स्वीफ्ट ह्याकिङको बीमा नेपालमा छैन, साइबर क्राइम इन्स्योरेन्स गराउन बीमा समिति तात्दै
काठमाडौं । एनआइसी एसिया बैंकको स्वीफ्ट सर्भर ह्याकिङ गरी ह्याकरले ठूलो रकम चोरी गरेको घट्नाले नेपालको बैकिङ क्षेत्रमा साइवर क्राइम जोखिमको महशुस भएको छ । तर यस्तो जोखिमको बीमा भने नेपालमा छैन । सबै बैंक तथा वित्तीय संस्थाले बैंकको ढुकुटीमा रहेको नगददेखि कर्जा लगानीको लागि लिएको धितोको समेत जोखिम न्यूनिकरण गर्न बीमा गरेका हुन्छन् । तर स्वीफ्ट ह्याकिङ लगायत साइबर क्राइमका जोखिमको बीमा नभएको नेपाल राष्ट्र बैंकका सह-प्रवक्ता राजेन्द्र पण्डित बताउँछन् । ‘नेपालमा अहिलेसम्म स्वीफ्ट ह्याकिङ जस्ता साइबर अपराध वापत हुने क्षतिको बीमा भएको छैन, अब भने हामीले पनि सोच्ने बेला भएको छ’, पण्डितले विकासन्युजसँग भने । एनआइसी एसिया बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले पनि स्वीफ्ट ह्याकिङबाट उत्पन्न जोखिमको इन्स्योरेन्स नभएको स्पष्ट पारे । ‘स्वीफ्ट ह्याकिङमा कर्मचारीको संलग्नता रहेछ भने त्यसलाई इन्स्योरेन्सले कभर गर्छ, कर्मचारीको संलग्नता नभएको अवस्थामा बीमा कभर हुँदैन’ उनले भने-‘विदेशमा साइबर क्राइमको बीमा गरिन्छ, तर नेपालमा साइभर क्राइम बीमा पोलिसी नै छैन ।’ साइबर क्राइम जोखिमको बीमा गर्न भारतीय कम्पनीहरुले नेपाली बैंकहरुलाई प्रस्ताव गरेको तर नेपालको बीमा नीतिसँग मेल नखाएपछि भारतीय बीमा कम्पनीहरुको प्रस्ताव बैंकहरुले स्वीकार गर्न नसकेको पाईएको छ । ‘साइवर क्राइम बीमाको प्रस्ताव भारतीय कम्पनीबाट आएको थियो तर नेपाली कम्पनीले नेपालको बीमा कम्पनीसँग मात्र बीमा गर्न पाउने नीति रहेछ । नेपाली कम्पनीसँग भने यस्तो बीमा प्रडक्ट रहेनछ’ एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने । बैंकिङ कारोबारमा हुने साइबर आक्रमणलाई अहिलेसम्म इन्स्योरेन्स पोलिसीमा नसमेटिएको बीमा समितिको कानुन विभागका प्रमुख साम्भराज लामिछानेले बताए । इन्स्योरेन्स कन्सल्टेन्ट एसके टमोटले विदेशमा साइबर अपराधबाट हुने वित्तीय नोक्सानीको पनि बीमा गर्ने चलन रहेपनि नेपालमा भने अझै त्यस्तो व्यवस्था नरहेको बताए । ‘परम्परागत बैकिङ प्रणालीमा हुने जोखिमको बीमा गर्ने अभ्यास छ तर आधुनिक प्रविधिको प्रयोग विस्तारसँगै साइबर अपराधबाट हुने जोखिमको बीमा गरिदैन’, टमोटले भने । बैंकहरुले आफ्नो ढुकुटीमा भएको नगद देखि एक ठाउँबाट अर्काे ठाउँमा नगद स्थान्तरण गर्दासम्म त्यसमा हुने जोखिमको बीमा गरेका हुन्छन् । तर डिजिटल कारोबारमा हुने जोखिम वा साइबर क्राइममा हुने जोखिमको बीमा गरिएको हुँदैन । डिजिटल कारोबारमा आएको वृद्धि र त्यसभित्र हुने जोखिमलाई ध्यान दिदै त्यस्ता जोखिमको बीमा गर्ने समय आएको टमोट बताउँछन् । त्यसका लागि बीमा समिति, बीमा कम्पनीहरु र पुर्नबीमा कम्पनीहरु मिलेर काम थाल्नु पर्ने उनले बताए । नेपाल बैंकिङ इन्स्टिच्युट(एनबिआइ)का