प्राइम लाइफलाई बोनस सेयर वितरण गर्न बीमा समितिको स्वीकृति, तत्काल विशेष साधारणसभा बोलाइने

काठमाडौं । बीमा समितिले प्राइमलाइफ इन्स्योरेन्स कम्पनीलाई बोनस सेयर वितरण गरी चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउन सहमति दिएको छ । साथै, समितिले कम्पनीलाई तत्काल विशेष साधारणसभा गरी बोनस सेयर वितरण गर्न बाटो पनि खुला गरिदिएको छ । कम्पनीले फ्रि रिजर्भमा रहेको करिव २३ करोड रुपैयाँ सेयरधनीलाइ वितरण गर्न लागेकाे हाे ।  उक्त रकम सेयरधनीलाई बोनस सेयरको रुपमा वितरण गरी पुँजी २ अर्ब पुर्याउने प्रक्रिया खुला गरिएको स्रोतले बतायो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७८ करोड रुपैयाँ छ । एनएफआरएस अनुसार आर्थिक वर्ष २०७४/७५ को बार्षिक प्रतिबेदन बीमा समितिबाट स्वीकृत हुन बाँकी नै भएकोले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले अब विशेष साधारणसभा गरेर बोनस सेयर वितरण गर्नेछ । पुँजीवृद्धिका लागि बीमा समितिले दवाव दिएपछि प्राइमले फ्रि रिर्जभबाट बोनस सेयर वितरण गरी चुक्ता पुँजी २ अर्ब रुपैयाँ बनाउने बाटो रोजेको हो । बीमा समितिको सहमति सँगै सञ्चालक समितिको बैठकले विशेष साधारणसभा बोलाउने र बोनस सेयर वितरण गर्ने प्रस्ताव विशेष साधारणसभा लैजाने निर्णय गर्ने तयारी गरेको छ । कम्पनीले गत दुइ वर्षकाे वार्षिक प्रतिवेदन बीमा समितिबाट स्वीकृत गराएर नियमित साधारणसभा गर्न भने बाँकी नै छ ।

नक्कली बीमा लेख जारी गरेर ६ लाख गोजीमा, दोषीलाई उन्मुक्ति दिन चोरी काम गुपचुप

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीका कर्मचारीले नक्कली बीमा लेख जारी गरेर बीमा शुल्क गोजीमा हाल्ने गरेको भेटिएको छ । कम्पनीमा जागिर खाने, तलव खाने र नक्कली बीमा लेख जारी गरेर बीमा शुल्क खल्तीमा राख्ने आपराधिक कार्यमा दोषी कर्मचारीलाई कम्पनीले संरक्षण दिएको पाइएको छ । कमला नदी नियन्त्रण आयोजनाको बीमा गर्दा सो कम्पनीमा कार्यरत कर्मचारीहरुले नक्कली बीमा लेख जारी गरी बीमा शुल्क कम्पनीमा नबुझाई आफै लिएको पाइएको हाे । तीन वटा नक्कली बीमा पोलिसी जारी गरी ६ लाख १९ हजार ५९५ रुपैयाँ १५ पैसा आफ्नै गोजीमा हालेको देखिएको छ । यूनाईटेड इन्स्योरेन्स कम्पनीका सञ्चालक रविन्द्र राज पन्त र कामु प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले खटाएकाे अनुसन्धान टाेलीका अनुसार कम्पनीका  कर्मचारीहरुले २ लाख ३३ हजार ३५० रुपैयाँ ६५ पैसा बीमा शुल्क लिएर पहिलो नक्कली बीमा लेख जारी गरेका छन् भने दोस्रो नक्कली बीमा लेख जारी गर्दा २ लाख ४६ हजार ४०२ रुपैयाँ १५ पैसा बीमा शुल्क लिएका छन् । त्यस्तै, तेस्रो नक्कली बीमा लेख जारी गर्दा १ लाख ३९ हजार ८४३ रुपैयाँ १५ पैसा बीमा शुल्क लिएका छन् । उनीहरुले ०१/०५/११/१०/११/१००४७ नम्बरको ‘कन्ट्याक्टर अल रिस्क’ बीमा लेख तीन पटकसम्म जारी गरेको पाइएको छ । यसरी नक्कली बीमा लेख जारी गर्नेमा तत्कालीन अण्डरराईटिङ शाखामा काम गर्ने शिबशंकर शाह, बरिष्ठ प्रबन्धक विवेक पाठक र एजेन्ट गौरी पाठक दोषी देखिएका छन् । त्यस्तै, शाखा प्रमुख मुकेश कुमार र अण्डरराईटिङका दिपा हलवाईको भूमिका पनि शंकास्पद देखिएको अनुसन्धानमा खटिएका अन्डरराइटिङ विभाग प्रमुख दिवस तिमल्सेना र दावी विभाग प्रमुख प्रशान्तराज न्याैपानेले तयार गरेकाे अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएकाे छ । जलस्रोत तथा सिंचाई विभागले ‘बीमाको म्याद थप गरी पेश गर्न’ गत मंसिर १६ गते कमलानदी नियन्त्रण आयोजनालाई पत्र लेखेको र बीमा लेख धारकको तर्फबाट लट्टु यादवले २०७५ साल मंसिरमा बीमा लेख नवीकरण गर्न युनाईटेड इन्स्योरेन्सले अनुरोध गरेपछि मात्र विगतमा गरिएको बीमा लेख नक्कली भएको कम्पनीले जानकारी पाएको स्रोतले बतायो । ‘परियोजनामा क्षति भई बीमा दाबी परेको भए कम्पनी डुब्ने रहेछ तर दाबी नपरेकोले सबै जोगिए’ स्रोतले भन्यो । कोही जेलमा, कोही कार्यालयमा यसअघि प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नाममा नक्कली बीमा लेख जारी गर्ने प्रकाश रेग्मीसहित केही व्यक्ति अहिले जेलमा छन् । तर युनाईटेड इन्स्योरेन्समा यसरी नक्कली बीमा लेख जारी गरेर बदमासी गर्नेलाई कम्पनीले जोगाई राखेको भेटिएको छ । यस विषयमा युनाइटेड इन्स्याेरेन्सका कामु प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराइसँग सम्पर्क गर्न प्रयास गर्दा सफल भएन । युनाइटेडमा दोषी देखिएको विवेक पाठक युनाईटेड इन्स्योरेन्स कम्पनीको बजार प्रमुखमा कार्यरत छन् । शिवशंकर शाह हाल जनरल इन्स्योरेन्स कम्पनीमा मुख्य प्रबन्धकको रुपमा कार्यरत छन् । त्यस्तै, एजेन्ट गौरी पाठक विवेक पाठकको आफन्त भएको स्रोतले जनायो । कमला नदी परियोजनाको बीमा गर्दा नक्कली पोलिसी जारी भएको विषय बीमा समितिको जानकारीमा नभएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘बदमासी भएको छ भने दोषीलाई कारवाही हुन्छ’ उनले भने । यस्तो किसिमको कार्यलाई बीमा क्षेत्रमा आपराधिक कार्य मानिने र यसको अनुसन्धान नेपाल प्रहरीले गर्ने उनले बताए ।  

