एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट नतिजा
काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुप (बीईजी) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज (बीपीसी) का विद्यार्थीहरूले एसीसीए जुन २०२६ परीक्षामा नेपाल र विश्वस्तरमै उत्कृष्ट नतिजा हासिल गरेका छन् । कलेजले गुणस्तरीय शिक्षण, अनुभवी शिक्षकको मार्गदर्शन र अन्तर्राष्ट्रियस्तरको सिकाइ वातावरणका कारण विद्यार्थीले उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ । कलेजका अनुसार यसपटक सहारा मगियाले पीएम विषयमा नेपाल प्रथम र विश्व आठौं, नेहा खतिवडाले एसबीएल विषयमा नेपाल प्रथम र विश्व १८औं तथा आशुतोष शर्माले एसबीआर विषयमा नेपाल प्रथम र विश्व ११औं स्थान हासिल गरेका छन् । त्यसैगरी आशास्वी कुमारी श्रेष्ठले एटीएक्स विषयमा नेपाल दोस्रो र विश्व १७औं, शेलिश्मा सिवाकोटीले पीएम विषयमा नेपाल तेस्रो र विश्व १३औं तथा राकेश साहले एसबीआर विषयमा नेपाल दोस्रो र विश्व १३औं स्थान हासिल गरेका छन् । यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै ब्रिटिश एजुकेशन ग्रुपका हेड अफ प्रोफेसनल एजुकेसन दिपेन्द्र के. श्रेष्ठले विद्यार्थीको सफलता उनीहरूको मेहनत, समर्पण र अनुभवी शिक्षकको निरन्तर मार्गदर्शनको परिणाम भएको बताए । उनले राष्ट्रिय सीमाभन्दा बाहिर विश्वस्तरमा समेत उत्कृष्ट नतिजा हासिल हुनु कलेजको शैक्षिक उत्कृष्टताको प्रमाण भएको उल्लेख गरे । कलेजले सेप्टेम्बर २०२६ इन्टेकका लागि एसीसीए कार्यक्रमको भर्ना खुला भएको पनि जनाएको छ । इच्छुक विद्यार्थीलाई ललितपुरको चाकुपाटस्थित कलेजमा सम्पर्क गरी निःशुल्क शैक्षिक परामर्श लिन र समयमै भर्ना सुनिश्चित गर्न आग्रह गरिएको छ ।
बिर्तामोडको आकाशमा उडे रकेट र चन्द्रयान, ४० लाखमा बन्याे एआई ल्याब
काठमाडौं । विमानस्थलको धावनमार्ग जस्तै गुञ्जायमान थियो विद्यालयको प्राङ्गण । आँखै अगाडि एकपछि अर्को गर्दै सरर्र उडेका हवाईजहाज, हेलिकप्टर, रकेट र चन्द्रयानको नमूना देखेर विद्यार्थीहरू एकाएक चकित परे । नहोस् पनि किन, किताबका पानामा मात्र सीमित हुने विज्ञान र प्रविधिको संसार सोमबार बिर्तामोड-१ स्थित ग्रीन फिल्ड वर्ल्ड स्कुलको प्राङ्ग्रणमै प्रत्यक्ष रूपमा देख्न पाइएको थियो । अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित भारतको एरोबे कम्पनीको प्राविधिक सहकार्यमा आयोजित सो विशेष हवाई प्रदर्शनीमा विद्यार्थी मात्र होइन, उपस्थित अभिभावक र स्थानीय पनि रोमाञ्चित बने । ‘एरोबे रोबोटिक्स’को प्रयोगात्मक अभ्यास अन्तर्गत आयोजना गरिएको यो प्रदर्शनीले सबैलाई आधुनिक प्रविधिको कौतुहल र सम्भावनासँग प्रत्यक्ष साक्षात्कार गराएको थियो । आकाशमा रकेट र चन्द्रयान उडाउनु केवल एक दिनको रमाइलो मात्र थिएन, विद्यालयले आफ्ना विद्यार्थीलाई प्रविधिको भविष्यसँग स्थायी रूपमा जोड्ने आधार तयार पारेको छ । प्रदर्शनीसँगै विद्यालय परिसरमा करिब ४० लाख रुपैयाँको लगानीमा निर्मित ‘एरोबे रोबोटिक्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ल्याब’ को औपचारिक उद्घाटन पनि गरियो । विद्यालयका संस्थापक अध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य गोपाल कुमार बस्नेत र पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालका वरिष्ठ फिजिसियन डा. शरद भट्टराईले विशेष समारोहबीच उक्त आधुनिक प्रयोगशालाको उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष गोपाल कुमार बस्नेतले आजको शिक्षा प्रणाली अब परम्परागत पाठ्यपुस्तकमा मात्र सीमित रहन नसक्ने स्पष्ट पारे । ‘भविष्यका चुनौतीसँग प्रतिस्पर्धा गर्न हाम्रा विद्यार्थीलाई सुरुदेखि नै सिर्जनशील, अनुसन्धानमुखी र प्रविधिमैत्री बनाउनु आजको आवश्यकता हो । अबका विद्यार्थीले केवल अरूले बनाएको प्रविधि प्रयोग गर्ने मात्र होइन, आफैं नयाँ प्रविधिको सिर्जना गर्ने क्षमता विकास गर्नुपर्छ । यो ल्याब उनीहरूको कल्पनाशक्तिलाई व्यवहारमा उतार्ने थलो बन्नेछ,’ उनले भने । डा शरद भट्टराईले आधुनिक शिक्षामा गरिएको यो दूरदर्शि लगानीले विद्यार्थीहरूको सिकाइ उपलब्धिमा गुणात्मक सुधार ल्याई भविष्यका चुनौतीहरूको सामना गर्न सक्षम बनाउने विश्वास व्यक्त गरे । विद्यालयले अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री शिक्षण वातावरण निर्माणमा देखाएको यो अग्रसरता प्रशंसनीय रहेको उनको भनाइ छ । विद्यालयका कार्यकारी निर्देशक आनन्द बस्नेतका अनुसार ल्याबमार्फत विद्यार्थीहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित शिक्षासँग प्रत्यक्ष जोड्दै अनुसन्धान र नवप्रवर्तनको क्षमता अभिवृद्धि गराइनेछ । ‘विश्वभर तीव्र रूपमा विकास भइरहेको रोबोटिक्स र एआईसम्बन्धी ज्ञान विद्यालय तहदेखि नै दिन पाउनु हाम्रा लागि गर्वको विषय हो,’ उनले भने । विद्यालयका कोअर्डिनेटर बर्नाट लामाले प्रयोगशालामा विद्यार्थीले रोबोट निर्माण, प्रोग्रामिङ, कोडिङ, डिजाइन थिंकिङ र स्वचालन प्रविधि जस्ता व्यावहारिक सीप सहज रूपमा सिक्ने जानकारी दिए । विद्यालयका सहायक प्रधानाध्यापक रोजीना कार्कीका अनुसार नेपालमा पहिलोपटक प्रतिष्ठित ‘एरोबे कम्पनी’ सँग सहकार्य गरेर यस प्रकारको आधुनिक ल्याब सञ्चालनमा ल्याइएको हाे । उनले विद्यार्थीहरूले विभिन्न तहअनुसार रोबोटिक्स, इलेक्ट्रोनिक्स र स्वचालित प्रणालीसम्बन्धी परियोजनामा सहभागी भई सृजनात्मक काम गर्ने क्षमता निखार्ने विश्वास व्यक्त गरिन् ।
विदेशी डिग्रीको समकक्षता अब यूजीसीमार्फत, अनलाइन आवेदन सुरु
काठमाडौं । विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले शैक्षिक उपाधिको समकक्षताका लागि अनलाईन आवेदन माग्न सुरु गरेको छ । विदेशी विश्वविद्यालय तथा सो सरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता वितरण गर्ने अधिकार पाएको आयोगले अनलाइन आवेदन लिन सुरु गरेको हो । यस अगाडि त्रिभुवन विश्वविद्यालयले वितरण गर्दै आएको समकक्षता उपाधि साउन एक गतेदेखि विश्वविद्यालय आयोगलाई दिइएको थियो । आयोगले तत्काल वितरण कार्य सुरु गर्न नसके पनि आवेदन भने लिन सुरु गरेको छ। आयोगका अनुसार समकक्षताका लागि आवश्यक पूर्वतयारी तथा प्राविधिक कार्य जारी रहेको छ भने समकक्षतासम्बन्धी सम्पूर्ण सेवा अनलाइन प्रणालीमार्फत उपलब्ध गराइने आयोगले जनाएको छ । आवेदकहरूले विश्वविद्यालय अनुदान आयोगको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । आयोगले आवश्यक कागजात, आवेदन प्रक्रिया तथा अन्य विस्तृत जानकारी सोही पोर्टलमा उपलब्ध गराइने उल्लेख गरेको छ ।