गुराँस लाइफ इन्स्योरेन्सलाई शतप्रतिशत हकप्रद जारी गर्न अनुमति
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले शतप्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डकोे अनुमति पाएको छ । बोर्डले माघ २१ गते कम्पनीलाई सो मात्राको हकप्रद जारी गर्न अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर जारी गर्ने छ । कम्पनीले बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्फत ९३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ९३ करोड ८५ लाख रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद पश्चात इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ८७ करोड ७० लाख रुपैयाँ नाघ्ने छ ।
झुक्किएर बीमा क्षेत्रमा पसेका महालक्ष्मी लाइफका डीसीओ श्रेष्ठ भन्छन्ः मलाई धकेल्नेलाई धन्यवाद
काठमाडौं । २०५८ साल जेठ १ गतेबाट रामेश्वर श्रेष्ठ बीमा क्षेत्रमा प्रवेश गरे । उनले सो अवधिदेखि २०७४ सालसम्म नेपाल लाईफ इन्स्योरेन्समा काम गरे । सुरुका २ वर्ष नेपाल लाइफको शाखामा काम गरेका उनले त्यसपश्चात सोही कम्पनीको फाइनास्स चिफ भएर काम गर्ने अवसर पाए । हाल महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको डेपुटी सिइओ पद सम्हालेका श्रेष्ठ मास्टर्स गरेपछि झुक्किएर बीमा क्षेत्रमा प्रवेश गरेको बताउछन् । हाल भने उनी सो पेशामा सन्तुष्ट रहेका छन् । र, युवा पुस्ताको लागि बीमा क्षेत्र असाध्यै सम्भावनाको क्षेत्र हो भन्ने उनको बुझाई छ । आफूले जानेर गरेको कुरा मात्र भन्दापनि कहिलेकाँही नबुझेको कामले समेत आफूलाई राम्रो गर्ने उनको अनुभव छ । विदेशमा गएर पसिना बगाएका दाजुभाइले नेपालमा राम्रोसँग काम गरे प्रसस्त सम्भावना र अवसर रहेको उनले देखेका छन् । बीमा क्षेत्रलाई दुःखको बेलामा अर्काको आखाँको आशु पुछ्ने व्यवसायको रुपमा उनले बुझेका छन् । र, सबैले बीमा गर्नै पर्ने उनको सुझाव पनि छ । ‘बीमा गर्दा आफ्नै जीवनकालमा पनि फाइदा हुन्छ, र अर्काे कुरा, कुनै न कुनै दिन त हामी सबैजना पर्छाैं नै, बीमा भनेको यस्तो क्षेत्र हो, जसले बाँच्दा पनि फाइदा दिन्छ र मर्दा पनि आश्रित परिवारलाई आर्थिक क्षतिपूर्ति दिन्छ,’ श्रेष्ठले भने । बीमा क्षेत्रमा काम गर्दा आम्दानी पनि धेरै हुने उनले बताए । ‘विगत २/४ वर्षयता बीमा क्षेत्रमा लागेका मान्छेहरुले नसोचेको सम्पत्ति कमाएका छन्, इमान्दारीपूर्वक काम गर्ने हो भने यो क्षेत्रबाट कमाई धेरै हुन्छ,’ श्रेष्ठ अनुभव सुनाउँछन् । बीमा क्षेत्रको बारेमा जानकारी लिन यही क्षेत्रमा पस्नुपर्ने उनको तर्क छ । बाहिरबाट हेर्दा देखिने सम्भावना र भित्र पसेर अनुभव र उपयोग गर्न सकिने अवसरमा फरक हुन सक्ने श्रेष्ठले बताए । उनको प्राथमिकतामा महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनीको बजार तथा व्यवसाय विस्तार छ । पछिल्लो चरणमा संचालनमा आएका १० वटा जीवन बीमा कम्पनीमध्ये पनि महालक्ष्मी सबैभन्दा कान्छो कम्पनी हो । तर, यो कम्पनीको व्यवसाय विस्तार अन्यको तुलनामा राम्रो रहेको श्रेष्ठको दाबी छ । गत वर्ष महालक्ष्मी लाइफले ४ महिनामा नै ११ करोड रुपैयाँ नाफा गर्यो । महालक्ष्मीलाई नयाँ १० वटा कम्पनीसँग प्रतिस्पर्धा मात्रै गर्ने छुट छैन । अहिले संचालनमा रहेका १९ वटा कम्पनीसँग नै प्रतिस्पर्धा गर्नुपर्नेछ । धेरै परिसूचक