‘शिक्षकलाई निजामती सेवा सरह सुविधा दिनुपर्छ’
फाइल फोटो कर्णाली । ‘विद्यालय शिक्षा विधेयक- २०८०’ सम्बन्धी कर्णाली प्रदेशस्तरीय छलफलमा शिक्षकको सेवा सुविधा, सरुवा, बढुवा, विद्यालय व्यवस्थापन समितिको पदावधि, शैक्षिक नीति, पाठ्यक्रम, स्थानीय भाषा र उनीहरूको मर्यादाक्रम पनि ऐनमै व्यवस्था गर्न माग गरिएको छ । संघीय संसद्, प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘विद्यालय शिक्षा विधेयक– २०८०’ बारेमा प्रदेशस्थित सरोकारवालाको सहभागितामा सुझाव संकलन गरिएको हो । उक्त अन्तरक्रियामा जन नमूना मावि सुर्खेतका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले संविधानमा लेखिएका कुरा वस्तुगत र व्यावहारिक कार्यान्वयन गर्न माग गरे । उनले आधारभूत तह स्थानीय सरकार, मावि प्रदेश र त्यसभन्दा माथिको शिक्षाका विषयमा संघीय सरकारले अपनत्व लिनेगरी कानुन निर्माण गर्नसमेत सुझाए । अमरज्योति मावि नेवारका प्रधानाध्यापक खगेन्द्र थापाले शिक्षकलाई निजामती सरह सेवा, सुविधा र सम्मान दिनुपर्छ भने । बालविकास शिक्षा प्रतिनिधि गीता बटालाले ऐनमै बाल विकास सहयोग नभनी शिक्षक भनेर राख्नुपर्ने सुझाव दिए। संस्थागत विद्यालयका प्रतिनिधि नैनसिंह खत्रीले राज्यले व्यहोर्न सक्ने स्थिति भए अहिले पनि संस्थागत सबै विद्यालय राज्यको जिम्मा लगाउन तयार भएको जिकिर गरे । नेपाल शिक्षक संघ कर्णाली प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष मक्कबहादुर बुढा क्षेत्रीले दलहरूले शिक्षकलाई राजनीतिक सिकार बनाएको आरोप लगाए । गाउँपालिका राष्ट्रिय महासंघका तर्फबाट पूर्णप्रसाद धितालले संघीय शिक्षा नीतिमा टेकेर विद्यालय शिक्षाको गुणस्तर र मापदण्ड निर्माण हुनेगरी ऐन ल्याउन समितिलाई आग्रह गरे । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले संविधानमा व्यवस्था गरिएका कुरा कानुन निर्माण गर्दा प्रष्ट रूपमा आउनुपर्ने सुझाव दिए । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले शैक्षिक क्षेत्रमा खुला राजनीति हुने कामले शिक्षामा बेथिति देखिएको बताए । नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले शैक्षिक क्षेत्रमा देखिएका तमाम समस्या सम्बोधन गर्ने र आधुनिक सूचना र प्रविधिलाई आत्मसात् गर्दै अगाडि बढ्ने ऐन आउनेमा विश्वास रहेको बताए। कार्यक्रममा प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ५३ वर्षपछि पहिलो पटक यसरी शिक्षा विधेयकलाई छलफलमा ल्याइएको जिकिर गरे । उक्त अन्तरक्रियामा, प्रदेशसभा विषयगत समितिका पदाधिकारी तथा सदस्य, सचिव, सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखा, जिल्ला समन्वय समिति, नगरपालिका, गाउँपालिका राष्ट्रिय महासंघ, शिक्षक महासंघका प्रमुख, शिक्षा विकास निर्देशनालय, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ, संस्थागत विद्यालय र बाल विकास प्रतिनिधिको सहभागिता थियो । रासस
यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि हुने
काठमाडौं । यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईई परीक्षा चैत ७ गते बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । परीक्षा चैत १९ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले आज सूचना जारी गर्दै शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा चैत ७ गतबाट हुने जनाएको हो । परीक्षाको २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने कार्यलयले जनाएको छ ।
एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित, विदेशी पनि आउन थाले पढ्न
