सानिमा रिलायन्सको ‘सीमित भुक्तानी सावधिक जीवन बीमा’ योजना : सीमित अवधिमा असीमित लाभ
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले विभिन्न खाले बीमा योजना सञ्चालनमा ल्याएको छ । कम्पनीले विभिन्न आकर्षक योजनाहरू ग्राहकमाझ बिक्री गरिरहेको छ । त्यसमध्येको एक हो ‘सीमित भुक्तानी सावधिक जीवन बीमा’ योजना । यस योजनाले बचत गर्न चाहने र भविष्यका आपतकालीन अवस्थाका लागि तयारी गर्न चाहने व्यक्तिहरूका लागि उपयुक्त देखिन्छ । लचिलो प्रिमियम भुक्तानी र प्रत्येक ५ वर्षमा जोखिम कभरमा वृद्धि प्राप्त गर्न सक्नेछन् । साथै राइडरहरूले थप सुरक्षा प्रदान गर्छ । जसले दुर्घटना मृत्यु सुविधा, पूर्ण स्थायी अशक्तता, बीमाशुल्क छुट सुविधा र घातक रोक रक्षावरणमा बीमितलाई सुरक्षा प्रदान गर्दछ । बीमितले १०, १५, २० र २५ वर्ष अवधिको बीमा गर्न सक्नेछन् । भुक्तानी अवधि भने क्रमशः ८, १२, १६ र २० वर्षको रोज्न सक्नेछन् । यस योजनामा सहभागी हुनको लागि बीमितको उमेर कम्तिमा १८ वर्ष र बढीमा ६५ वर्षको हुनुपर्नेछ । बीमितहरुले न्युनतम २५ हजार बीमांक बराबरको बीमालेख खरिद गर्न सकिने यो योजनामा आधिक्तममा भने बीमितको आयस्रोतको आधारमा बीमांक रकम निर्धारण गरिनेछ। यस्ता छन् सुविधा भविष्यका लागि बचत बीमितले बीमा अवधि पुरा भएपछि बिमांकका साथै बोनस प्राप्त गर्नेछन । यसले भविष्यमा आइपर्ने आर्थिक संकटलाई सहज बनाउँछ । त्यस्तै, यदि बीमककोे मृत्यु बीमा अवधि नसकिँदै भएको खण्डमा परिवारले बीमांकको पूरै अर्थात् बीमा गरिए बराबरको रकम र बोनस प्राप्त गर्नेछन् यो योजनामा बीमा अवधि व्यतीत हुँदै जाँदा, जोखिम बहन पनि बढ्दै जान्छ। वैकल्पिक राइडर लाभ बीमितहरुले यस योजनाअन्तर्गत दुर्घटना मृत्यु सुविधाबापतको थप बीमाशुल्क तिरेमा बीमितको दुर्घटनाबाट मृत्यु भएको खण्डमा बीमांक रकमको दोब्बर रकम सम्म प्राप्त गर्नेछन् । पूर्ण स्थायी अशक्तता सुविधाअन्तर्गत बीमितलाई बीमांक सम्मको रकम १२० मासिक किस्तामा भुक्तानी पाउनेछन् । यो योजनाले असहज अवस्थामा समेत बीमितलाई सहजता प्रदान गर्नेछ । यसका साथै बीमाशुल्क छुट सुविधासमेत पाइने छ । यदि बीमित कुनै दुर्घटनापश्चात पूर्ण स्थायी असक्तता भएमा उसको बीमाशुल्क मिनाहा हुनेछ । यो योजनामा घातक रोग रक्षावरण सुविधा पनि उपलब्ध छ । बीमित १८ मध्ये कुनै एक घातक रोगको शिकार बनेको अवस्थामा ५० लाख रुपैयाँसम्मको एकमुष्ट भुक्तानी पाउनेछन् । यसले स्वास्थ्य समस्यामा आर्थिक समर्थन प्रदान गर्दछ। लचिलो भुक्तानी यस योजनामा प्रिमियम भुक्तानीमा लचिलो व्यवस्था गरिएको छ । बीमितले वार्षिक, अर्ध–वार्षिक र त्रैमासिक रूपमा प्रिमियम भुक्तानी