नेशनल लाइफको ३७औं साधारणसभा सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३७औं वार्षिक साधारणसभा काठमाडौंको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । सभाले हाल कायम चुक्तापुँजीको आधारमा १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीका अनुसार नगद लाभांशस्वरूप ५२ करोड १२ लाख १३ हजार रुपैयाँ र बोनस सेयरस्वरूप २६ करोड ६ लाख रुपैयाँ वितरण गरिनेछ । साथै, लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.७८९४७३ प्रतिशतअनुसार ४ करोड ११ लाख ४८ हजार रुपैयाँ छुट्याउने प्रस्ताव पनि पारित गरिएको छ । हाल नेशनल लाइफको चुक्तापुँजी ५ अर्ब २१ करोड रुपैयाँ रहेको छ, भने बोनस सेयर वितरणपछि यो ५ अर्ब ४७ करोड रुपैयाँभन्दा माथि पुग्नेछ । सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, कम्पनी ऐन २०६३ बमोजिम आर्थिक वर्ष २०८०/८१ मा गरिएको खर्च अनुमोदन गर्ने, र नियामक निकायको निर्देशनअनुसार आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावसमेत पारित गरेको छ । साथै, सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना गरी ५ जना सञ्चालकको निर्वाचन पनि गरेको छ । यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरिएको छ ।

युनाइटेड अजोड इन्स्योरेन्सको १०.५२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स सञ्चालक समितिको असार ४ गते बसेको बैठकले १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेकाे हाे ।  इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद  गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेकाे हाे ।  कम्पनीले प्रस्ताव गरेकाे उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरूलाइ वितरणा गरिनेछ ।   

१०.५२ प्रतिशत लाभांश पारित गर्न एलआईसी नेपालले डाक्यो २३औँ वार्षिक साधारण सभा

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको असार ४ गते बसेको बैठकले खसार ३० गते बिहान १० बजे काठमाडौंमा २३औँ साधारण सभा डाकेको हो ।  कम्पनीको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ । बोनस वितरणपछि कायम हुन आउने दशमलवपछिको अंकलाई सम्बन्धित सेयरधनीको नाममा पछि समायोजन गर्ने गरि यथावत राख्नेछ ।  बोनस पश्चात हुने सेयर संरचनामा कम्पनीको अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि हुने भएकोले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीको आवश्यक दफाहरु संसोधन गर्नेछ ।  सभाले वार्षिक प्रतिवेदन २०८०/८१, लेखापरीक्षकको प्रतिवेदन र चालु आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्नेछ । साथै, सर्वसाधारण सेयरधनीतर्फबाट १ जना संचालकको निर्वाचन र संस्थापक सेयरधनीको तर्फबाट नियुक्त सञ्चालकलाई अनुमोदन गर्नेछ ।  लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले असार १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको सभामा सहभागीता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।