अब ५ रुपैयाँमै १० लाखको सुरक्षा पाइने, सन नेपाल लाइफले ल्यायाे ५ वर्षे जीवन बीमा

काठमाडौं । अब सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जम्मा ५ रुपैयाँमा १० लाख रुपैयाँ बराबरको सुरक्षा बीमा दिने भएको छ । इन्स्योरेन्सले सर्वसाधारणको जोखीम सुरक्षित गर्ने उद्देश्यले नयाँ जीवन बीमा योजना प्रचलनमा ल्याएको छ । कम्पनीका अनुसार यो योजना पाँच वर्ष अवधिको लागि दैनिक पाँच रुपैयाँभन्दा कम लागतमा खरिद गर्न सकिन्छ । जसअन्तर्गत यो बीमाबाट ५ लाख रुपैयाँ बराबर जोखिम र १८ घातक रोगको जोखिम विरुद्ध ५ लाख रुपैयाँ गरी १० लाख रुपैयाँ बराबर सुरक्षण हुने कम्पनीले जनाएको छ । १६ वर्षदेखि ६५ वर्ष उमेरका इच्छुक व्यक्तिले यो बीमा गर्न सक्छन् । यद्दपी उमेरको आधारमा बीमा शुल्कमा केही तल माथी हुन सक्ने इन्स्योरेन्सले बताएको छ ।

सन नेपाल र सिभिल बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाण्डौ । सन नेपाल लाइफइन्स्योरेन्स र सिभिल बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफइन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र सिभिल बैंकको तर्फबाट सिबिओ सुजितकुमार शाक्यले हस्ताक्षर गरे । सम्झौता पछि सिभिल बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफइन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् । उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफइन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु सिभिल बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।

राष्ट्रिय बीमा र नेपाल पुनर्बीमा कम्पनीबीच ५०प्रतिशत पुनर्बीमा सम्झौता

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनीबीच भएको ५० प्रतिशत पुनर्बीमा सम्झौता भएको छ । कम्पनीको केन्द्रीय कार्यालय रामशाहपथ काठमाडौंमा राष्ट्रिय बीमा कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बीरविक्रम रायमाझी र नेपाल पुनर्बीमा कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले यस सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौतामा बीमा शुल्क तथा बीमा दाबीमा दुबै कम्पनीको समान सहभागिता रहेको छ । उक्त सम्झौता पश्चात कम्पनीले जारी गरेको कर्मचारी संचयकोषका ६ लाख संचयकर्ताहरुको वार्षिक १ लाख रुपैयासम्मको औषधोपचार र १० लाख रुपैयासम्मको घातक रोगको उपचारको लागि पुनर्बीमा ब्यवस्था भएको छ ।