गर्न सक्नेछन् । प्रत्येक अवधिको लागि प्रिमियम भुक्तानी अवधि पनि भिन्न रहेको छ । १० वर्ष अवधिको बीमा गर्न चाहने बीमितले ८ वर्षको भुक्तानी अवधि रोज्न सक्नेछन् । १५ वर्षको अवधिको बीमा गराउँदा ८ वर्ष र १२ वर्षको प्रिमियम भुक्तानी अप्सन छनोट गर्न सक्नेछन् । २० वर्ष अवधिको हकमा ८, १२ र १६ वर्षको भुक्तानी अवधि रोज्न सक्नेछन् । त्यसैगरी, २५ वर्षको बीमा अवधि रोज्ने बीमितले ८, १२, १६ र २० वर्ष वर्षको भुक्तानी रोज्न सक्नेछ । लचिलो भुक्तानीले आफ्नो बजेट र आवश्यकता अनुसार उपयुक्त भुक्तानी सुविधा दिन्छ । किन रोज्ने ? यो योजना केवल जीवन बीमा मात्रै नभई भविष्यका आपतकालीन अवस्थाहरू र महत्त्वपूर्ण खर्चहरूको लागि बचत गर्ने एक उपाय हो । बीमा अवधि सकिएपश्चात बोनससहित आउने एकमुष्ठ भुक्तानी भविष्यमा ठूलो वित्तीय सुरक्षा प्रदान गर्छ। छोटो अवधिको बीमाशुल्क भुक्तानी गरि पुरा बीमा अबधिको बीमांकको ३२५ प्रतिशतसम्मको जोखिम बहन र जीवन बीमा अवधि समाप्तिमा समेत आकर्षक बोनस भुक्तानी हुने भएकोले यो सबैखाले व्यक्तिका लागि फाइदाजनक छ ।
बीमा कम्पनीहरूले ३५ अर्ब ३६ करोड दाबी भुक्तानी गर्न बाँकी
काठमाडौं । बीमा कम्पनीहरूबाट अझै ३५ अर्बभन्दा बढी दाबी भुक्तानी गर्न बाँकी रहेको पाइएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्तसम्ममा जीवन र निर्जीवन बीमा कम्पनीहरूबाट १ लाख ५७ हजार ५५९ वटा बीमाको ३५ अर्ब ३६ करोड रुपैयाँ दाबी भुक्तानी बाँकी रहेको हो । चालु आवको चैत्र मसान्तसम्ममा भुक्तानी हुन बाँकी दाबी संख्या जीवन बीमातर्फ ५२ हजार ६८७ रहेको छ भने निर्जीवनतर्फ १ लाख ४ हजार ८७२ रहेको छ । तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरूले ४ अर्ब ४३ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूले ३० अर्ब ९४ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । चैत्र मसान्तसम्ममा ३ लाख २ हजार ५२३ दाबीको ६२ अर्ब रुपैयाँ भुक्तानी भएको छ । जुन गत आवको चैत्रसम्मको तुलनामा दाबी संख्या १०.४७ प्रतिशत र दाबी रकम ३.४६ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो पाँच आवको बीमा दाबी भुक्तानीको विवरण (रु.करोड) तथ्यांकअनुसार दाबी भुक्तानीको संख्या र रकम क्रमश वृद्धि हुँदै गइरहेको छ । तथ्यांकअनुसार आव २०७७/७८ मा बीमा कम्पनीहरुले ५० अर्ब ७० करोड रुपैयाँ दाबीबापत्को रकम बीमितलाई भुक्तानी गरेका छन् । जसमा जीवन बीमा कम्पनीले ३३ अर्ब १६ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीले १७ अर्ब ५४ करोड रुपैयाँ भुक्तानी गरेका छन् । त्यस्तै, आव २०७८/७९ मा कम्पनीहरूले ६८ अर्ब ६२ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन् । जुन आव २०७७/७८ को तुलनामा ३४.