प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले पनि नेपालको बैंकिङ कारोबार साइबर क्राइमको जोखिममा रहेकाले बीमा गराउनेबारे तत्काल ठोस कदम चाल्नुपर्ने बताए । ‘नेपालको मुद्रा परिवत्र्य (कन्भर्टिबल करेन्सी) होइन, त्यसकारण यहाँ बाह्य साइबर आक्रमणको जोखिम कम देखिन्छ, नत्र अहिलेसम्म ठूलै समस्या आइसक्थ्यो । अब भने हाम्रो प्रविधिलाई बलियो बनाउने र जोखिमको इन्स्योरेन्स गर्नेबारे ठोस कदम चाल्नुपर्छ’, एनबिआईका प्रमुख कार्यकारी अधिकृत सुब्बाले भने । उनले बैंकिङ क्षेत्रमा ठूलो जोखिम आउनुअघि समस्या समाधानका लागि सोच्नुपर्ने सुझाव पनि दिए । ‘यो नेपालको विश्वसनिय क्षेत्र हो, यसमा ठूलो जोखिम आउनु र विश्वसनियतामा प्रश्न उठ्नु अघि नै सम्भावित जोखिमको निदान गर्नुपर्छ’, सुब्बाले भने । तात्यो बीमा समिति एनआईसी एसिया बैंकमा स्वीफ्ट ह्याकिङ भएपछि त्यस्तो क्षतिको बीमा गराउनेबारे बीमा समितिले गृहकार्य अघि बढाएको छ । समितिले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर साइबर अपराध मार्फत वित्तीय क्षेत्रमा हुने क्षतिको बीमा गराउनेबारे छलफल गर्न लागेको हो । ‘समितिले बीमा कम्पनीका सिईओहरुलाई बोलाएर स्वीफ्ट ह्याकिङ जस्ता अपराधबाट वित्तीय क्षेत्रमा पुग्ने क्षतिको बीमा कसरी गराउन सकिन्छ, कसरी पोलिसी बनाउन सकिन्छ भनेर छलफल गर्न लागेको छ, केहि दिनभित्रै त्यस्तो छलफल आरम्भ हुन्छ’, समितिका कानुन विभागका प्रमुख लामिछानेले भने ।
सिद्धार्थ इन्स्योरेन्सले २० प्रतिशत बोनस पछि ३५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले ३५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले २० प्रतिशत बोनस सेयर पश्चात कायम हुने पुँजीमा सो मात्राको हकप्रद सेयर जारी गर्ने प्रस्ताव राखेको छ । उक्त सञ्चालक समितिको बैठकलाई इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । कम्पनीको सञ्चालक समितिको बैठक गत कात्तिक १ गते बसेको थियो । हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ४५ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ६४ करोड रुपैयाँ कायम हुने छ । उक्त कायम भएको पुँजीमा ३५ प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ८६ करोड ५९ लाख रुपैयाँ नाघ्ने छ ।
एलआईसीको ब्राण्ड एम्बासडरमा विमल घर्ती मगर
काठमाडौं । लाइफ इन्स्योरन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी ) ले ब्राण्ड एम्बासडरमा राष्ट्रिय फुटबल टिमका खेलाडी बिमल घर्ती मगरलाई नियुक्त गरेको छ । कम्पनीले सोमबार आयोजित कार्यक्रममा नयाँ ब्राण्ड एम्बासडर घर्ती मगरलाई लिएर बनाइएको विज्ञापन औपचारिक रुपमा सार्वजनिक गरेको छ । कार्यक्रममा बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले इलाम, दमक, इटहरी, नयाँ बानेश्वर, कलङ्की, बनेपा, नुवाकोट, बैतडी र पाल्पामा अनलाइन मार्फत ९ वटा शाखा कार्यलयको उद्घाटन गरेका छन् । कम्पनीको कुल ४३ शाखाहरु हुने भएका छन् ।