नेपाल माइक्रोले १९२ प्रतिशतले व्यवसाय बढाउँदा अन्य कम्पनीको कस्तो ?

काठमाडौं । पछिल्लो समय लघु निर्जीवन बीमक कम्पनीले आक्रामक ढंगले आफ्नो व्यवसाय बढाइरहेका छन् । हाल सञ्चालनमा रहेका चार निर्जीवन लघु बीमकले आफ्नो व्यापारलाई आक्रामक ढंगले विस्तार गरिरहेका हुन् । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा लघु निर्जीवन बीमक कम्पनीको व्यवसाय गत आवको यही अवधिको तुलनामा ३४२ प्रतिशतले बढेको छ ।  नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चार निर्जीवन लघु बीमकले चालु आवको चैत्र मसान्तसम्ममा २ लाख ७७ हजार ९८ वटा बीमा लेख जारी गर्दा ६८ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । गत आवको यही अवधिमा कम्पनीहरूले १५ करोड ५३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए । कम्पनीहरूले चैत्र महिनामा मात्रै ४७ हजार ९१ बीमा लेख जारी गरी १० करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । चार निर्जीवन लघु बीमकमध्ये नेपाल माइक्रो इन्स्यारेन्सले चैत्र मसान्तसम्ममा ७७ हजार ३५१ बीमालेख जारी गरी १९ करोड ३६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले आर्जन गरेको व्यवसाय गत आवको यही अवधिको तुलनामा १९२.३३ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा कम्पनीहरूले ६ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।  धेरै बीमा शुल्क संकलन गर्ने दोस्रो नम्बरमा प्रोटेक्टिभ माइक्रो इन्स्याेरेन्सको रहेको छ । उक्त कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा १७ करोड ५७ लाख रुपैयाँ व्यवसाय गरेको छ । जुन गत आवको तुलनामा २५२.५९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरूले ४ करोड ९८ लाख रुपैयाँको व्यवसाय गरेका थिए। त्यस्तै, चालु आवको ९ महिनामा स्टार माइक्रोले १६ करोड ३२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आवको यही अवधिमा स्टार माइक्रोले ३ करोड २८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । चार नीर्जीवन बीमक लघु बीमक कम्पनीमध्ये सबैभन्दा कम व्यवसाय गर्ने कम्पनी ट्रस्ट माइक्रो रहेको छ । व्यापार वृद्धिको हिसाबले भने ट्रस्ट माइक्रो पहिलो सबैभन्दा अगाडि रहेको छ । उक्त कम्पनीले चालु आवको चैत्रसम्ममा ६८ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको यही अवधिको तुलनामा २३२४ प्रतिशतले वृद्धि हो । गत आवमा कम्पनीको कुल बीमा शुल्क संकलन ६३ लाख रुपैयाँ थियो । 

