गुराँस लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र कैलाश विकास बैंककाबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक नगद फिर्ता जीवन बीमा र योजनामा सावधिक , आजीवन र पेन्सन जीवन बीमा योजना सहित १२ वटा जीवन बीमा योजना विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्यले उक्त सम्झौता गरेका छन् ।

लुम्बिनी इन्स्योरेन्स र राष्ट्रिय सहकारी बैंकबीच बीमा सेवा सम्झौता

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र राष्ट्रिय सहकारी बैंकबीच बीमा सेवा सम्झौता भएको छ । सो सम्झौता अनुसार सहकारी बैंकका देशभर रहेका सहकारी संस्था, सदस्यहरु तथा बैंकका शाखाहरुलाई लुम्बिनी जनरल इन्स्योरेन्सले बीमा सेवा उपलव्ध गराउनेछ । सम्झौतामा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एनपि. प्रधान र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईंले उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।  

यूनाइटेड इन्स्योरेन्सले एकाएक किन डाक्यो विशेष साधारणसभा ?

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले आगामी फागुन १६ गते विशेष साधारणसभा डाकेको छ । कम्पनीले संचालक समितिको निर्णयअनुसार पुँजी वृद्धि गर्ने उद्देश्यले उक्त दिन विशेष साधारणसभा डाकेको हो । सो प्रयोजनको लागि कम्पनीले आगामी फागुन ७ र ८ गते दुई दिन बुक क्लोज गर्ने भएको छ । केन्द्रिय कार्यालय थापाथलीमा रहेको कम्पनीको हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । बुधबार कम्पनीको सेयर प्रतिकित्ता ७७७ रुपैयाँ देखि ७९१ रुपैयाँसम्म किनबेच भइरहेको छ ।