तुलना गर्दा पनि महालक्ष्मी इन्स्योरेन्स कम्पनी समग्रतामा १०औं स्थानमा रहेको श्रेष्ठले बताए । महालक्ष्मीको लक्ष्य नै बीमा बजारमा सबैभन्दा धेरै बोनस दिने कम्पनीको रुपमा पहिचान बनाउने । यसका लागि कम्पनीको सम्पूर्ण टीम दिनरात मेहेनत गरिरहेको उनले सुनाए । नियामक निकायले तोकेको मापदण्ड तथा बीमा बजारका मानकलाई आत्मसाथ गर्दै अगाडि बढेमा कम्पनीले राम्रो प्रगति गर्ने उनको बुझाइ छ । महालक्ष्मी लाइफका २ चुनौति महालक्ष्मी इन्स्योरेन्सको चुनौतिमा कान्छो कम्पनी भएकाले विश्वास दिलाउन गाह्रो एउटा चुनौति हो । आफूभन्दा अगाडि नै १८ वटा कम्पनीले बजारमा प्रतिस्पर्धा सुरु गरेकोले ढिलो आएको कम्पनीलाई स्थापित हुन संघर्ष गर्नुपर्ने देखिन्छ । कम्पनीको अर्को चुनौति भनेको प्रतिस्पर्धा हो । बीमा बजारमा केही हदसम्म अस्वस्थ्य प्रतिस्पर्धा पनि हुन थालेकोले त्यसको सामना गरेर अगाडि बढ्ने कम्पनी नै भविष्यमा अब्बल ठहरिन्छ । यसको लागि महालक्ष्मीले आफूलाई अब्बल स्थापित गर्नुपर्छ । अबको ५ वर्षभित्रमा सबैभन्दा राम्रो कम्पनी बनाउने अभियानमा महालक्ष्मी इन्स्यारेन्स छ । कम्पनीको व्यवसाय नयाँ बीमा कम्पनी आउँदा प्रतिस्पर्धा बढ्छ नै । भएको बजारलाई भागबण्डा गर्ने हो भने सबै कम्पनीको आम्दानी घट्छ भने बिमितले फाइदा पनि कम पाउँछन् । तर, बजार विस्तार गर्न सकेमा बीमा क्षेत्रलाई नै फाइदा हुन्छ । बिमितलाई पनि बढी लाभ प्राप्त हुन्छ । यसै कुरालाई केन्द्रमा राखेर महालक्ष्मीले बजारको दायरा नै बढाउने अभियान थालेको छ । अधिकांश परिसूचकको तुलना गर्दा महालक्ष्मी लाइफ इन्स्योरेन्स १०औं स्थानमा पर्नुले आफ्नो व्यवसाय बृद्धि राम्रो रहेको पुष्टी हुने श्रेष्ठ बताउँछन् । सोसल ड्रिङ्कर मदिराजन्य पदार्थको सेवनमा डेपुटी सीईओ श्रेष्ठको त्यति लगाव छैन । तर, साथीभाइ र अफिसकै केही जमघटमा भने कहिले काँही मदिराजन्य पदार्थको सेवन गर्नुपर्ने उनी बताउँछन् । ‘कहिले काँही पिउने गरेको छु, अफिसका सहकर्मी तथा साथीभाइहरुका बीचमा कहिले काँही पिउने भएकोले मलाई सोसल ड्रिङ्कर भन्दा उपयुक्त होला,’ उनले हास्दै भने । राम्रो बानी श्रेष्ठको स्वभाव सबैसँग मिल्नसक्ने खालको छ । नयाँ मान्छेहरुसँग पनि उनी सजिलै घुलमिल हुन्छन् । र, उनले काम गरेर छोडेका संस्थाका हाकिमदेखि तल्लो तहका कर्मचारी पनि उनलाई सम्झन्छन् । ‘प्रतिस्पर्धी कम्पनीका सीईओदेखि पियनसम्म केक बोकेर भेट्न आउँछन्, साथी सर्कल ठूलो छ, मेरो सबैभन्दा ठूलो सम्पत्ति नै यही हो,’ श्रेष्ठले भने । नराम्रो बानी उनी अलि हक्की स्वभावका छन् । त्यसैले कुनै बेला उनी अलि कडा रुपमा पनि प्रस्तुत हुने गर्छन् । यो बानी उनी आफैलाई पनि ठीक लाग्दैन । ‘कसैले नचाहिने काम गर्यो भने मलाई झनक्क रिस उठ्छ, रिस उठेको बेलामा त्यस्तै रुपमा प्रस्तुत हुन्छु, यो मेरो बानी ठीक होइन, त्यसरी रिसाएँ भने तत्काल पश्चाताप गर्ने गर्छु,’ श्रेष्ठले भने । बीमा व्यवसाय धर्म, बिमित भगवान बीमा प्रोफेसनलको रुपमा उनी बिमितलाई भगवान ठान्छन् । बिमितको कारणले नै बीमा कम्पनीको व्यवसाय बढेको, राज्यलाई ठूला परियोजना संचालन गर्ने स्रोत उपलब्ध भएको, सरकारले कर प्राप्त गरेको, सर्वसाधारणले रोजगारी पाएको जस्ता व्याख्या उनी सुनाउँछन् । र, बीमाकर्म उनको धर्म बनेको छ । बीमा धर्मबाट आफू कहिल्यै बिचलित नहुने