क्रेस्ट माइक्रो लाइफको ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकरण, बिहीबारदेखि कारोबार सुरु
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ । बुधबार कम्पनीको ७५ लाख कित्ता सेयर सूचीकृत भएको हो । सूचीकरण सम्पन्न भएसँगै बिहीबारदेखि दोस्रो बजारमा सेयर कारोबार सुरु हुने नेप्सेले जनाएको छ । यस अन्तर्गत, सर्वसाधारण लगानीकर्ताहरूलाई वितरण गरिएको २२ लाख ५० हजार कित्ता (३० प्रतिशत) र संस्थापक लगानीकर्ताहरूको ५२ लाख ५० हजार कित्ता (७० प्रतिशत) सेयर गरी कुल ७५ लाख कित्ता साधारण सेयर सूचीकरणमा समावेश गरिएको हो । कम्पनीले आफ्नो साधारण सेयर सार्वजनिक निष्कासन एनआइएमबि एस क्यापिटल लिमिटेडमार्फत खुला बिक्री गरेको थियो । सो निष्कासनमा वैदेशिक रोजगारमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरू समेत सहभागी भएका थिए ।
खल्तीबाट बीमाको आधारमा ई-कर्जा, घरमै बसेर ५० हजारसम्मको रकम प्राप्त गर्न सकिने
काठमाडौं । डिजिटल वालेट सेवा प्रदायक ‘खल्ती’ ले सूर्यज्योति लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्दै बीमाको आधारमा ई-कर्जा सुविधा सार्वजनिक गरेको छ । अब प्रयोगकर्ताहरूले बीमा पोलिसीका आधारमा बिना धितो, कागजी प्रक्रिया र लाइनमा नबसीकनै घरमै बसेर ५० हजार रुपैयाँसम्मको कर्जा ‘खल्ती’ खातामै प्राप्त गर्न सक्नेछन् । बिमा पोलिसीमा उल्लेखित मोबाइल नम्बर र ‘खल्ती’ खाताको नम्बर एउटै भएमा प्रयोगकर्ताले यो सुविधा उपयोग गर्न सक्नेछन् । सूर्यज्योति लाइफको प्रणाली खल्ती एपसँग प्रत्यक्ष जडान भएकाले ग्राहकको कर्जा योग्यताको मापन र प्रक्रिया सम्पूर्ण रूपमा एपमै हुने कम्पनीले जनाएको छ । ‘खल्ती’ का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, 'डिजिटल माध्यममार्फत वित्तीय पहुँचलाई सहज र सरल बनाउने उद्देश्यसहित यो नयाँ सेवा सुरु गरिएको हो । आकस्मिक वित्तीय आवश्यकताका बेला तुरुन्तै उपयोग गर्न सकिने यो सेवाबाट धेरै ग्राहक लाभान्वित हुनेमा हामी विश्वस्त छौं ।' यो सेवाले डिजिटल वित्तीय समावेशीकरणलाई थप प्रवर्द्धन गर्ने विश्वास ‘खल्ती’ र सूर्यज्योति लाइफ इन्स्योरेन्स दुबैले लिएका छन् ।
बीमा कम्पनीमा कर्मचारीको संख्या १९१ प्रतिशतले बढ्यो, पहुँच घट्यो
काठमाडौं । नेपालको बीमा क्षेत्रको विस्तारसँगै बीमा क्षेत्रले प्रदान गर्दै आइरहेको रोजगारीको संख्यामा पनि वृद्धि हुँदै गइरहेको छ । एक दशकमा बीमा क्षेत्रमा कार्यरत कर्मचारीको संख्या १९१ प्रतिशतले वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ मा बीमा कम्पनीमा काम गर्ने कर्मचारीको संख्या ४ हजार ३६ जना थियो । आव २०८०/८१ मा आइपुग्दा कर्मचारीको संख्या ७ हजार ७३३ अर्थात १९१ प्रतिशतले वृद्धि भएर ११ हजार ७६९ पुगेको छ । आव २०७६/७७ मा बीमा कम्पनीमा काम गर्ने प्रत्यक्ष कर्मचारीको संख्या ९ हजार ७५५ थियो । आव २०८०/८१ मा आइपुग्दा सो संख्या बढेर बढेर ११ हजार ७६९ पुगेको छ । आव २०७४/७५ सालतिर बीमा क्षेत्रले ७ हजार २०६ जनालाई रोजगारी दिँदै आएकोमा आव २०७५/७६ मा सो संख्या बढेर ९ हजार ४१० पुगेको देखिन्छ । जुन अघिल्लो आवको तुलनामा ३१ प्रतिशतले वृद्धि हो । आव २०७६/७७ मा बीमा कम्पनीमा काम गर्ने कर्मचारीको संख्यामा केही बढेको देखिन्छ । उक्त आवमा बीमा कम्पनीमा कार्यरत