८५ प्रतिशतले वृद्धि हो । जसमा जीवन बीमा कम्पनीहरूले ४९ अर्ब १९ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीले १९ अर्ब ४३ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन् । आव २०७९/८० मा दाबी भुक्तानी ४.७२ प्रतिशतले वृद्धि देखिएको छ । उक्त आवमा जीवन बीमा कम्पनीहरूले ६० अर्ब २४ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीले २४ अर्ब १७ करोड रुपैयाँ गरी कुल ८४ अर्ब ४२ करोड रुपैयाँ दाबी बापतको रकम भुक्तानी गरेका छन् । आव २०८०/८१ मा दाबी भुक्तानी संख्या ७.९६ प्रतिशतले बढेको छ । उक्त आवमा बीमा कम्पनीहरूले ८४ अर्ब ४९ करोड रुपैयाँ दाबी बापतको रकम भुक्तानी गरेका छन्।
कनेक्ट आइपीएसको नयाँ अफर : लाइफ इन्स्युरेन्स प्रिमियम तिर्दा क्यासब्याक जित्ने मौका
काठमाडौं । कनेक्ट आइपीएसले ‘सुरक्षा सँगै क्यासब्याक, कनेक्ट आइपीएसको साथ’ भन्ने नारासहित लाइफ इन्स्युरेन्स प्रिमियम भुक्तानीमा आकर्षक क्यासब्याक अफर सार्वजनिक गरेको छ । यो अफर जेठ ४ गतेदेखि साउन ३१ गतेसम्म लागू हुनेछ । अफर अनुसार कनेक्ट आइपीएसमार्फत लाइफ इन्स्युरेन्स कम्पनीको प्रिमियम तिर्ने ग्राहकहरूमध्ये प्रत्येक हप्ता लक्की ड्रमार्फत छानिने १० जना भाग्यशाली विजेताले एक–एक हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् । यस्तै, हरेक महिनाको अन्त्यमा एकजना भाग्यशाली विजेताले प्रिमियम बराबरको रकम वा अधिकतम २० हजार रुपैयाँसम्मको क्यासब्याक जित्न सक्नेछन् । कम्पनीका अनुसार साप्ताहिक तथा मासिक विजेताको नाम कनेक्ट आइपीएसको वेबसाइट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ । उक्त अफर कनेक्ट आइपीएसको वेब, मोबाइल एप तथा इन्स्युरेन्स कम्पनीको वेबसाइटमा जोडिएको गेटवे मार्फत भुक्तानी गर्दा मात्र लागू हुनेछ । हाल यस प्रणालीबाट १७ वटा (लाइफ र केही माइक्रो लाइफ) बीमा कम्पनीहरूको प्रिमियम सजिलै भुक्तानी गर्न सकिन्छ । बैंकका ग्राहकहरूले एकै प्लेटफर्ममार्फत धेरै बैंक खाताहरू लिंक गरी सजिलै फन्ड ट्रान्सफर र विविध प्रकारका भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध गराउने कनेक्ट आइपीएस अत्याधिक प्रयोगमा आउन थालेको छ । कनेक्ट आइपीएसको वेबसाइटमार्फत प्रति कारोबार २० लाख रुपैयाँ र मोबाइल एपमार्फत २ लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिन्छ । यस सेवामार्फत मोबाइल रिचार्ज, बिजुली तथा इन्टरनेटको बिल, टेलिफोन, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, सेयर कारोबार, नेपालपे क्युआर लगायतका भुक्तानी सेवा उपलब्ध छन् ।