सम्पत्ति बीमालेखसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै बीमा सर्भेयर संघ
काठमाडौं । बीमा सर्भेयर संघ नेपाल, बुटवल च्याप्टरले सम्पत्ति बीमालेखसम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । बुटवल च्याप्टरले केन्द्रीय संघको सहकार्यमा यही वैशाख २७ गते अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको च्याप्टर प्रमुख गोविन्द लामिछानेले जानकारी दिए । उनका अनुसार अन्तरक्रिया कार्यक्रममा सम्पत्ति बीमालेखसम्बन्धीसँगै, प्री–रिस्क सर्भे, सर्भेयरका चुनौतीसम्बन्धी विविधि प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको छ । संघले कार्यक्रमको प्रमुख अतिथिको रूपमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद् ओझालाई बोलाएको छ भने प्रस्तुतिकरणको लागि कार्यकारी निर्देशक सुशीलदेव सुवेदीलाई निम्तो गरेको छ । बीमा सर्भेयर संघ, बुटवल च्याप्टरका प्रमुख गोविन्द लामिछानेले भने, ‘हामीले नियामक निकायलाई ल्याएर प्रस्तुतिकरण गर्नुको मुख्य उद्देश्य उहाँहरूले बीमक, सर्भेयर, बैंकर्सलगायतबाट आएका सल्लाह सुझावलाई मनन गर्नुहुन्छ र त्यही सुझावलाई लिएर नीति निर्माणमा ध्यान जाओस् भनेर नै हो ।’ उनले कार्यक्रममा सर्भेयर, बीमा कम्पनीका सिईओ, कर्मचारी, बीमित, बैंकर्स एशोसिएसन, उद्योग वाणिज्य संघका अध्यक्षहरु, नेपाल इन्जिनियरिङ एसोसिएनका प्रतिनिधिहरूलाई बोलाएको जानकारी दिए । कार्यक्रममा एक सय भन्दा बढीको सहभागिता रहने उनकाे दाबी छ । कार्यक्रममा नेपालमा सर्भेयरका चुनौती विषयमा संघका महासचिव विकास महर्जनले प्रस्तुतिकरण गर्ने कार्यक्रम छ । ‘प्री-रिस्क सर्भे’ विषयमा शिखर इन्स्याेरेन्सका महाप्रबन्धक उदित काफ्लेले प्रिजेन्टेसन दिनेछन् । कार्यक्रममा प्यानल डिस्कसन, प्रश्नोतर, छलफल कार्यक्रमसमेत राखिएको छ ।
वैदेशिक रोजगार बीमालेखबाट २ अर्ब ५८ करोड संकलन, सन नेपालले कमायो सर्वाधिक
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमालेखबाट २ अर्ब ५८ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । ११ जीवन बीमा र ३ वटा लघु बीमा कम्पनीले २४ लाख ६८ हजार २१९ वटा वैदेशिक रोजगार बीमालेख जारी गरेर उक्त रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन् । कम्पनीहरूले चैत्र महिनामा मात्रै ७१ हजार ७२४ बीमालेख जारी गरेर ३० करोड ६० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस अवधिमा वैदेशिक रोजगार बीमालेखबाट सन नेपाल लाइफले सर्वाधिक व्यापार गरेको छ । सन नेपालले चालु आवको ९ महिनामा ८ लाख ७९ हजार ८२९ वटा बीमालेख जारी गरी ९८ करोड ५५ लाख बीमाशुल्क संकलन गरेको छ । वैदेशिक रोजगार बीमालेखबाट धेरै व्यवसाय गर्ने दोस्रो कम्पनीमा एशियन लाइफ इन्स्याेरेन्स रहेको छ । उक्त कम्पनीले २ लाख ३३ हजार ८४२ बीमालेख जारी गरेर ६७ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएको छ । त्यसैगरी तेस्रोमा नेपाल लाइफ इन्स्याेरेन्स रहेको छ । कम्पनीले ९ महिनाको अवधिमा कुल ५ लाख ७१ हजार ४९४ बीमालेख जारी गरेर १८ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । ९ महिनाको अवधिमा वैदेशिक रोजगार बीमालेखबाट आईएमई लाइफले २ लाख ३९ हजार ८०६ बीमालेख जारी गरी १७ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, नेशनल लाइफले १५ करोड २६ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १२ करोड ८६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ८ करोड ६८ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ७ करोड ९५ लाख रुपैयाँ, सिटिजन लाइफले ७ करोड ७५ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ करोड १ लाख रुपैयाँ र हिमालयन लाइफले ५७ लाख ३६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । लघु जीवन बीमातर्फ वैदेशिक रोजगार बीमालेख बिक्री गरेर लिबर्टी माइक्रो लाइफले ९५८ बीमालेख जारी गरेर ४० लाख ८३ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस्तै गार्डियन माइक्रो लाइफले ३१ लाख ७५ हजार रुपैयाँ र क्रेस्ट माइक्रो लाइफले ४ लाख ९६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
नेपाल लाइफले भव्यताका साथ मनायो २४औं वार्षिकोत्सव
काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २४औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाएको छ । वार्षिकोत्सवको अवसरमा देशको १० स्थानमा रक्तदान कार्यक्रम, काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न कार्यक्रमहरू पनि सञ्चालन भएको थियो । यस अवसरमा कम्पनीले देशको सातैवटा प्रदेशमा रक्तदान कार्यक्रममार्फत कोशी प्रदेशको इटहरीमा ५६, मधेश प्रदेशको वीरगञ्जमा ३०, बागमती प्रदेशको काठमाडौंमा ८२, गण्डकी प्रदेशको पोखरामा ६१ र कावासोतीमा ३९, लुम्बिनी प्रदेशको बुटवलमा ३०, भैरहवामा ३० र नेपालगञ्जमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३१ र सुदूरपश्चिम प्रदेशको टीकापुरमा २८ गरी कुल ४१२ पिन्ट रगत संकलन गरेको छ । कम्पनीले केन्द्रीय कार्यालयमा २ दिने निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो । यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी आफ्नो चौबीसौं वर्ष पूरा गरी पच्चीसौं वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा सबैलाई धन्यवाद तथा शुभकामना व्यक्त गरेका थिए ।