साउन १ देखि स्वास्थ्य बीमाबाट उपचार गर्दा रिफर लिन नपर्ने, नागरिकले सहजै सुविधा लिनसक्ने
काठमाडौं । साउन १ देखि स्वास्थ्य बीमाबाट उपचार गर्दा रिफर लिन नपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले सामुदायिक तथा निजी सबै स्वास्थ्य संस्थाहरुलाई परिपत्र गर्दै रिफरको व्यवस्था हटाइएको जानकारी दिएको हो । स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (६) तथा नियमावली, २०७५ को (प्रथम संशोधन) को नियम २ को खण्ड (५) ले प्रथम सेवा बिन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था गरेको थियो । बोर्डकाअनुसार प्रथम सेवा विन्दुको रुपमा नराख्ने निर्णय भएकाले २०८२ श्रावण १ गतेबाट रिफरको सिस्टम हटाइएको छ । बोर्डले सबै स्वास्थ्य संस्थालाई गरेको परिपत्रमा भनिएको छ– 'उपरोक्त सम्बन्धमा स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (५) तथा नियमावली, २०७५ को (प्रथम संशोधन) को नियम २ को खण्ड (५) ले प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था गरेकाले मिति २०८२ श्रावन १ गतेबाट उक्त संस्था प्रथम सेवा विन्दुको रुपमा नरहने व्यहोरा निर्णयानुसार (कार्यकारी निर्देशकस्तर) अनुरोध छ ।' प्रदिप पौडेल स्वास्थ्य मन्त्री भएर आएदेखि नै स्वास्थ्य बिमा सुधारका लागि उनले पहल गर्दै आएका छन् । खासगरी उनकै अग्रसरतामा एक उच्चस्तरीय संयन्त्र बनाइएको थियो । सोही संयन्त्रले दिएको सुझावका आधारमा स्वास्थ्य बीमामा रिर्फरको सिस्टम हटाइएको छ । पौडेलले स्वास्थ्य बीमा संकटमा रहेको औल्याउँदै बुढिगण्डकीमा लिएजस्तै पेट्रोल, डिजेल, ग्यास तथा रिचार्ज कार्डमा लाग्ने करबाट थोरै लिएर बीमा कोषमा जाने व्यवस्था गर्नुपर्ने बताउँदै आएका छन् । उनकाअनुसार मालपोतदेखि अन्य लगाइएका करबाट थोरै प्रतिशत कोषमा जाने व्यवस्था गर्नुपर्छ ।
सन नेपाल लाइफको एएमएलरसीएफटी सम्बन्धी विशेष तालिम सम्पन्न
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले ‘मनी लन्डरिङ तथा आतंकवादी गतिविधिमा वित्तीय सहयोग (एएमएलरसीएफटी)’ सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सन नेपालले विद्यमान कानुनी मापदण्ड र नियमनकारी निकायको निर्देशनलाई ध्यानमा राख्दै यो प्रशिक्षणको आयोजना गरेको हो । उक्त प्रशिक्षण कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल, प्रमुख बजार अधिकृत गणेश चौलागाईंसहित विभिन्न विभागीय प्रमुख, प्रदेश प्रमुख तथा वरिष्ठ व्यवस्थापकहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा कम्पनीका कानुनी विभाग प्रमुख सुवास भण्डारीले एएमएलरसीएफटी सम्बन्धी प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणमा एएमएलरसीएफटी ऐनका प्रमुख प्रावधानहरू, रिपोर्टिङ दायित्व, वित्तीय सूचना इकाइ (एफआईयू) को भूमिका तथा बीमा कम्पनीहरूमा लागू हुने नीतिगत र व्यवहारिक पक्षहरूबारे व्यापक छलफल गरिएको थियो। ब्रान्ड विभागसहित सबै विभागले नियामक निकायको मापदण्डअनुसार कार्य गर्नुपर्ने स्पष्ट सन्देश यस तालिमले दिएको कम्पनीको भनाइ छ ।
११ महिनामा जीवन बीमकको व्यवसाय १ खर्ब ५४ अर्ब, कुनको कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८१ /८२ को ११ महिना अर्थात जेठ महिनासम्ममा जीवन बीमा कम्पनीहरूले १ खर्ब ५४ अर्ब रुपैयाँ भन्दा बढीको व्यवसाय आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले ११ महिनामा १ करोड ३८ लाख ३६ हजार ३७५ वटा बीमा पोलिसी बिक्री गरी १ खर्ब ५४ अर्ब ५ करोड ९२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । जसमध्ये सबैभन्दा धेरै नेपाल लाइफले व्यवसाय संकलन गरेको छ । तथ्यांकअनुसार चालु आवको ११ महिनामा नेपाल लाइफ इन्स्यारेन्सले ४१ अर्ब २ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । धेरै व्यवसाय गर्ने दोस्रो कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले ११ महिनामा १८ अर्ब ९० करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा १७ अर्ब २४ करोड १६ लाख रुपैयाँको व्यवसाय आर्जन गर्न सफल भएको छ । त्यस्तै हिमालयन लाइफले १५ अर्ब २२ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । ११ महिनाको अवधिमा अन्य बीमा कम्पनीहरूमा सूर्यज्योति लाइफले ९ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब, एशियन लाइफले ७ अर्ब ८६ करोड १२ लाख रुपैयाँ, सिटिजन लाइफले ६ अर्ब ३२ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, सानिमा रिलायन्स लाइफले ५ अर्ब ९० करोड २९ लाख रुपैयाँ, मेट लाइफले ५ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ, आईएमई लाइफले ४ अर्ब ७२ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ४ अर्ब ५५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस्तै, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब ५४ करोड रुपैयाँ र सन नेपाल लाइफले ३ अर्ब ७३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।