर्थिक जोखिम बहन गर्छ, बीमाको सिद्धान्त अनुसार अनिश्चित जोखिममा हालसम्म बीमा हुँदै आएको छ, अहिलेको लकडाउनको समयमा उद्योग नचल्दा त्यसलाई तत्काल बीमाले समेट्दैन’, क्षेत्रीले भने । उद्योग तथा कलकारखानाका सम्पत्तीहरुको बीमा गर्न मिल्ने व्यस्वस्था अहिले पनि छ । उद्योगका सम्पत्ती तथा सामाग्रीहरु टुटफुट, आगलागी, प्राकृतिक विपतबाट नष्ट तथा अन्य कारणले हुने क्षतिको बीमा गर्न पाइन्छ । प्रिमियर इन्स्यारेन्स कम्पनीका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा बीमा विज्ञ सुधुम्न उपाध्याय लकडाउन जस्तो परिस्थितिको बीमा नहुने बताउँछन् । सरकारले गरेको निर्णयबाट विभिन्न देशले लकडाउन जारी गरेकोले बीमाको दायराभित्र नपर्ने उनको भनाइ छ । ‘सरकारले गरेको निर्णयले लकडाउन भएको हो, लकडाउनको कारणले उद्योग व्यवसाय नोक्सानीमा गएका हुन्, यस्तो अवस्थाको बीमा हुदैन, किनभने सरकारले निर्णय गरेर लकडाउन गरेको कारण लकडाउनबाट उत्पन्न परिस्थितिको बीमा गराउनु भनेको सरकारको निर्णय विरुद्ध बीमा गर्नुजस्तै हो, सरकारी निर्णयबाट हुने कुनै पनि प्रकारको अवस्थाको बीमा हुदैन,’ उपाध्यायले भने ।
सिटिजन लाइफ इन्स्योरेन्सले एजेन्सी म्यानेजरहरुको पनि गरायो कोरोना बीमा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना भाइरस (कोभिड–१९) महामारीको विरुद्ध आफ्ना एजेन्सी म्यानेजरहरुलाई पनि १ लाख रुपैयाँको बीमालेख प्रदान गरेको छ । कम्पनीले निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबाट सामुहिक बीमा बीमालेख खरिद गरी एजेन्सी म्यानेजरहरुलाई उक्त सुविधा उपलब्ध गराएको हो । जीवन बीमा व्यवसायको विकास र विस्तारका लागि बीमा अभिकर्ताहरु कम्पनीको मेरुदण्ड हुन । त्यसैले अहिलेको यस विषम परिस्थितिमा आफ्ना लिडरहरुको व्यवसायिक मनोवल उच्च गराउन कम्पनीले निर्धारण गरेको व्यवसायिक लक्ष्य हासिल गरेका सम्पूर्ण एजेन्सी म्यानेजरहरुलाई १ लाखको कोरोना भाइरस, कोभिड–१९ बीमा सुविधा उपलब्ध गराएको छ । बीमा समितिको निर्देशन बमोजिम कोरोना भाइरस रोगको रक्षावरण गर्नका लागि कोरोना भाइरस (कोभिड–१९) नयाँ बीमालेख प्रचलनमा आउने बित्तिकै यस अघि सिटिजन लाइफले आफ्ना कर्मचारीहरुलाई पनि सोहीे सुविधा उपलब्ध गराएको थियो । कोरोना लागेको पिसिआर परीक्षणमा पोजेटिभ देखिने बित्तिकै बीमाङ्क रकम भुक्तानी लिन पाइनेछ । यस बीमालेखले बीमितहरुलाई एक वर्षसम्म सुरक्षा प्रदान गर्दछ । आफ्नो टिमको मनोबल उच्च राख्न र कम्पनीमा आबद्ध लिडरहरुको सेवा सुविधा र क्षमता बृद्धि विकासमा अग्रणी भूमिकामा रहदै आएको सिटिजन लाइफले आफ्नो यस प्रयासले आफ्ना लिडरहरुको क्यारियर एजेन्सीको रुपमा काम गर्न थप आधार तयार हुने विश्वास लिएको छ ।