ट्रस्ट माइक्रो इन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा सम्पन्न, आईपीओ प्रस्ताव पारित
काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्सको आईपीओ निष्काशन प्रस्ताव पारित भएको छ । कम्पनीको रुपन्देहीको बुटवल-११ स्थित महाराजा रिसोर्टमा आज सम्पन्न दोस्रो वार्षिक साधारणसभाले सर्वसाधारणलाई सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । आईपीओ जारी गर्नका लागि नियमनकारी निकायबाट कुनै संशोधन, फेरबदल एवं थपघट गर्न निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई सभाले अख्तियारी प्रदान गरेको छ । यस्तै, कम्पनीको सभाले सामाजिक उत्तरदायित्त्वअन्तर्गत भएको खर्च र सञ्चालकहरूको सेवा-सुविधासम्बन्धी प्रस्ताव पारित गरेको छ । सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ भने चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ ।
मधेस प्रदेशमा जीवनबीमाबाट ११ अर्ब १६ करोड रुपैयाँ सङ्कलन
वीरगञ्ज । बिमा कम्पनीहरूले चालु आर्थिक वर्षको नौ महिनामा जीवनबीमा शुल्कबापत ११ अर्ब १६ करोड ७९ लाख रुपैयाँ सङ्कलन गरेको छ । उक्त कार्यालयले गत वर्ष जीवनबीमा शुल्कतर्फ भने १४ अर्ब एक करोड २८ लाख सङ्कलन गरेको थियो । उक्त कार्यालयकी प्रमुख प्रीति देवले चालु आवको नौ महिनामा ८६ हजार ६७० ले जीवनबीमा गरेका बताइन् । कार्यालयले सोही अवधिमा दुई अर्ब ५४ करोड ६० लाख दाबी भुक्तानी गरेको छ । अझै ३९ करोड ६४ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको उनले जानकारी दिइन् । जीवनबीमातर्फ सातवटै प्रदेशबाट चैत मसान्तसम्म एक खर्ब २७ अर्ब तीन करोड शुल्क सङ्कलन भएको छ ।
४.७४ प्रतिशत लाभांश पारित गर्न हिमालयन रिइन्स्योरेन्सले डाक्यो साधारण सभा
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न हिमालयन रिइन्स्योरेन्सले चौथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको जेठ १ गते बसेको बैठकले जेठ २५ गते काठमाडौंमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको हो । सभाले कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँको ४.५० प्रतिशतका दरले ४६ करोड ८० लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशतका दरले २ करोड ४६ लाख ३१ हजार रुपैयाँ नगद गरी कुल ४.७४ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । सभाले गत वर्ष सामाजिक उत्तरदायित्त्व अन्तर्गत प्रदान गरिएको खर्च तथा अन्य खर्च रकमको अनुमोदन गर्ने, प्रबन्ध पत्र तथा नियमावलीमा गरिएको थप तथा संशोधन र सो को अभिलेख गराउने सम्बन्धमा नियामकबाट कुनै फेरबदलको लागि निर्देशन प्राप्त भए सोही बमोजिम गर्न सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्नेछ । साथै, सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।