नबिल बैंकले ल्यायो दश लाखको सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना

काठमाडौं । नबिल बैंकले आफ्ना व्यक्तिगत बचत खाता ग्राहक वर्गलाई रु १०,००,०००(दश लाख) को सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना ल्याएको छ । यो योजना भाद १५ गते देखि लागू हुने गरी नबिल बैंकको तर्फबाट बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत अनिल खनाल र एन.एल.जी. बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त बीच सम्झौता भएको छ । यस योजना अन्तर्गत, दैनिक मौज्दात रु. ५,००० वा सो भन्दा बढी राख्ने जुनसुकै प्रकारका नेपाली मुदाका व्यक्तिगत बचत खातावालाहरुलाई रु. १०,००,००० को सामुहिक व्यक्तिगत दुर्घटना बीमा गरिएको छ । यस योजना अन्तर्गत बचतकर्ताको दुर्घटनाद्वारा मृत्यु भएमा अथवा स्थायी पूर्ण असक्तता भएमा एकमुस्ठ रु. १०,००,००० बीमा रकम प्रदान गरिनेछ । यस योजना अन्तर्गत आफ्नो नेपाली मुदाका खातामा न्यूनतम रु. ५,००० मौजदात राख्ने सम्पूर्ण बचत खाता वालाहरुको बीमा स्वत रुपमा १५ भदाैमा भैसकेको छ । साथै, यो योजनामा सामिल भैरहन बचतकर्ताले सधैं रु. ५,००० वा बढी मौज्दात कायम राख्नुपर्नेछ । त्यसैगरी रु. ५,००० वा बढी मौज्दात कायम नभएका व्यक्तिगत बचत खातावालाहरुले आफ्नो खातामा नेपाली क्यालेन्डर बमोजिम कुनैपनि महिनाको पहिलो कार्य दिनबाट सधैं उक्त मौजदात कायम राखी यस योजनामा सामिल हुन सक्नेछन् । नयाँ व्यक्तिगत बचत खाता खोल्ने ग्राहकहरुको हकमा, बैंकको कुनै पनि व्यक्तिगत बचत खाता खोली रु ५,००० वा बढीको मौज्दात खाता खोलेको महिनाको अन्त्यमा मात्र पनि कायम राखी खाता खोलेकै दिनबाट यो योजनामा सामिल हुन सकिनेछ । यस योजनामा सामिल हुन कुनै उमेरहद नभएता पनि नावालकको हकमा खाता संरक्षक यस योजनामा विमित हुन सक्नेछन् । बैंकले प्रदान गरिरहेको समान बीमा योजना ग्राहक स्वयंले खरिद गर्दा शुल्क व्यहोर्नुपर्ने हुन्छ तर आफ्ना व्यक्तिगत बचतकर्ताहरुको हितलाई मध्यनजर गरी यस योजनामा सामिल हु“दा लाग्ने बीमा प्रिमियमको खर्च बैंक स्वयंले व्यहोर्ने छ । यस योजना सम्बन्धि सम्पूर्ण जानकारी बैंकको वेभसाइट (डब्लुडब्लुडब्लु नबिल बैंक डट कम) वा नजिकैको नबिल बैंकको कुनैपनि शाखा कार्यालय वा फोन न. १६६००१६२२४५ बाट प्राप्त गर्न सकिनेछ । यस नबिल बैंकको ७९ शाखा, १४० एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु छन्। साथसाथै बैंकले देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास लिएको प्रमुख वजार व्यवस्थापन अधिकृत विनय कुमार रेग्मीले जानकारी दिएका छन् ।