बैंकिङबाट बीमा कम्पनीमा नेतृत्व, यस्तो छ पाँच सीईओको पफर्मेन्स

काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा पछिल्लो समय नेतृत्व तहमा काम गर्ने कर्मचारीहरूमा रूपान्तरण भइरहेको छ । ठूला वाणिज्य बैंकदेखि, विकास बैंक र वित्त कम्पनीमा नेतृत्व गर्नेहरू अन्य संस्थामा नेतृत्व गर्न पुगेका थुप्रै उदाहरणहरू छन् । ती विभिन्न क्षेत्रमध्ये बीमा क्षेत्र पनि एक हुन् । त्यसो त बैंकिङ र बीमा क्षेत्र आर्थिक प्रणालीका दुई महत्त्वपूर्ण भाग हुन् । यी दुवैको भूमिका र कार्यशैलीमा भन्ने भिन्नता छ । नेपालको बीमा क्षेत्र बैंकिङ क्षेत्रको तुलनामा केही पछि विकसित हुन थालेको हो । त्यसअर्थमा बीमाको विकास र विस्तार बैंकिङको तुलनामा केही पछाडि छ ।  बैंकिङ क्षेत्रकै कुरा गर्ने हो भने यसको पहुँच आममानिसमा पुगिसकेको छ । यसको बजार व्यापक भइसकेको छ । बीमामा भने अझै त्यो अवस्था छैन । अझै पनि ठूलो जनसंख्या बीमाको दायरमा आउन बाँकी छ ।  बैंकिङ क्षेत्रमा लामो समय काम गरेर बीमा क्षेत्रमा प्रवेश गरेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूमध्ये सबैले उत्कृष्ट गर्न नसके पनि सकारात्मक प्रभाव भने जमाउन सकेका छन् । बैंकिङबाट  बीमा क्षेत्रमा प्रवेश गरेका केही सीईओहरूले राम्रो पफर्मेन्स गरिरहेका छन् ।  ती सीईओहरुले बैंकिङ क्षेत्रमा बटुलेका अनुभवलाई प्रयोग गरेर कम्पनीलाई व्यावसायिक सफलता, आक्रामक बजार विस्तार गर्न सफल भएका हुन् । हुन त बीमा क्षेत्रबाटै करिअर सुरु गरेर यही क्षेत्रमा लामो समय काम गरिसकेका सीईओहरू नभएका होइनन् । बीमा क्षेत्रबाटै आएका सीईओहरूले पनि कम्पनीलाई हाँकिरहेका छन् । कम्पनीको रणनीतिक योजना, बजार विस्तारदेखि कम्पनीको हरेक व्यावसायिक वृद्धिमा उल्लेखनीय काम गरिरहेका छन् । यस समाचार सामग्रीमा बैंकिङ पृष्ठभूमिबाट आएर बीमा क्षेत्रमा प्रवेश गरेर अहिले नेतृत्व गरिरहेका सीईओ र उनीहरूको नेतृत्वमा कम्पनीले गरेको व्यवसायीको विषयमा चर्चा गरिएको छ ।  अशोक खड्का नेको इन्स्योरेन्सका सीईओ अशोक खड्का बैंकिङ क्षेत्रबाट आफ्नो करिअरको सुरुवात गरेका हुन् । नेकोमा आउनुअघि खड्का माछापुच्छ्रे बैंकमा कार्यरत थिए । सन् १९९४ बाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका खड्काले तत्कालीन इन्डोसेज बैंक हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट जागिर सुरु गरेका थिए । त्यसपछि उनी विभिन्न संंस्थामा शाखा प्रबन्धक हुँदै कर्मसियल बैंकमा सहायक व्यवस्थापक भएका थिए । खड्काले डिजिटल बैंकिङको विस्तारमा विशेष भूमिका निभाएका थिए । त्यस्तै  विभिन्न बैंक तथा वित्तीय संस्थाका कार्यरत रहँदा खड्काले संस्थाको विकास, वित्तीय अनुशासन र जोखिम व्यवस्थापनमा विशेष योगदान पुर्‍याएका थिए । नेकोमा खड्का पहिलोपटक नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त भएका थिए । वि.सं २०७६ साल साउनमा उनी सीईओको रूपमा नियुक्त भए । पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकै कारण उनले दोस्रो पटक सीईओको जिम्मेवारी पाए । दोस्रोपटक खड्का वि.