शीतलहरका कारण चिसो बढेपछि विद्यालयमा पठनपाठन स्थगित

सुदूरपश्चिम । लगातारको शीतलहरका कारण चिसो बढेपछि कैलालीको गौरीगङ्गा नगरपालिका कार्यालयले एक हप्ताका लागि नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ ।  नगरपालिका कार्यालयले जारी गरेको सूचनामा केही दिनदेखि अत्यधिक चिसो भई बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै विद्यालयको दैनिक पठनपाठन पनि प्रभावित भएकाले यही पुस २४ देखि आगामी माघ २ गतेसम्मका लागि बिदा दिइएको उल्लेख छ । बाक्लो हुस्सु र कुहिरोसँगै दिनहुँ चल्ने गरेको शीतलहरका कारण बढेको कठ्याङ्ग्रिने चिसोले कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । जाडोको सामना गरिरहेका अधिकांश सर्वसाधारणलाई आगो ताप्ने व्यवस्थाका लागि  धनगढी उपमहानगरपालिका र गौरीगङ्गा नगरपालिकासहितका पालिका तहहरूले केही दिनअघि दाउरा उपलब्ध गराएको थियो । शीतलहरका कारण धनगढीको अधिकतम तापक्रम र न्यूनतम तापक्रम घट्दै गएको छ । पहाडी क्षेत्रमा पारिलो घाम लाग्दा यतिबेला तराईका जिल्लालाई भने कुहिरो र हुस्सुले ढाकेको छ ।  शीतलहरले बढ्ने चिसोका कारण आलु, तोरीलगायतको हिँउदे बालीमा डढुवा रोगको समस्या देखिएको किसानले बताएका छन् ।  

कास्कीको विद्यालयमा कामना सेवा विकास बैंकको शैक्षिक सामग्री सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत कास्कीको अन्नपूर्ण–३, पाउँदुरस्थित श्री लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकका पोखरा क्षेत्र प्रमुख शिबकुमार ढकालले एक कार्यक्रमका बीच विद्यालयका प्रधानाध्यापक तारानाथ पौडेललाई स्टेसनरी तथा विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरे । सामग्री ग्रहण गर्दै प्रधानाध्यापक पौडेलले सामाजिक–आर्थिक रूपमा पिछडिएका, गरिब तथा विपन्न वर्गका विद्यार्थीहरूको शैक्षिक पहुँच अभिवृद्धिमा बैंकको सहयोगले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनले यस सहयोगले विद्यार्थीहरूको अध्ययनमा थप प्रेरणा मिल्ने पनि बताए । कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि सरोकारवालाहरूसँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द

महेन्द्रनगर । केही दिनयता अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि सोमबार कञ्चनपुरको तीनवटा पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन् ।  चिसो बढेर विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या हुन थालेपछि यहाँका लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाले विद्यालय बिदा गरेका हुन् । विशेषगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएको स्थानीयको भनाइ छ । चिसो बढेसँगै यहाँका पालिकाले सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन बन्द गराएका हुन् । यहाँको बेल्डाडी गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय सोमबारदेखि तीन दिनका लागि बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । त्यसैगरी, अत्यधिक जाडोका कारण विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गरी आगामी पुस २५ गतेसम्म जाडो बिदा गरिएको बेलौरी नगरपालिकाका प्रवक्ता हर्कबहादुर भुलले जानकारी दिए । यस्तै, लालझाडी गाउँपालिकाले पनि सोमबार सूचना जारी गरी विद्यालयको सञ्चित हिउँदे बिदाबाट कट्टा हुनेगरी मङ्गलबार र बुधबार गरी दुई दिन बिदा दिएको छ । लगातारको चिसोका कारण कञ्चनपुर सदरमुकाम महेन्द्रनगर र यहाँका सबै पालिकाको जनजीवन प्रभावित बनेको छ भने बजारक्षेत्रमा चहलपहल पनि घटेको छ ।