कर्मचारीको संख्या ९ हजार ७५५ पुगेको छ । आव २०७७/७८ मा बीमा कम्पनीमा कर्मचारीको संख्या बढेर ११ हजार २८ पुगेको छ । आव २०७८/७९ मा बीमा कम्पनीहरुले ११ हजार ९४३ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । बीमा कम्पनीमा निरन्तर वृद्धि हुँदै आएको कर्मचारीको संख्या आव २०७९/८० मा आइपुग्दा घटेको देखिन्छ । उक्त आवमा बीमा कम्पनीमा संलग्न प्रत्यक्ष कर्मचारी ११ हजार ४९६ मा झरेको छ । अघिल्लो आवको तुलनामा कर्मचारी संख्या ४.४५ प्रतिशतले घटेको छ । सञ्चालनमा रहेका जीवन बीमा, निर्जीवन बीमा र लघुबीमा गरी कुल ३७ बीमा कम्पनीले १२ हजारलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ । आव २०७२/७३ तिर बीमा कम्पनीहरूको संख्या ४० थियो । हाल मर्ज भएर ३७ मा झरेको हो । बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आव २०८१/८२ को फागुनसम्मको तथ्यांकअनुसार १२ हजार ९५ जनाले प्रत्यक्ष रोजगारी पाएको देखिन्छ । गत आवको तुलनामा यस चालु आवमा बीमा कम्पनीमा ५४० नयाँ कर्मचारी थपिएका छन् । गत आवको सोही अवधिमा ११ हजार ५५५ जना कर्मचारी थिए । बीमा कम्पनीमा कार्यरत कर्मचारीको अवस्था बीमा कम्पनीमा कार्यरत कर्मचारी चालु आवमा ५०० नयाँ कर्मचारी थपिए चालु आव २०८१/८२ को फागुनमसान्तसम्ममा बीमा कम्पनीहरूमा ५४० जना नयाँ कर्मचारी थपिएका छन् । फागुनसम्ममा बीमा कम्पनीहरुमा १२ हजार ९५ जनाले रोजगारी पाएका छन् । जुन संख्या गत आवको सोही अवधिको तुलनामा ४.६७ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा कम्पनीहरुमा मात्रै ६ हजार ७४ जना कर्मचारी आवद्ध छन् भने नीर्जीवन बीमा कम्पनीमा ६ हजार २१ जना कार्यरत छन् । माथि प्रस्तुत तथ्यांक बीमा बजारमा प्रत्यक्ष रोजगारी पाएका कर्मचारीहरू हुन् । अप्रत्यक्ष रूपमा बीमा कम्पनीहरूले यतिलाई रोजगार दिएको छ भन्ने यकिन तथ्यांक नभएपनि हजारौंलाई रोजगारी प्रदान गर्दै आइरहेको छ । तथ्यांक नै हेर्ने हो भने २०८०÷८१ अनुसार ३ लाख २९ हजार ५७२ जनाले बीमा कम्पनीहरूमा र बीमा अभिकर्ताको रूपमा अप्रत्यक्ष काम गदैै आएका छन् भने १ हजार २४८ बीमा सर्भेयरले रोजगारी पाएका छन् । ४४ प्रतिशत जनसंख्यामा पुग्यो दायरा ७० को दशकमा बीमाको दायरामा राम्रो वृद्धि भएपनि ८० को दशमा आएर दायरा बढ्न सकेको छैन । आर्थिक वर्ष २०७२÷७३ मा बीमाको दायरामा आएको जनसंख्या १० प्रतिशत हाराहारीमा थियो । आव आव २०७३÷७४ मा आइपुग्दा बीमाको दायरामा आएको जनसंख्या ११ प्रतिशतमा पुग्यो । आव २०७४/७५ मा बीमाको दायरा ३ प्रतिशतले बढेर १४ प्रतिशतमा पुगेको देखिन्छ । त्यस्तै, आव २०७५/७६ मा आइपुग्दा बीमाको दायरामा आएको जनसंख्या १७ प्रतिशत पुग्यो । आव ७६/७७ मा बीमाको दायरा २३ प्रतिशतमा पुग्यो । आर्थिक वर्ष २०७७/७८ मा आइपुग्दा बीमाको दायरामा आएको जनसंख्या २५ प्रतिशतमा पुगेको तथ्यांक छ । त्यस्तै, आव २०७८/७९ मा बीमाको दायरामा आएको जनसंख्या प्रतिशत ४१ प्रतिशतमा पुगेको थियो । आव २०७९/८० मा बीमाको दायरामा आएको जनसंख्याा ४४.२ पुग्यो । आव २०८०/८१ मा आइपुग्दा बीमाको दायरा ४३.२७ प्रतिशतमा सीमित छ । चालु आवमा आइपुग्दा कुल जनंख्याको ४४ प्रतिशतमा बीमाको दायरा पुगेको बीमा प्राधिकरणको तथ्यांक छ । यसरी तथ्यांक हेर्दा बीमा दायरा बढाउने गरी प्राधिकरणले नयाँ कदम चाल्नुपर्ने देखिन्छ ।