नेपाल लाइफको ४८ प्रतिशत लाभांश पास, जीवन बीमा बजारको ३२ प्रतिशत हिस्सा लिन सफल

विरगञ्ज /नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको उन्नाइसौं बार्षिक साधारण सभा शनिवार विरगञ्जमा सम्पन्न भएको छ । साधारणसभाले चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर तथा प्रति शेयर २३ रुपैयाँ ५० पैसा (कर सहित) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बोनश शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४९ करोड ९६ लाख रुपैयाँ हुनेछ । उक्त पुँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रकम हो । उक्त साधारण सभामा स्वागत मन्तव्य एवं बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीको अध्यक्ष गोविन्द लाल संघईले समिक्षा बर्षमा कम्पनीले कुल बीमा शुल्क आम्दानीमा सर्वाधिक करिब ३२ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएको जानकारी दिए । हाल १८ वटा जीवन बीमा कम्पनीबीच बजारमा प्रतिस्पर्धा चलिरहेको छ । सभाबाट आ.व.२०७४÷०७५ को संचालक समितिको बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु सभाद्वारा स्वीकृत भएको छ । हाल यस कम्पनीको लगानी ६७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष ५९ अर्ब रुपैयाँ र शेयरधनी कोष १० अर्ब ४० करोडभन्दा बढी रहेको छ । कम्पनीमा १,२२,००० भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ७७ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । हालसम्म स्वदेश र विदेश गरी झण्डै २५ लाख व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेकोछ ।

ज्योति लाईफले बढायाे घातक रोगकाे बीमा, अब ५० लाखसम्म

काठमाडौ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले ३५ वटा प्राण घातक रोग विरुद्ध ५० लाख रुपैयाँसम्मको आर्थिक सुरक्षासहितकाे नयाँ बीमा पाेलिसी जारी गरेकाे छ । ११ वटा घातक रोग विरुद्ध उपचारको लागि १० लाख रुपैयाँसम्मको आर्थिक सुरक्षा सहित जीवन बीमा हुने पाेलिसी कम्पनीले यसअघि पनि ल्याएको थियो । हाल भने ३५ वटा रोग विरुद्ध ५० लाख रुपैयाँसम्मकै सुरक्षा दिने नयाँ बीमा पाेलिसी कम्पनीले बजारमा ल्याएको हो । ज्योतिलाईफ ईन्स्योरेन्स कम्पनीका सञ्चालक समिति अध्यक्ष नन्द किशोर शर्माले भने– ‘हामीले बजारमा भएको भन्दा छुट्टै खालका प्रडक्ट ल्याउने प्रयास गरेका छौ, जसले गर्दा बीमितको आर्थिक जोखीममा सहयोग गर्ने अवस्था रहन्छ ।’ कार्यक्रममा कम्पनीका तर्फबाट बोल्दै कार्यकारी उप–प्रमुख प्रकाश बिक्रम खत्रीले भने–‘आफ्ना नयाँ पोलिसीको बारेमा छलफल गर्दै प्राण घातक रोगको असर बाट बच्न सजगता अपनाउनु पर्नेमा जोड दिए ।’ शुक्रबार राजधानीको होटल अन्नपूर्णमा आयोजित पत्रकार सम्मेलनमा पर्यटन व्यवसायी तथा  समाजसेवी कर्ण शाक्य, क्यान्सर रोग विशेषज्ञ तथा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठ तथा कम्पनीका ब्राण्ड एम्बेस्टर महानायक राजेश हमाल लगायतकाे उपस्थिती रहेको थियो । कार्यक्रममा विषेश अतिथि कर्ण शाक्य र डा. सुदिप श्रेष्ठले क्यान्सर रोग र यसबाट पर्न सक्ने असरको बारेमा भनाईहरु राखेका थिए । यस्तै, कम्पनीका सदभावना दूत महानायक राजेश हमाललेपनि रोग लाग्नु अगावै सचेत रहन तथा बीमा गराउन आवश्यक रहेकोमा प्रकाश पारे । कम्पनीको ३५ घातक रोगमध्येमा ५० लाखसम्मको बीमा पाइने उमेर हद १८ देखी ५५ बर्षसम्मका बीमितले यो योजनामा प्रवेश गर्न सक्ने छन् । सो योजना अन्र्तगत अधिकतम अवधि भनेर २० वर्षलाई तोकिएको छ । साथै, अधिकतम बीमा समाप्ती उमेर ६० वर्ष रहेको कम्पनीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

नेपाल बङ्गलादेश बैंकले मृतकको परिवारलाई दियो एक लाख ३० हजार रुपैयाँ

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले न्यूरोड शाखाका ग्राहक स्वर्गीय विदुर देउलाको परिवारलाई एक लाख ३० हजार २४८ रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले बिहीबार एक कार्यक्रमबीच बीमा दावी बराबरको सो रकम दुर्घटनामा परी निधन भएका देउला मृतक निजको हकवाला श्रीमती हरीशोभा मर्हजनलाई दिएको हो । साथै, यस बैंकमा खाता खोल्दा खातावालाको दुर्घटनामा परी मृत्यु भएमा खातामा रहेको रकमको दोब्बर, बढीमा पाँच लाख रुपैयाँसम्मको बीमा हुने व्यवस्था रहेको कम्पनीले जनाएको छ । हाल बैंकले आफ्नो ९० शाखा, ७ एक्सटेन्सन काउन्टर, २ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ७२ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।