सगरमाथा इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड, भिआइपी सेवा प्रदान गर्नेमा उत्कृष्ट

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले ‘स्पेसल रिकगनाइजेशन फर प्रडक्ट इनोभेशन इन जेनरल इन्स्योरेन्स’ नामक अन्तर्राष्ट्रिय अवार्ड पाएको छ । कम्पनीले ‘इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०१८’ अन्तर्गतको उक्त अवार्ड पाएको हो । इन्स्योरेन्सले दुई वर्षअघि शुरु गरेको ‘भिआइपी अन द स्पट’ सेवा सफल कार्यान्वयन भएकोमा कम्पनीलाई उक्त अवार्ड दिइएकाे हो । कम्पनीले आफ्ना ग्राहकलाई हप्ताको सातैदिन २४सै घण्टा उक्त सेवा पुर्याइरहेको छ । सगरमाथा इन्स्याेरेन्स कम्पनीमा बीमा गरिएका सवारी दुर्घटनामा परेकाे अवस्थामा घट्नास्थलमा नै क्षति मूल्याङ्कन गरी बीमा भुक्तानी गरिने गरेकाे कम्पनीले जनाएकाे छ । हालै थाइल्याण्डको बैंककमा आयोजित एक कार्यक्रममा कम्पनीका नायव महाप्रबन्धक श्रवण रावलले उक्त अवार्ड ग्रहण गरेकाे कम्पनीले जनाएको छ ।

बीमा समितिमा वेहालः अध्यक्ष हाजिरी मात्रै गर्ने, कार्की घर जाँदै, रेग्मी जगेडामा

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समिति लथालिंग भएको छ । अाफू विरूद्ध सर्वाेच्चमा उजुरी परेपछि समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले महत्वपूर्ण फाइलमा सहि गर्न छाेडेका छन् । निमित्त कार्यकारी निर्देशक श्रीमान कार्की असार १ गतेदेखि अनिवार्य अवकास पाएर घर जाँदैछन् । समितिमा एक मात्र कार्यकारी निर्देशक पद छ, उक्त पद रिक्त रहेको चार बर्ष बितिसकेको छ । त्यसबीचमा कार्कीलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिईएको थियो । निर्देशक कमल रेग्मीलाई  आन्तरिक खटपटका कारण जगेडामा राखिएको लामो समय भैसकेको छ । उनी कार्यालय पुगेर हाजिरी गर्छन र दिनभर अध्ययन गरेर साँझ निवास फर्कन्छन् । समितिका अध्यक्ष चापागाइँ बीमाको  विज्ञ नभएकाे भन्दै  अधिवक्ता डिल्लीप्रसाद न्यौपानेले सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका थिए । तत्काल काम नगर्न अन्तरिम आदेश माग्दै दायर गरिएको मुद्दामा सर्वाेच्चले त्यस्तो आदेश दिएकाे छैन तर सर्वाेच्चले बीमा समितिको अध्यक्ष बन्ने योग्यताको प्रमाण पेश पत्र काटेकाे स्राेतले बतायाे । जेठ २२ गते सर्वाेच्च अदालतका न्यायधिक आनन्दमोहन भट्टराईको एकल इजलासले अध्यक्ष बन्ने योग्यताको प्रमाण पत्र पेश गर्न भनेपछि चापागाइँले महत्वपूर्ण विषयका फाइल छुन छाेडेकाे स्राेतले बतायाे । १८ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी, एउटा पुनर्बीमा कम्पनी गरि ३९ वटा कम्पनीको नियमन गर्ने निकायको उच्च नेतृत्व तितरवितर हुँदा यस क्षेत्र नराम्ररी प्रभावित हुने देखिएकाे छ ।  

सन नेपाल लाइफको बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट, ६० करोडको सेयर निष्कासन गर्ने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । उक्त नियुक्ती सम्बन्धी सम्झौतामा सन नेपाल लाइफका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(सीईओ) राजकुमार अर्याल र नेपाल एसबीआई मर्चेन्ट बैकिङका(सीईओ) रमेश घिमिरेले हस्ताक्षर गरेका छन् । यस सम्झौतापश्चात इन्स्योरेन्सको सेयर हस्तान्तरण तथा धितोपत्रसँग सम्बन्धित सम्पूर्ण काम बिक्री प्रबन्धक एसबीआई मर्चेन्टले गर्ने भएको छ । कम्पनीले आगामी आर्थिक वर्षसम्म २ अर्ब पुँजी पुर्याउनको लागि एसबीआई मर्चेन्टसँग सम्झौता गरेको इन्स्योरेन्सका कामु सीईओ अर्यालले बताएका छन् ।  कार्यक्रममा एसबीआई मर्चेन्टका सीईओ घिमिरेले बिहीबार सम्झौता भएअनुसार इन्स्योरेन्सको ६० करोड रुपैयाँ बराबरको सेयर निष्कासन प्रमुखको रुपमा निष्कासन गर्ने बताएका छन् । हाल कम्पनीको चुक्ता पुँजी १ करोड ४० लाख रुपैयाँ रहेको छ । बीमा समितिले ताके बमोजिम पुँजी पुर्याउनको लागि कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर निष्काशन गर्ने तयारी गरिरहेको छ । साे मात्राकाे सेयर निष्कासन पश्चात कम्पनीको पुँजी २ अर्ब रुपैयाँ नाघ्ने छ । इन्स्योरेन्सले हालसम्म ७ लाख बढी बीमालेख बिक्री गरिसकेको छ । हालसम्म २० शाखा स्थापना गरिसकेको इन्स्योरेन्सले चालु आवमा थप १५ वटा शाखा विस्तार गरि कुल ३५ वटा पुर्याउने कम्पनीको लक्ष्य छ । साथै, सोही आवको असोजसम्म ८६ वटा उपशाखा पुर्याउने तयारी गरिरहेको कम्पनीले जनाएको छ ।