सन नेपाल लाइफको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज (असार ३ गते) अन्तिम दिन रहेको छ । बैशाख ३० गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा सेयरधनीहरुले आजसम्म आवेदन दिन सक्नेछन् ।  इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँको २७ प्रतिशत अर्थात् १ कित्ता बराबर नयाँ ०.२७ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो ।  कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद निष्काशनपश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ । कम्पनीको हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बैशाख ५ गते बुकक्लोज गरेको थियो । त्यसैले बैशाख ४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै कम्पनीको सेयरमा आवेदन दिन पाउनेछन् ।  इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । सेयरधनीहरूले बिक्री प्रबन्धकसँगै सन नेपाल लाइफको केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर एपबाट पनि आवेदन दिन सक्नेछन् । केयर रेटिङ्गस नेपालले इन्स्योरेन्सलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता औषत स्तरको रहेको संकेत गर्दछ ।

प्रभु महालक्ष्मी लाइफका आर्यन खान पाँचौं पटक एमडीआरटीमा छनोट

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका चीफ एजेन्सी म्यानेजर तथा प्रेसिडेन्स क्लब सदस्य आर्यन खानले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) २०२६ का लागि चयनमा पर्न सफल भएका छन् । यो उपलब्धि उनले पाँचौं पटक लगातार हासिल गरेका हुन् । यसका साथै, आर्यन खान प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका तर्फबाट एमडीआरटी २०२६ का लागि छनोट हुने पहिलो व्यक्ति बनेका छन् । उनले यसअघि नै एमडीआरटीको उच्च तह कर्ट अफ टेबल पनि २०२५ मै प्राप्त गरिसकेका थिए । एमडीआरटी विश्वभरका जीवन बीमा तथा वित्तीय सेवा क्षेत्रमा कार्यरत उत्कृष्ट पेशेवरहरूको संगठन हो, जसले व्यवसायिकता, निष्ठा, र सेवा समर्पणका आधारमा सदस्यता प्रदान गर्छ । आफ्नो सफलताबारे बोल्दै खानले भने, 'यो सफलता मेरो मात्र होइन, यो मेरो ग्राहक, टिम र हामीले बनाएको विश्वासको उपलब्धि हो। हरेक पोलिसीसँगै हामी केवल बीमा होइन, भविष्य बनाउँदैछौं। ' कम्पनीले आर्यन खानको यस उपलब्धिमा गर्व व्यक्त गर्दै आगामी लक्ष्य टप अफ द टेबल प्राप्त गर्न पनि पूर्ण साथ रहने प्रतिबद्धता जनाएको छ । आर्यन खान जीवन बीमा क्षेत्रका लागि मात्र होइन, भावी पुस्ताका बीमा व्यवसायीहरूका लागि पनि प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित हुँदै गएका छन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले विश्व रक्तदाता दिवसको अवसर पारेर गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।  रक्तदान कार्यक्रम हिमालयन एभरेष्ट इन्स्योरेन्सको मुख्य कार्यालय, बबरमहल, काठमाडौंमा भएको थियो । उक्त कार्यक्रममा कम्पनीका कर्मचारी, बीमित वर्ग, सेवाग्राहीहरू गरेर ३३ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा फ्रन्टलाइन अस्पतालले क्लिनिकल तथा चिकित्सकीय सहयोग उपलब्ध गराएको थियो । यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा निरन्तर सक्रियता रहने कम्पनीले जनाएको छ । उक्त अवसरमा सहभागी सबै रक्तदाताहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।