यूनाईटेड इन्स्योरेन्समा व्यापक फेरबदल, डाईरेक्टरमा जीवन भट्टराई नियुक्त

काठमाडौं । यूनाईटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति सदस्य (डाईरेक्टरमा)मा जीवन भट्टराई नियुक्त भएका छन् । बैंकिङ क्षेत्रमा करिव २ दशक काम गरेको भट्टराई सेन्चुरी कमर्सियल बैंकको डेपुटी सीईओबाट बाहिरिएका थिए । उनीले यूनाईटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा चौधरी ग्रुपको प्रतिनिधित्व गरेका छन् । चौधरी ग्रुपका प्रतिनिधि महेशराज पन्त नबिल बैंकको डारेक्टर भएर गएपछि रिक्त पदमा भट्टराई नियुक्त भएका हुन् । पछिल्लो समय यूनाईटेड इन्स्योरेन्सको सञ्चालक समितिमा व्यापक फेरबदल भएको छ । दुई साताअघि मात्र तत्कालिन अध्यक्ष भरत बहादुर कार्कीले पदबाट राजीनामा दिएका थिए । अध्यक्ष पद उद्योगी रविभक्त श्रेष्ठ समालेका छन् । त्यस्तै, सञ्चालक समिति सदस्य बुद्धकाजी श्रेष्ठले पनि पदबाट राजीनामा दिएका छन् । उनको स्थान अझै पूर्ति भएको छैन । हकप्रद सेयर निष्काशन गरी पुँजी १०० करोड रुपैयाँ बनाएपछि सञ्चालक समितिमा धेरै हेरफेर गरिएको छ । लगानी ठूलो भएको तर प्रतिस्पर्धामा कम्पनी पछाडि परेको भन्दै यस कम्पनीका प्रवद्र्धकहरुको चासो र सक्रियता बढेको कम्पनी स्रोतले बतायो ।

अजोड इन्स्योरेन्सको आधारभुत बीमा अभिकर्ताको तालिम पोखरामा

काठमाडौं । अजोड इन्स्योरेन्सको आधारभुत निर्जीवन बीमा अभिकर्ताको तालिम पाेखरामा सम्पत्र भएको छ । लेक साइड पोखरामा भएको उक्त तीन दिने कार्यक्रममा अजोड इन्स्योरेन्सका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतीदेखि यस क्षेत्रको विकास र विस्तारको साथै बिमाको विभिन्न पोर्टफोलियोको बारेमा प्रशिक्षण प्रदान गरेका थिए । केन्द्रिय कार्यालयका बजार विभागका नायब प्रबन्धक विष्णु आचार्यले अभिकर्ताले निर्वाह गर्नुपर्ने भूमिकाको वारेमा प्रकाश पारे भने अजोड इन्स्योरेन्सका पर्वत शाखाका शाखा अधिकृत हरी सुवेदीले कृषि (बाली तथा पशुपंक्षी) बीमाको वारेमा प्रष्ट्याएका थिए । यस इन्स्योरेन्सको आधाभुत निर्जीवन बीमा अभिकर्ताको तालिममा ३८ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्सका गण्डकी प्रदेशका प्रमुख गोपाल प्रसाद पौडेलले गरेका थिए । केन्द्रिय कार्यालय मानवसंसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले प्रशिक्षण सहित सहनकिरणको कार्य गरेकी थिइन् ।

प्रुडेन्सियल इन्स्योरेन्सको माघ २७ गते बुक क्लोज, यस्तो छ कारण

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको आगामी माघ २७ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो । कम्पनीले चुक्ता पुँजीको ६० प्रतिशत अर्थात १० बराबर ६ को अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । उक्त हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई गत असार १० गते सम्पन्न कम्पनीको विशेष साधारणसभाले पारित गरेको थियो । बुक क्लोजको मिति घोषणा गरेकै दिन कम्पनीको सेयर मूल्य ९ रुपैयाँले बढिसकेको छ । बजार खुल्दा प्रतिकित्ता ६७६ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य करिब दुई बज्दा १.३३ प्रतिशतले बढेर प्रतिकित्ता ६८५ रुपैयाँ पुगेको छ । हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड १५ लाख रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ ।