अजोड इन्स्योरेन्स र मेगा बैंक नेपालबीच बीमा सेवा सम्झौता

काठमाडाैं । अजोड इन्स्योरेन्स र मेगा बैंक नेपालबीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री तथा मेगा बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत रभिना देशराज श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने भएको छ ।

हिमालयन बैंकद्धारा दुर्घटना मृत्यु बीमा रकम प्रदान

काठमाडौं । हिमालयन बैंकले दुर्घटना मृत्यु बीमा रकम स्व.खनाल पत्नीलाई बीमा रकम वापत ५ लाख प्रदान गरेको छ । बैंकको कावासोती शाखाले सवारी दुर्घटनामा परि निधन भएका ग्राहक स्व. रविराज खनालकी धर्मपत्नी श्रीमती गीता खनाललाई उक्त खाताको “दुर्घटना मृत्यू बिमा” वापत प्राप्त हुने ५ लाख हस्तान्तरण प्रदान गरेको हो । बैंकले आफ्ना सम्पूर्ण खातावालाहरुको रु. ५ लाख सम्मको निशुल्क दुर्घटना मृत्यू बिमा गरिदिएको छ । बैंकका शाखा प्रबन्धक आत्माराम गौतमले उक्त बीमा वापतको रकम शाखा कार्यालयको हातामा शाखाका अन्य पदाधिकारीहरु तथा शिखर इन्स्योरेन्सका प्रतिनिधी यम काफ्लेको उपस्थितीमा मृतककी श्रीमती गीता खनाललाई हस्तान्तरण गरे । मृतककी श्रीमती गीता खनालले पतिको असामयिक निधनले परिवारमा ठूलो क्षति र पीडा पुर्याएको बखत बैंकको यस सहयोगले केही मात्रामा भए पनि आर्थिक राहत दिएको जानकारी दिएका छन् ।

६ महिनामा ३० अर्ब बीमा शुल्क संकलन, मुलुकभर १२ सय ७६ बीमा कार्यालय

काठमाडौ । चालु आर्थिक बर्षको पहिलो ६ महिनामा जीवन बीमा बापत ३० अर्ब ४६ करोड ९२ लाख रुपैयाँ संकलन भएको छ । बीमा समितिका अनुसार बैदेशिक रोजगार म्यादी बीमाबाट मात्रै पुस महिनासम्म १ अर्ब ४६ करोड ५ लाख रुपैया बीमा शुल्क संकलन भएको छ । हाल जीवन बीमा गर्ने कम्पनीको संख्या १९ वटा रहेको छ । जीवन बीमा क्षेत्रमा हालै महालक्ष्मी लाईफ इन्स्योरेन्स थपिएसँगै बीमा कम्पनीको संख्या १९ पुगेको हो । जीवन बीमातर्फ पुस मसान्तसम्ममा २६ अर्ब ५९ करोड ४६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको संकलन भएको छ । मंसिर मसान्तसम्म २६ अर्ब ५६ करोड ६८ लाख रुपैयाँ रहेको थियो । पुस मसान्तसम्ममा जीवन बीमामा लगानी भएको रकम २ खर्ब ३८ अर्ब ४ करोड ९२ लाख रुपैयाँ रहेको बीमा समितिको तथ्याङ्कमा उल्लेख छ । चालु आर्थिक बर्षको ६ महिने तथ्याङ्क अनुसार बीमा कम्पनीका कार्यालय संख्या १२ सय ७६ रहेको छ । त्यसैगरी १९ वटै बीमा कम्पनीमा कार्यरत बीमक कर्मचारीको संख्या ४ हजार २ सय ४४ रहेको छ ।