उनले सुनाए । कुराकानीको बिट मार्ने बेलातिर उनले एउटा कथा सुनाए । त्यो कथाको सार यस्तो थियो– कुनै ठाउँमा स्वीमिङ प्रतिस्पर्धा चलिरहेको रहेछ । त्यहाँ एक जना स्वीमिङ गर्न जान्ने व्यक्ति पनि रहेछ । तर, उसलाई पोखरीमा हामफाल्ने आँट आइरहेको रहेनछ । यस्तैमा कसैले सो व्यक्तिलाई पोखरीमा धकेलिदिएछ । पोखरीमा परेपछि ऊ मज्जाले पौडन थालेछ र प्रतिस्पर्धामा सबैलाई जितेर प्रथम भएछ । र भनेछ– मलाई धकेलेर जसले पोखरीमा हालिदिनुभयो, उहाँलाई धेरै धेरै धन्यवाद छ । यो कथाको प्रसंग उनले आफूलाई बीमा क्षेत्रमा धकेल्ने व्यक्तिका लागि सुनाएका थिए । बीमा क्षेत्रमा आउने उनको तीब्र इच्छा नभए पनि जागिरको खोजीकै क्रममा यो क्षेत्रमा आएका थिए ।
बीमा क्षेत्रमा अर्काे तरंग ल्याउँदै नियामक, जोखिममा आधारित पुँजी लागू गरिँदै
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले बजारमा ठूलो तरंग ल्याउन लागेको छ । अहिलेसम्म बीमा कम्पनीहरुको लागि गरिएको पुँजीको व्यवस्थामा व्यापक परिवर्तन हुन लागेको छ । समितिले तोकेअनुसारको पुँजी पुर्याए हुने अहिलेको व्यवस्था परिवर्तन गर्दै जोखिममा आधारित पुँजीको अवधारणा ल्याउन लागिएको हो । यसका लागि आवश्यक गृहकार्य भइरहेको समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले जानकारी दिए । ‘अहिलेसम्म नियामकीय प्रावधान अनुसारको पुँजी तोक्ने गरिएको थियो, अहिले संसारभर जोखिममा आधारित पुँजीको अवधारणा कार्यान्वयनमा छ, त्यसैले अब हामी पनि जोखिममा आधारित पुँजीको व्यवस्था गर्न लागेका हौं,’ अध्यक्ष चापागाईंले भने । के हो जोखिममा आधारित पुँजी ? अहिलेसम्म जीवन बीमा कम्पनीको लागि २ अर्ब र निर्जीवन बीमा कम्पनीको लागि १ अर्ब रुपैयाँ पुँजी भए हुन्थ्यो । यति पुँजीको आधारमा बीमा कम्पनीहरुले भेटेजति बीमा गर्थे । यस्तो व्यवस्था परिवर्तन गर्न लागिएको छ । बीमा समितिले कार्यान्वयन गर्न लागेको जोखिममा आधारित पुँजी व्यवस्थामा विशेष गरेर ५ प्रकारका जोखिम पहिचान गरिएको छ । यस्तो जाेखिममा बीमा जोखिम, कर्जा जोखिम, तरलता जोखिम, संचालन जोखिम र बजार जोखिम छन् । यस्ता जोखिमको लागि पुँजीको मात्रा तोकिने छ । यसमध्ये बीमा जोखिमलाई सल्भेन्सी मार्जिन अनुसार १ः१.५ तय भइसकेको छ । यो व्यवस्था अनुसार कुनै बीमा कम्पनीले १ अर्ब रुपैयाँको बीमा जोखिम लिने हो भने सो कम्पनीसँग १ अर्ब ५० करोड रुपैयाँ सम्पत्ति हुनुपर्नेछ । अन्य ४ प्रकारका जोखिममा पुँजीको आधार बीमा समितिले तोक्नेछ । कम्पनीले आफ्ना कर्मचारी वा अभिकर्तालाई दिएको ऋणको कारण उत्पन्न हुन सक्ने जोखिमलाई कर्जा जोखिम अन्तरगत राखिएको छ । यस्तै, तरलता अभावको कारण उत्पन्न हुन सक्ने जोखिमलाई तरलता जोखिम अन्तरगत राखिएको छ । कम्पनीको सुशासनको अवस्था कस्तो छ, व्यवस्थापन चुस्त ढंगले चलेको छ वा छैन भन्ने जस्ता विषयको अध्ययन गरेर समितिले संचालन जोखिम तय गर्नेछ । समितिले पहिचान गरेको अर्काे जोखिम बजार जोखिम हो । बजारमा उत्पन्न हुन सक्ने जोखिमको लागि थप पुँजीको व्यवस्था गर्न लागिएको छ । जोखिममा आधारित पुँजीको व्यवस्थापछि कम्पनीहरु थप बलियो हुने र बीमा क्षेत्रप्रति सर्वसाधारणको विश्वास बढेर बीमाको दायरा बृद्धि हुने समितिको भनाइ छ । याे व्यवस्था जीवन र निर्जीवन दुबै प्रकारकाे व्यवसाय गर्ने कम्पनीमा लागू हुनेछ ।