पाँच हजार छोरी बीमित
काठमाडौं । प्रदेश सरकारद्वारा सञ्चालित ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा शिविरमार्फत हालसम्म पाँच हजारभन्दा बढी छोरी बीमित भएका छन् । २०७५ साल माघ १ गते यता जन्मिएको छोरीलाई प्रदेश सरकारले शिक्षा बीमा गरी दिने घोषणा गरको थियो । सोहीअनुरुप मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान सञ्चालन गरिए पनि प्रभावकारी हुन नसकेपछि विगत एक वर्षमा जन्मिएका सबै छोरीको बीमा गर्ने उद्देश्यका साथ शिविरमार्फत माघ १० गतेसम्म पाँच हजार ४० छोरीले बीमा गराएका हुन् । बीमा गराएकी बालिकाले २० वर्षपछि एकमुष्ट रु एक लाख २५ हजार पाउने कुरा मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए । शिविरमार्फत सप्तरीमा ८८८, सिरहामा ६६३, धनुषामा ३४६, महोत्तरी ६४५, सर्लाही ७६८, रौतहट ४६२, बारा ८०५ र पर्सामा ४६३ छोरीले बीमा गराएको छ । बीमाका लागि आवश्यक जन्मदर्ता, स्थानीय तहको सिफारिस, आमा वा बुबामध्ये एकजनाको नागरिकता र बच्चा तथा अभिभावकको ६/६ थान फोटो आवश्यक रहेको हुँदा प्रदेश सरकारले शिविरमार्फत सबै प्रक्रिया पूरा गर्ने गरी व्यवस्था गरेको छ । शिविरमा प्रभु बैंकका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा वडा सचिवहरु, फोटोग्राफर एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रतिनिधिको अनिवार्य उपस्थिति रहने गरेको छ । माघ २ गते मुख्यमन्त्री लालबाबु राउतले पर्साको वीरगञ्जका साथै आठवटै जिल्लामा एकसाथ शुरु गरिएको शिविर फागुन पहिलो सातासम्म प्रत्येक स्थानीय तहमा सञ्चालित रहनेछ । शिविर महानगरमा चार, उपमहानगरमा तीन, नगरपालिकामा दुई र गाउँपालिकामा एक दिन सञ्चालन गरिने व्यवस्था छ । साथै शिविरमा बीमा गराउने बालिकाको परिवारले तीन महिनाका लागि सुविसुको फ्री इन्टरनेट सेवासमेत पाइरहेका छन् । रासस
अजोड इन्स्योरेन्सको सेयर निष्काशन तथा प्रत्याभूतिमा ग्लोबल आईएमई र कुमारी क्यापिटल
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको सेयर निष्काशन तथा प्रत्याभूतिमा दुई क्यापिटल नियुक्त भएका छन् । इन्स्योरेन्सले माघ १२ गते ग्लोबल आइएमई क्यापिटल तथा कुमारी क्यापिटललाई सेयर निष्काशन तथा प्रत्याभूतिमा नियुक्त गरेको हो । सो सम्बन्धि अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री, ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकाल र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठले प्रत्याभुतिकर्ता नियुक्ती सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
ज्योति लाईफको बीमा शुल्कमा १३६ प्रतिशतले वृद्धि, नाफा ७ कराेड नजिक
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले चालु आ.व.को प्रथम ६ महिनामा खुद नाफा ७ प्रतिशतले सुधार गर्दै रु. ६ करोड ८९ लाख आर्जन गरेको छ । यो नाफाको रकम बीमाङ्कीय मुल्याङ्कन पश्चात परिवर्तन हुन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा कुल बीमा शुल्कमा १३६ प्रतिशतले वृद्धि भइ रु. ७५ करोड १४ लाख आर्जन गरेको छ । चालु आर्थिक वर्षमा आर्थिक गतिविधि सुस्ताएको र बीमा कम्पनीहरुलाई व्यवसाय विस्तार गर्न निकै कठिन भएको बेलामा यस कम्पनीको बीमा शुल्क वृद्धिदर उच्च देखिएको छ । त्यस्तै, कम्पनीले दीर्घकालिन तथा अल्पकालिन लगानीमा क्रमशः २७ प्रतिशत र २७९ ले वृद्धि गरेको छ । कम्पनीको व्यवस्थापन खर्चमा ४७ प्रतिशतको वृद्धि भएको छ । आम्दानी वृद्धि दर उच्च भएपनि व्यवस्थापन खर्च बढी भएकोले खुद नाफा सिंगल डिजिटमा रोकिएको छ । व्यवसाय तथा लगानी वृद्धी, संचालन खर्चमा सन्तुलन लगायतको कारणले कम्पनीले दोश्रो त्रयमासमा जगेडा कोषमा समेत ९५ प्रतिशतले वृद्धि भइ रु.३३ करोड ४६ लाख कायम गरेको छ । त्यस्तै, जीवन बीमा कोषमा २६७ प्रतिशतले वृद्धि भइ रु. १.२१ अर्ब भएको छ । जीवन बीमा क्षेत्रमा बलियो उपस्थिति जनाउँदै ज्योति लाईफ इन्स्योरेन्स नेपालको जीवन बीमा बजारमा २०७४ सालमा बीमा समितिबाट इजाजत पाइ संचालनमा आएको हो । करिब ३ वर्ष पुरा नहुँदै यो कम्पनी जीवन बीमा क्षेत्रमा बलियो धरातल बनाउन सफल भएको छ । ज्योति लाईफले हालसम्मकै सर्वाधिक ३५ वटा घातक रोगहरु विरुद्ध रु. ५० लाख सम्मको उपचार सुविधा सहितका नयाँ नयाँ बीमा योजनाहरु जारी, ग्राहक सेवामा प्राथमिकता, अनलाइन तथा मोबाइलबाट नै बीमा नवीकरण शुल्क तिर्ने व्यवस्था लगायत प्रविधिहरु संचालनमा ल्याएको छ ।