सं २०८० सालमा सीईओमा नियुक्त भएका हुन् । उनले आफ्नो कार्यकालमा कम्पनीलाई एउटा उचाइमा पुर्‍याउन सफल भएका छन् । आर्थिक वर्ष २०७६/७७ मा ४८ करोड २६ लाख २२ हजार रुपैयाँ खुद नाफा गरेको नेको इन्स्योरेन्सले त्यसपछिका वर्षहरूमा निरन्तर नाफा बढाउँदै लगेको छ । आव २०८०/८१ सम्म आइपुग्दा कम्पनीको खुद नाफामा ४८ करोड रुपैयाँबाट एक अर्ब रुपैयाँ पुर्‍याएको छ । यसरी पाँच आर्थिक वर्षसम्ममा आइपुग्दा कम्पनीको नाफामा १०७.७० प्रतिशतको वृद्धि देखिन्छ । त्यस्तै, आव २०७६/७७ मा एक अर्ब ९९ करोड ५० लाख कुल बीमा शुल्क संकलन गरेको कम्पनीले आव २०८०/८१ मा आइपुग्दा २ अर्ब ९५ करोड २४ लाख रुपैयाँ पुर्‍याएको छ ।  कुल दाबी भुक्तानीमा पनि कम्पनीले राम्रो पफर्मेन्स गरेको तथ्यांकबाट देखिन्छ । आव २०७६/७७ मा ७६ करोड ६० लाख रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले आव २०८०/८१ मा आइपुग्दा १३५.११ प्रतिशतले बढेको छ । कम्पनीले आव २०८०/८१ मा एक अर्ब २४ लाख रुपैयाँ कुल दाबी भुक्तानी दिन सफल भएको छ ।  प्रवीण रमण पराजुली नेपाल लाइफ इन्स्योरेन्सका सीईओ प्रवीणरमण पराजुली पनि बैंकिङ पृष्ठभूमिबाट आएका हुन् । उनीसँग नेपालको वित्तीय र बीमा क्षेत्रमा २० वर्ष काम गरेको अनुभव छ । उनले नेपाल लाइफमा २०७९ साउन ४ गतेदेखि सीईओको कार्यभार सम्हाल्दै आएका छन् । सीईओमा नियुक्त हुनुअघि पराजुली नेपाल लाइफमा डीसीईओका रूपमा काम गरेका थिए । नेपाल लाइफमा जागिर सुरु गर्नुअघि पराजुलीले रिलायन्स लाइफ इन्स्योरेन्समा चार वर्ष सीईओका रूपमा नेतृत्व गरिसकेका छन् । उनी रिलायन्स लाइफमा विंस २०७४ पुस २ मा सीईओमा नियुक्त भएका थिए । रिलायन्स लाइफमा रहँदा उनी कम्पनीलाई थप उचाइमा पुर्‍याउन सफल भए ।  बीमा क्षेत्रमा प्रवेश गर्नुअघि पराजुली बैंकिङ क्षेत्रमा थिए । विं.स २०६० मा एनएमबि बैंक लिमिटेडमा काम गरेका पराजुलीले विंस २०६३ देखि २०६६ सम्ममा कम्पनीको प्रमुख-लगानी अधिकृतको रूपमा काम गरेका थिए । त्यसपछि नबिल बैंकमा मर्चेन्ट बैंकिङ प्रमुखको रूपमा काम गरेर उनी विंस २०६७ देखि २०७४ सालसम्म नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको सीईओ भएर काम गरेका थिए । पराजुलीले काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टबाट वित्तमा एमबीए गरेका छन् । उनले चण्डीगढको डीएभीबाट सिनियर स्कूल सर्टिफिकेट परीक्षा र भारतको मंगलोर विश्वविद्यालयबाट व्यवसाय व्यवस्थापनमा स्नातक गरेका छन् ।  नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० मा २ अर्ब १ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले खुद नाफा ५.८४ प्रतिशतले बढाएर २ अर्ब १२ करोड रुपैयाँ पुर्‍याएको छ । त्यस्तै, आव ८०/८१ मा कम्पनीको कुल बीमा शुल्क संकलन ९.९२ प्रतिशतले बढेको छ । आव २०७९/८० मा ३७ अर्ब १६ करोड २८ लाख रुपैयाँको व्यवसाय गरेको कम्पनीले आव आव ८०/८१ मा ४० अर्ब ८४ करोड रुपैयाँको व्यवसाय गरेको छ । कम्पनीको जीवन बीमा कोष आव २०८०/८१ मा आइपुग्दा २० प्रतिशतको वृद्धि भएर १ खर्ब ६१ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । नारायणबाबु लोहनी रिलायबल लाइफ इन्स्योरेन्सका सीईओ नारायणबाबु लोहनी  रिलायबल लाइफमा पहिलो पटक २०७४ सालमा सीईओमा नियुक्त भएका थिए । त्यसपछि उनी दोस्रो पटक २०७८ साल साउन १९ गते सीईओको रूपमा दोस्रो कार्यकालका लागि काम सुरु गरेका हुन् ।  बीमा क्षेत्रमा प्रवेश गर्नुअघि लोहनीसँग एक दशकभन्दा बढी बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव छ । उनले रिलायबल फाइनान्स लिमिटेड र रिलाइबल विकास बैंकमा सीईओ भएर काम गरेका थिए । लोहनीले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । आफ्नो नेतृत्व कार्यकालमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सकारात्मक प्रगति गरेको छ । उनले कम्पनीको संस्थागत विकासमा अग्रणी भूमिका निभाएका छन् । साथै उनले उनकै नेतृत्वमा कम्पनीको खुद नाफा पाँच करोड ४९ लाख रुपैयाँबाट ४२ करोड रुपैयाँ पुगेको छ । आव २०७५/७६ मा कम्पनीको खुद नाफा ५ करोड ४९ लाख रुपैयाँ थियो । ६ वर्षको अवधिमा कम्पनीको नाफा ६७ प्रतिशतले बढेर ४२ करोड रुपैयाँ पुगेको हो । त्यस्तै, कुल बीमा संकलन २०७.१९ प्रतिशतले वृद्धि भई ४ अर्ब २० करोड रुपैयाँ पुगेको छ । त्यस्तै, उनको नेतृत्वमा कम्पनीको जीवन बीमा कोष ७१ करोड ९८ लाख रुपैयाँबाट १० अर्ब ५ करोड रुपैयाँ पुगेको छ । शिवनाथ पाण्डे सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डे बैंकिङ पृष्ठभूमिका हुन् । पाण्डे सानिमा रिलायन्समा सानिमा रिलायन्समा २०७९ साल चैत्र ९ गते नियुक्त भएका थिए । यसअघि उनले सूर्या लाइफ इन्स्याेरेन्समा चार वर्ष काम गरिसकेका छन् । बीमा कम्पनीमा काम गर्नुअघि उनी लामो समय नेपाल राष्ट्र बैंकमा जागिरे थिए । पाण्डेसँग नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेको अनुभव उनीसँग छ । उनी राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएका थिए । त्यस्तै, उनी २० बर्षदेखि बैंकिङ क्षेत्रमा व्यवस्थापकीय पदमा कार्यरत थिए  । पाण्डेले सूर्या लाइफ इन्स्याेरेन्समा रहँदा कम्पनीको वित्तीय सुधार, संस्थागत सुधारमा उल्लेखनीय परिर्वतन ल्याएका थिए । त्यस्तै उनकै कार्यकालमा सूर्या लाइफले प्राधिकरणले तोकिएको चुक्तापुँजी पुर्‍याउन सफल हुनुका साथै कम्पनीलाई थप प्रतिस्पर्धी बनाउनमा योगदान पुर्‍याएका थिए । सीईओ पाण्डेले सानिमा रिलायन्समा २ कार्यकाल बिताएर तेस्रो कार्यकाल सम्हालिरहेका छन् । आफ्नो कार्यकालमा पाण्डेले अब्बल गर्न नसके पनि कम्पनीको वित्तीय, संस्थागत सुधार र बजार विस्तारमा सकारात्मक प्रगति गरेको देखिन्छ । दुई आर्थिक वर्षमा कम्पनीको नाफामा उल्लेखनीय वृद्धि देखिन्छ । आर्थिक वर्ष २०७९/८० कम्पनीले २७ करोड १३ लाख रुपैयाँ नाफा गरेकोमा आव २०८०/८१ मा नाफा ८५ प्रतिशतले बढेर ५० करोड ४५ लाख ८४ हजार रुपैयाँ पुगेका देखिन्छ । सीईओ पाण्डेको नेतृत्वमा कम्पनीले आव २०८०/८१ मा ६ अर्ब १८ करोड ५७ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । जुन आव २०७९/८० को तुलनामा १० प्रतिशतको वृद्धि हो । त्यस्तै कम्पनीले दुई आवमा जीवन बीमा कोष ३९.३४ प्रतिशतले बढाएर १४ अर्ब १५ करोड तीन लाख रुपैयाँ पुगेको छ । आव २०८०/८१ मा कम्पनीको जीवन बीमा कोष १० अर्ब १५ करोड ५४ लाख रुपैयाँ थियो । दिनेशलाल  श्रेष्ठ एशिएन लाइफको सीईओको रूपमा कार्यरत छन् दिनेशलाल श्रेष्ठ। उनीसँग बैंक तथा बीमा क्षेत्रमा एक दशकभन्दा बढी लामो अनुभव छ । बीमा कम्पनीमा प्रवेश गर्नुअघि श्रेष्ठ गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीमा सीईओका रूपमा कार्यरत थिए । उनले उक्त फाइनान्समा १९ वर्ष सीईओ भएर काम गरे । उनले त्रिभुवन विश्वविद्यालयबाट वित्तमा एमबिए गरेका छन् । उनी एशिएन लाइफमा पहिलो पटक २०७७ सालमा र दोस्रोपटक २०८१ माघमा सीईओमा नियुक्त भएका हुन् । उनले कम्पनीको व्यवसायमा गरेको वृद्धिले नै सीईओका रुपमा दोस्रो काम गर्ने अवसर पाए । सीईओ श्रेष्ठले आफ्नो कार्यकालमा कम्पनीको व्यवसायमा सन्तोषजनक नै प्रगति गरेको देखिन्छ । सीईओ श्रेष्ठको नेतृत्वमा कम्पनीले चार वर्षको अवधिमा ३५ प्रतिशतले व्यवसाय बढाएको छ । कम्पनीले आव २०७७/७८ मा ५ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा गरेकोमा आव २०८०/८१ को दोस्रो त्रैमाससम्ममा ८ अर्ब ५ करोड रुपैयाँ गरेको छ । चार वर्षको अवधिमा कम्पनीको जीवन बीमा कोष ४२ करोड ९९ लाख रुपैयाँ पुगेको छ । आव २०७७/७८ मा कम्पनीको जीवन बीमाकोष २६ अर्ब १३ करोड ४७ लाख रुपैयाँ थियो । कम्पनीको वित्तीय विवरणअनुसार आव २०७७/७८ का  कम्पनीले खुद बीमा शुल्क ३३ करोड ७८ लाख रुपैयाँ आर्जन गरेकोमा आव २०८०/८१ मा घटेर ३२ करोड ८५ लाख रुपैयाँ मात्रै कमाएको छ । आव २०७९/८० मा भने कम्पनीले ३७ करोड ६७ लाख रुपैयाँ कमाएको थियो ।  

सिञ्जा गाउँपालिकाले साढे २ हजार घरको बीमा गर्ने, २० लाख रुपैयाँ बीमाङ्क

काठमाडौं । जुम्लाको सिञ्जा गाउँपालिकाले २ हजार ४०० घरको घर बीमा गर्ने भएको छ । कर्णाली प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत विपद् जोखिम बीमा कार्यक्रममा छनोट भएपछि घरको बीमा गर्न लागिएको हो । गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सोही कार्यक्रमअनुसार २ हजार ४०० घरको बीमा गर्न लागिएको जानकारी दिए । गत चैत २५ गते उक्त कार्यक्रमका लागि मन्त्रालयले स्थानीय तहलाई १५ दिनको समय दिएर बीमा गर्ने विषयमा सहभागी हुन सूचना प्रकाशन गरेकामा सिञ्जा तोकिएको मापदण्डअनुसार छनोटमा परेको उनले बताए ।  अध्यक्ष धितालले भने, ‘कार्यक्रमका लागि मन्त्रालयले अधिकतम प्रतिघर २० लाख रुपैयाँको बीमाङ्क बराबरको जोखिम मूल्याङ्कनबाट हुन आउने बीमाशुल्क बापतको रकम भुक्तानी गरिदिने व्यवस्था गरेको छ । बीमा लागू भएपछि भूकम्प, आगलागी, बाढी तथा डुबान, हावा हुरीलगायत विपद्बाट क्षतिग्रस्त भएका घरको बीमामार्फत क्षतिपूर्ति पाउने छन् । एक परिवारका लागि एक घरको बीमा शुल्क प्रदेश सरकारले भुक्तानी गरिदिने व्यवस्था गरिएको छ ।’ कर्णालीका निजी तथा आवासीय घरमा विभिन्न विपद्बाट हुने क्षतिबाट बचाउन प्रदेश सरकारले घर बीमा कार्यक्रम सुरु गरेको हो । जसका लागि घर बीमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०८१ कार्यान्वयनमा ल्याइएको छ । चालु आवमा बीमाका लागि प्रदेश सरकारले ४ करोड ७५ लाख रुपैयाँ बजेट छुट्याएको कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

कुल गार्हस्थ्य उत्पादनमा वित्तीय तथा बीमा क्षेत्रको योगदान ६ प्रतिशत, कुन क्षेत्रमा कति ?

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार चालु आर्थिक वर्ष २०८१/८२ को नेपालको वार्षिक राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गरेको छ ।  यस आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६१ खर्ब सात अर्ब पुग्ने अनुमान गरिएको छ । यो उपभोक्ता मूल्यमा आधारित भई मापन गरिएको जीडीपीको आकार हो । अर्थतन्त्रको आकार मापन गर्न उपभोक्ताको मूल्यमा मापन गरिएको प्रचलित मूल्यको जीडीपी प्रयोग गरिएको छ । तथ्यांक कार्यालयले विभिन्न १८ किसिमका आर्थिक क्रियाकलापमा वर्गीकरण गरी राष्ट्रिय लेखाको अनुमान प्रकाशन गरेको हो ।  जसअनुसार वित्तीय तथा बीमा क्षेत्रअन्तर्गत चालु आव २०८१/८२ मा यस क्षेत्रको जीडीपीमा ६.६५ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ६.२९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धिसँगै यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा बढोत्तरी हुने अनुमान गरिएको छ । गत आव २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ७.९४ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० को तथ्याङ्कअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ७.९२ प्रतिशत कायम भएको छ । कुन क्षेत्रको योगदान कति ? कृषि, वन तथा मत्स्य  चालु आर्थिक वर्ष २०८१/८२ मको कुल गार्हस्थ उत्पादनमा कृषि, वन तथा मत्स्य क्षेत्रले २५.१६ प्रतिशत योगदान पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर ३.२८ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । चालु आवमा गत आर्थिक वर्षको तुलनामा धान, तेलहन, दलहन र तरकारी बाली तथा पशुपन्छीजन्य उत्पादन (दूध, अण्डा, माछा तथा मासु) हरूको उत्पादनमा वृद्धि हुने अनुमान रहेका कारण यस क्षेत्रको वृद्धि हुने अनुमान गरिएको छ । तर फलफूल तथा अन्य केही हिउँदे बालीको उत्पादनमा नगण्य मात्राको वृद्धि हुने अनुमानका कारणले कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिमा उल्लेख्य वृद्धि हुन नसक्ने अनुमान रहेको छ । गत आव २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ३.३५ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । त्यसैगरी, आर्थिक वर्ष २०७९/८० को तथ्याङ्कअनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ३.०२ प्रतिशत कायम भएको छ । खानी तथा उत्खनन चालु आर्थिक वर्षमा यस क्षेत्रले कुल गार्हस्थ उत्पादनमा ०.४६ प्रतिशत योगदान पुर्‍याउने प्रारम्भिक अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो आर्थिक वर्षको तुलनामा १.९९ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्माण क्षेत्रमा धनात्मक वृद्धि र खानी तथा उत्खनन क्षेत्रको रोयल्टी सङ्कलनमा गत आर्थिक वर्षको तुलनामा सामान्य सुधार भएकोले यस क्षेत्रको मूल्य अभिवृद्धिमा पनि सामान्य सुधार हुने अनुमान रहेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ३‍.२३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ भने आर्थिक वर्ष २०७९/८० को तथ्यांक अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ०.९१ प्रतिशत कायम भएको छ । उद्योग चालु आर्थिक वर्ष २०८१/८२ मा उद्योग क्षेत्रको कुल गार्हस्थ उत्पादनमा ४.९८ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.७८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । संशोधित तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ऋणात्मक (९– २.०२ प्रतिशत) रहने अनुमान गरिएको छ । आव २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्ष यस क्षेत्रको ऋणात्मक वृद्धि (९-१।७० प्रतिशत) कायम भएको छ । यस क्षेत्रमा अघिल्लो दुई आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा ऋणात्मक वृद्धिदर देखिए तापनि चालु आर्थिक वर्षमा भने सुधारको संकेत देखिएको छ । खासगरी वनस्पति तेल, प्लाइउड, प्लाष्टिकको पाइप फिटिङ, पेय पदार्थ, सिमेन्ट, साबुन, लगायतका वस्तुको उत्पादनमा भएको उल्लेख्य वृद्धिले यस क्षेत्रमा सुधार आउने प्रारम्भिक अनुमान गरिएको छ । साथै, भट्टमासको कच्चा तेल, जस्तापाता तथा फलामे रडको कच्चा पदार्थ, कोइला लगायत कच्चा पदार्थको आयातमा भएको वृद्धि र उत्पादित वस्तुको मागमा भएको वृद्धिका कारणले पनि उद्योग क्षेत्रको उत्पादन वृद्धिमा सकारात्मक प्रभाव पारेको देखिन्छ । विद्युत् तथा ग्यास चालु आर्थिक वर्ष २०८१/८२ मा विद्युत् तथा ग्याँस क्षेत्रको कुल गार्हस्थ उत्पादनमा १.७३ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर १३.८२ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। यस क्षेत्रमा पछिल्ला वर्षहरूमा जलविद्युत उत्पादनको क्षमता वृद्धिका साथै उपभोगमा विस्तार भएका कारण यस क्षेत्रको वृद्धि उल्लेख्य रहन गएको देखिन्छ । गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर १०.९६ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । त्यसैगरी, आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार यस क्षेत्रको वृद्धिदर १९.७६ प्रतिशत कायम भएको छ । पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापनस् चालु आर्थिक वर्ष २०८१÷८२ मा पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा पुनः उत्पादनका क्रियाकलाप क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ०.४२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर २.०९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । सेवा माग र आपूर्तिमा भइरहेको क्रमिक वृद्धिसँगै यस क्षेत्रको कुल मूल्य अभिवृद्धि पनि सामान्य रूपमा बढेको अनुमान गरिएको छ। गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर १.२७ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार यस क्षेत्रको वृद्धिदर ३.२२ प्रतिशत कायम भएको छ। निर्माण चालु आव २०८१/८२ मा निर्माण क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ५.२४ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । विगत दुई वर्षदेखि ऋणात्मक वृद्धिदर देखिएको यस क्षेत्र चालु आर्थिक वर्षमा निर्माण सामग्रीको आयात र निर्माणजन्य औद्योगिक वस्तुहरूको उत्पादनमा भएको वृद्धिले सुधारोन्मुख भएको देखिन्छ । गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ऋणात्मक (९–२.२० प्रतिशत) रहने संशोधित अनुमान गरिएको छ । त्यसैगरी आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार यस क्षेत्रको वृद्धिदर ऋणात्मक (९–१.४८ प्रतिशत) कायम भएको छ । थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत चालु आव २०८१/८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा १४.५५ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.३० प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्षको तुलनामा व्यापारजन्य वस्तुहरूको आयातमा भएको वृद्धि साथै कृषि तथा व्यापारजन्य वस्तुहरूको आन्तरिक उत्पादनमा आएको वृद्धिले यस क्षेत्रको मूल्य अभिवृद्धिमा सुधार हुने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ऋणात्मक (९–०.३६ प्रतिशत) रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ऋणात्मक (९–४.१० प्रतिशत) कायम भएको छ । यातायात तथा भण्डारण चालु आव २०८१/८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ७.२० प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ९.४५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्षको तुलनामा सवारी साधनको आयात तथा पर्यटकको आवागमनमा भएको वृद्धिले यस क्षेत्रको मूल्य अभिवृद्धि वृद्धि हुने अनुमान गरिएको छ । गत आव २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर १३.४३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आव २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर १.४५ प्रतिशत कायम भएको छ । आवास तथा भोजन सेवा चालु आव २०८१/८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा २.४६ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर पाँच प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । विदेशी तथा आन्तरिक पर्यटकहरूको आवागमनमा भएको वृद्धिले चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव हुने अनुमान गरिएको छ । गत आव २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर २१.०३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आव  २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर १८.०३ प्रतिशत कायम भएको छ । सूचना तथा सञ्चार चालु आव २०८१/८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा १.९४ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ४.८१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा कम्प्युटर प्रोग्रामिङ् तथा इन्फर्मेशन सर्भिससम्बन्धी क्रियाकलापमा भएको वृद्धि, इन्टरनेट सेवा प्रदायकको कारोबार तथा ताररहित सञ्चार सेवामा भएको वृद्धिको कारणले यस गत आर्थिक वर्ष क्षेत्रको कुल मूल्य अभिवृद्धिमा वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ । २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ४.९१ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ४.