नेपाल लाइफको 'सेल्स ट्रान्सफर्मेसन सेसन' सम्पन्न : तेस्रो त्रैमासको समीक्षा र भावी रणनीति तय

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंमा आयोजित एकदिवसीय ‘सेल्स ट्रान्सफर्मेसन सेसन’ सम्पन्न गरेको छ । कार्यक्रममार्फत कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको व्यापार समीक्षा गर्दै बाँकी समयका लागि रणनीतिक योजना तय गरेको छ । सञ्चालक कमलेशकुमार अग्रवालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेलसहित कम्पनीका उच्च व्यवस्थापक र प्रादेशिक प्रमुखहरूको उपस्थिति थियो । कार्यक्रममा कम्पनीका सञ्चालक अग्रवालले जीवन बीमालाई ‘भविष्य सुरक्षित गर्ने आधार’ भन्दै यसको पहुँच आमनागरिकमा पुर्याउन सम्पूर्ण टिमलाई आह्वान गरे । प्रमुख कार्यकारी पराजुलीले कम्पनीको ऐतिहासिक उपलब्धिलाई मूर्तता दिन सेल्स टिमले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा डिजिटल सेवामार्फत अझ सहज सेवा प्रदान गरिने प्रतिबद्धता जनाए ।

स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउन बीमा बोर्डले गर्‍यो विभिन्न योजना सार्वजनिक

काठमाडौं ।  स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउन अनावश्यक खर्च कटौती तथा आम्दानी बढाउने गरी विभिन्न निर्णय गरेको छ ।  अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा बसेको बोर्ड बैठकले अनावश्यक परीक्षण गरेर बीमामा दाबी बढ्दा भुक्तानीमा समस्या देखिएको भन्दै त्यस्तो नगर्न र उपचार गर्दा प्रोटोकलअनुसार गर्ने व्यवस्था मिलाउन सहयोगका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पचात्रार गरेको छ ।  आधारभूत स्वास्थ्य उपचारका लागि दिने रकमका लागि समेत स्वास्थ्य बीमा कार्यक्रममा मागदाबी परेको भन्दै बोर्डले दोहोरोपना हटाउन सकिए दायित्व कम पर्ने निष्कर्षका साथ यसमा सघाउन मन्त्रालयमा अनुरोध गरेको बोर्डले जनाएको छ ।   बोर्डको अनुरोधपश्चात् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य उपचारको मापदण्ड पूर्ण कार्यान्वयन गर्न र दोहोरोपना हटाउनका लागि सुझाव कार्यदल गठन गरिसकेका छन् ।   बोर्डले नयाँ आम्दानीका स्रोतस्वरुप नेपालमा औषधि बिक्रीवितरण गर्ने सबै कम्पनीको खर्चको निश्चित प्रतिशत स्वास्थ्य बीमा कोषमा खर्च गर्न सकिने प्रस्ताव गरेको छ ।  यसका लागि पनि स्वास्थ्य मन्त्रालयलाई सहयोगका लागि बोर्डले पत्राचार गरेको कार्यकारी निर्देशक डा रघुराज काफ्लेले जानकारी दिए । यसैगरी, बोर्डले आम्दानी बढाउने उपायस्वरुप स्वास्थ्य बीमा चिठ्ठा कार्यक्रम सञ्चालनका लागि सरकारसँग अनुमति मागेको छ ।  स्वास्थ्यमन्त्री पौडेलले यसअघि सबै सङ्घीय अस्पताल विकास समितिको आम्दानीको एक प्रतिशत सोझै बीमा कोषमा जम्मा गर्ने निर्णयसमेत गरिसकेका छन् ।  

हिमालयन एभरेष्ट इन्स्योरेन्सले जित्यो, दोस्रो इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्टको उपाधि

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ‘दोस्रो इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्ट २०८२’ को उपाधी हात पारेको छ । प्रतियोगिताको फाइनल खेलमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीलाई पराजित गर्दै उपाधि हासिल गरेको हो । नयाँ वर्ष २०८२ को उपलक्ष्यमा सम्पन्न भएको अन्तर बीमा कम्पनी फुटसल प्रतियोगिता (दोस्रो इन्स्योरेन्स कप फुटसल टुर्नामेन्ट २०८२) बीमा दोकान प्रालिले आयोजना गरेको थियो । उक्त प्रतियोगितामा जीवन बीमा, निर्जीवन बीमा, माइक्रो बीमा र पुनर्बीमा कम्पनी गरी ११ वटा कम्पनीहरूको सहभागिता रहेको थियो । जसमध्ये फाईनल चरणमा पुगेका दुई कम्पनीहरू हिमालयन लाइफ र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी विच भएको फाईनल खेल निकै रोमाञ्चक भएको थियो ।  प्रतियोगिताको प्रमुख अतिथिका रुपमा रहेका एन्फाका महासचिव किरण राईद्वारा उद्घाटन गरिएको उक्त प्रतियोगिता २ दिनसम्म चलेको थियो । दोस्रो दिनको खेलमा प्रमुख अतिथि रहेका नेपाल बीमा प्राधिकरणका बीमालेख महाशाखा निर्देशक निर्मल अधिकारीले प्रतियोगितामा विजयी भएकाहरूलाई प्रमाणपत्र, सिल्ड, ट्रफि र नगद पुरस्कार प्रदान गरेका थिए । उपाधि विजेता हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले मेडल, सिल्ड र ३५ हजार रुपैयाँ नगद जित्न सफल भएको छ भने उपविजेता हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले मेडल, सिल्ड र १५ हजार नगद जित्न सफल भएको छ ।  'स्वास्थ्यका लागि खेल र बीमाका लागि सहकार्य' भन्ने मुल नाराका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजक बीमा दोकान प्रालिले जनाएको छ ।