निर्जीवन बीमकको व्यवसाय ३२ अर्ब १३ करोड, शिखर सबैभन्दा अगाडि

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले ३२ अर्ब रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । आइतबार नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमकहरूले ९ महिनामा २१ लाख ३५ हजार २३३ बीमा लेख जारी गर्दा ३२ अर्ब १२ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । नीर्जीवन बीमा कम्पनीहरूले चालु आवको ९ महिनाको अवधिमा आर्जन गरेको बीमा शुल्क गत आवको सोही अवधिको तुलनामा ७.११ प्रतिशतले बढेको छ । गत आवको यही अवधिमा कम्पनीहरुले २१ लाख ९३ हजार ५४७ वटा बीमालेख जारी गरी २९ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । निर्जीवन बीमकहरूले चैत्र महिनामा मात्रै २ लाख ९१ हजार ७७६ बीमा लेख जारी गर्दै ४ अर्ब १० करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । धेरै व्यवसाय गर्नेमा शिखर अगाडि बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ९ महिनाको अवधिमा सर्वाधिक व्यवसाय आर्जन गर्नेमा शिखर इन्स्योरेन्स अगाडि देखिएको छ । शिखरले चैत्रसम्ममा४ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्ष यही अवधिको तुलनामा २.८५ प्रतिशतले बढेको हो ।  अघिल्लो आवको यही अवधिमा कम्पनीले ४ अर्ब २२ करोड ५५ लाख रुपैयाँ व्यवसाय आर्जन गरेको थियो । दोस्रो धेरै व्यापार गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स(सलिको) रहेको छ । सलिकोले ९ महिनाको अवधिमा ३ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ व्यवसाय गरेको छ । सलिकोले गरेको व्यवसाय गत आवको तुलनामा ५.८४ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा कम्पनीले ३ अर्ब ५३ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।  धेरै कुल बीमा शुल्क आर्जन गर्ने तेस्रो कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले चैत्र मसान्तसम्ममा ३ अर्ब १० करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २ अर्ब ४९ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।  अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ७.४५ प्रतिशतले वृद्धि भएको देखिन्छ। चालु आवको चैत्रसम्ममा हिमालयन एभरेस्ट इन्स्योरेन्सले अघिल्लो आवको तुलनामा ९.२८ प्रतिशतले व्यवसाय बढाएको छ । उक्त कम्पनीले गत आवको चैत्रसम्ममा २  अर्ब ५४ करोड ८९ लाख रुपैयाँ व्यवसाय गरेकोमा चालु आवको यही अवधिमा २ अर्ब ७८१ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ । अन्य नीर्जीवन बीमा कम्पनीहरूमा चालु आवको ९ महिनाको अवधिमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ७३ करोड ४९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ४७ करोड १८ लाख रुपैयाँ, दि ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब १५ करोड ४६ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब १३ करोड ४५ लाख रुपैयाँ, सानिमा जिआइसीले १ अर्ब ९२ करोड १९ लाख, नेपाल इन्स्यारेन्सले १ अर्ब ५५ करोड ८८ लाख र नेशनल इन्स्यारेन्सले ८७ करोड ९५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।  ३ कम्पनीको व्यवसाय घट्यो  चालु आवको ९ महिनामा तीन निर्जीवन बीमा कम्पनीको व्यवसाय घटेको छ । राष्ट्रिय बीमा, युनाइटेड अजोड र प्रभु इन्स्याेरेन्सको व्यवसाय गत गत आवको तुलनामा चालु आवमा घटेको हो ।  राष्ट्रिय बीमा कम्पनीको व्यवसाय चालु आवको चैत्र मसान्तसम्ममा गत आवको तुलनामा १३.३१ प्रतिशतले कमी आएको छ । कम्पनीले गत आवमा १ अर्ब ३० करोड ६४ लाख रुपैयाँ कुल व्यवसाय गरेकोमा चालु आवमा १ अर्ब १३ करोड २६ लाख रुपैयाँ मात्रै व्यवसाय गरेको हो ।  युनाइटेड अजोडको व्यवसाय गत आवको तुलनामा ६.२४ प्रतिशले घटेर १ अर्ब ८५ करोड ४९ लाख रुपैयाँ आर्जन भएको छ । गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब ९७ करोड ८३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको थियो ।  त्यस्तै, प्रभु इन्स्योरेन्स कम्पनीको व्यवसाय गत आवको तुलनामा चालु आवमा १.३१ प्रतिशतले कमी आएको छ । गत आवमा कम्पनीले १ अर्ब ३२ करोड ६८ लाख रुपैयाँ व्यवसाय गरेकोमा चालु आवको ९ महिनामा १ अर्ब ३० करोड ९४ लाख रुपैयाँ व्यवसाय गरेको छ ।   

आइएमई लाइफको नाफा १०.४९ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा १०.४९ प्रतिशत बढेर ३६ करोड ६३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैत मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क १५.६५ प्रतिशत बढेर ३ अर्ब ६० करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतमा कम्पनीले ३ अर्ब ११ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।  चैतसम्म कम्पनीले ३ अर्ब ७३ करोड ९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब २९ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।  यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३ अर्ब ५१ करोड ५३ लाख रुपैयाँ गरेको छ । गत वर्षको चैतमा कम्पनीले २ अर्ब ९३ करोड ६३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । चैतसम्म कम्पनीले ४ अर्ब ८२ करोड ९४ लाख रुपैयाँ कुल आम्दानी गरेर ४ अर्ब ४६ करोड ३१ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब १२ करोड २७ लाख रुपैयाँ कुल आम्दानी गरेर ३ अर्ब ७९ करोड ११ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।  समीक्षा अवधिसम्ममा कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ, सेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ, सञ्चित नाफा ४२ करोड ५६ लाख रुपैयाँ, महाविपत्ती कोष २२ करोड ९८ लाख रुपैयाँ र जीवन बीमा कोषको आकार ११ अर्ब ८४ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९.७७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३२.६७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४७.३३ गुणा रहेको छ ।