१५ प्रतिशत कायम भएको छ । घरजग्गा कारोबारको सेवा चालु आव २०८१/८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ८.२९ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर २.७२ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । घर जग्गाको कारोबारमा भएको सामान्य वृद्धि र निजी आवास तथा भाडाका क्रियाकलापमा भएको बढोत्तरीले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा सामान्य रूपमा बढ्ने प्रारम्भिक अनुमान गरिएको हो । गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर २.४३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर २.९१ प्रतिशत कायम भएको छ । पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलापचालु आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ०.९७ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । पछिल्लो समयमा विभिन्न प्राविधिक कार्यका लागि पेशागत संस्थासँग सेवा लिने प्रवृत्तिमा भएको बढोत्तरीले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा सामान्य बढ्ने प्रारम्भिक अनुमान गरिएको छ । गत आव २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ४.१५ प्रतिशत रहने संशोधित अनुमान गरिएको  । आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ३.९३ प्रतिशत कायम भएको छ । प्रशासनिक तथा सहयोगी सेवा चालु आव २०८१/८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ०.७२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.९७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । पछिल्लो समयमा विभिन्न प्रशासनिक सेवाका लागि सम्बन्धित संस्थाहरूसँग सेवा लिने प्रवृत्तिमा भएको वृद्धि, रोजगारी सेवा तथा पर्यटन आगमनमा भएको वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा बढ्ने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ४.०४ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ५.०३ प्रतिशत कायम भएको छ । सार्वजनिक प्रशासन तथा रक्षा चालु आव २०८१/८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ८.७२ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर २.२४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। तीन वटै तहका सरकारको सार्वजनिक प्रशासन तथा रक्षा अन्तर्गत गरेको खर्चमा भएको वृद्धिले यस क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर बढ्ने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ४.२७ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ५.४६ प्रतिशत कायम भएको छ । शिक्षा चालु आव २०८१/८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा ७.८७ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर १.९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । गत वर्षको तुलनामा चालु आव २०८१/८२ मा निजी शैक्षिक संस्थाका विद्यार्थी सङ्ख्यामा सामान्य कमी आएको भए तापनि सरकारी शैक्षिक संस्थाका विद्यार्थीको सङ्ख्यामा भएको बढोत्तरीसँगै यस क्षेत्रमा सरकारी खर्च बढेका कारण मूल्य अभिवृद्धिमा सामान्य वृद्धि हुने अनुमान गरिएको छ। गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर २.१५ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आव २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ३.९३ प्रतिशत कायम भएको छ । स्वास्थ्य तथा सामाजिक कार्य चालु आव २०८१/८२ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा १.९१ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ४.७७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा स्वास्थ्य सेवा लिनेहरूको सङ्ख्यामा भएको बढोत्तरीका कारणले यस क्षेत्रको मूल्य अभिवृद्धिमा वृद्धि हुने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ५.३१ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ६.५७ प्रतिशत कायम भएको छ । अन्य सेवाका क्रियाकलाप चालु आव २०८१/८२ मा यस क्षेत्रको कुल गार्हस्थ उत्पादनमा ०.७१ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.९२ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । तीन वटै तहका सरकारले सामुदायिक तथा सामाजिक क्षेत्रमा गरेको खर्चमा भएको वृद्धि तथा निजी क्षेत्रबाट सञ्चालित मनोरञ्जनात्मक तथा अन्य सेवामा भएको वृद्धिले यस क्षेत्रको उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । गत आव २०८०/८१ मा यस क्षेत्रको वृद्धिदर ४.२७ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ५.६४ प्रतिशत कायम भएको छ ।