झापा । जिल्लामा चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरू भएपछि झापावासीले खुशी व्यक्त गरेका छन् । विर्तामोडको बिएन्डसी मेडिकल कलेजले यही पुस २६ गतेदेखि साविकको मेची अञ्चलमै पहिलोपल्ट ५० जना विद्यार्थीलाई एमबीबीएस तहमा पढाउन सुरू गरेको हो । काठमाडौं विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको स्वीकृति बमोजिम कलेजले ‘बेसिक साइन्स’ अध्यापनका लागि मेचीनगर- १२ धाइजनमा अलग्गै सुविधासम्पन्न भौतिक पूर्वाधार स्थापना गरेको छ । विर्तामोड–५ मा क्लिनिकल अध्यापनका निम्ति मेडिकल कलेज विगत १० वर्षदेखि सञ्चालनमा रहेको छ । प्रतिनिधिसभा सदस्य अमृतलाल राजबंशीले आफ्नै जिल्लामा डाक्टरको पढाइ सुरू हुनु झापावासीका लागि गर्वको विषय भएको बताए । ‘समाजमा पछाडि पारिएका आदिबासी, जनजाति, दलित र महिला समुदायलाई एमबीबीएस पढ्ने कोटा दिन सके अझ राम्रो हुन्थ्यो,’ उनले भने,’राजबंशी, सन्थाल, मेचे, धिमाल, ताजपुरियालगायत आदिवासी समुदाय प्राविधिक शिक्षाको पहुँचबाट टाढै छ ।’ नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाइँले खाडी मुलुकमा पसिना गालेर कमाएको पैसा छोराछोरीलाई डाक्टर र इञ्जिनीयर पढाउन अस्ट्रेलिया, यूरोप र अमेरिका पठाउनुपर्ने बाध्यता अब हट्ने भन्दै जिल्लामा मेडिकल शिक्षा सुरू भएकोमा खुसी व्यक्त गरे । उनले देशभित्रै पढ्न नपाउँदा बर्सेनि अर्बौ रकम विदेश गइरहेको जनाउँदै बिएन्डसी मेडिकल कलेजले अध्ययनको नाममा नेपाली पुँजीको विदेश पलायन रोक्न ठूलो सघाउ पुर्याउने विश्वास व्यक्त गरे । झापा अब मेडिकल हब बन्ने धारणा राख्दै उनी भन्छन्,’कलेजको नाफा र घाटा सञ्चालकको भए तापनि मेडिकल कलेज सम्पूर्ण झापावासीको साझा सम्पत्ति हो । हिजोका दिनहरूमा झापालीहरू डाक्टर पढ्न विदेश जान्थे, अब विदेशबाट झापा आउने क्रम सुरू भएको छ ।’ महिला मानवाधिकार रक्षा सञ्जाल झापाकी अध्यक्ष कविता बाँस्तोलाले छोरी बुहारीका लागि स्वास्थ्य विज्ञान विषयमा अध्ययन गर्न जिल्लामै सुनौलो अवसर आएको बताइन् । उनले विदेशमा डाक्टर पढ्न जाँदा सुरक्षाका लागि विवाह गर्नैपर्ने र परनिर्भर हुनैपर्ने बाध्यताबाट छोरीहरूले छुटकारा पाएको जनाउँदै जिल्लामै यस्तो अवसर सिर्जना हुनु लैङ्गिक दृष्टिकोणले सकारात्मक भएको बताइन् । ‘छोरीहरूले विदेश पढ्न जान सहज थिएन,’ उनी भन्छिन्,’पुरूष साथी खोज्नुपर्ने र कतिपय अवस्थामा विवाह गर्नैपर्ने बाध्यतात्मक अभ्यास थिए । अभिभावक पनि त्यस्तै चाहन्थे । तर, जिल्लामै एमबीबीएस पढ्ने अवसर पाउँदा ती तमाम समस्याको एकैचोटी समाधान भएको छ । जिल्लामै अभिभावकसँग बसेर पढ्न पाइने भएको छ ।’ नेकपा (माओवादी केन्द्र) का कोशी प्रदेश कमिटी सदस्य एवं झापा क्षेत्र नं १ का इञ्चार्ज प्रकाश भण्डारीले बिएन्डसी मेडिकल कलेजमा एमबीबीएस तहको पढाइ सुरू हुनु भनेको झापाको शैक्षिक इतिहासमा नयाँ युगको थालनी भएको बताए । ‘अझ धेरै अगाडि एमबीबीएसको पढाइ झापामा हुनुपथ्र्यो,’ उनले भने,’क्षमता भएका जिल्लाबासीका छोराछोरीले आफ्नै आँगनमा मेडिकल शिक्षा हासिल गर्नसक्ने अवस्था आउनु गौरवको विषय हो । विदेशमा मात्रै पढ्नुपर्ने बाध्यताको अन्त्य भएको छ । बङ्गलादेशमा गत वर्ष आन्दोलन हुँदा नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन सकस भएको हामीले भुल्नुहुँदैन । अब जिल्लामै पढ्न पाएपछि विदेशको अनेक जोखिम मोल्नु परेन ।’ नेपाल अडिटर्स एशोसिएशनका केन्द्रीय सचिव जयधर्म पोखरेलले बङ्गलादेशमा एउटा नेपालीले एमबीबीएस कोर्स पूरा गर्न रू एक करोड तिर्नु परिरहेको जनाउँदै बिएन्डसीले जिल्लामै पठनपाठन गराउँदा हरेक ब्याचमा रू ५० करोड पुँजी विदेश जानबाट रोकिने बताए । उनले दुई वर्ष अघि बिएन्डसी मेडिकल कलेजमा एमबीबीएस तहको पढाइ सञ्चालन हुनसकेको भए आफ्नो छोराले बङ्गलादेश जानुनपर्ने स्मरण गर्दै ढिलै भए पनि झापामा पढाइ हुँदा अभिभावकमा खुसीको माहौल छाएको बताए । उनी भन्छन्, ‘मेरो छोराले बाध्यताबस बङ्गलादेशमा पढ्न जानुपर्यो । हामी विदेशमा ठूलो धनराशी खर्चेर पढ्न जानुपर्ने अवस्थाको अन्त्य भएको हेर्न चाहन्थ्यौँ । झापामा एमबीबीएसको पढाइ अलि अगाडि नै सुरू हुनुपथ्र्यो ।’ विदेशीहरू पनि आउन थाले पढ्न यही पुस २६ गतेदेखि पठनपाठन सुरू भएको बिएन्डसी मेडिकल कलेजमा अध्ययनरत् ५० जनामध्ये ३४ जना नेपाली र १४ जना विदेशी विद्यार्थी छन् । स्वदेशी ३४ जनाध्ये पाँच जनाले नेपाल सरकारको नियमानुसार शतप्रतिशत निःशुल्क छात्रवृत्ति प्राप्त गरेको कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए । ‘पश्चिम बङ्गालको बागडोग्रा विमानस्थलबाट ३५ किलोमिटरको दूरीमा मेडिकल कलेज रहेको हुँदा भारतीय विद्यार्थीका लागि बिएन्डसी पहिलो रोजाइ बनेको पाइयो,’ जनसम्पर्क अधिकृत गिरीले भने, ‘हिजोका दिनमा नेपाली मेडिकल शिक्षा लिन विदेश जानुपर्ने बाध्यता थियो, अब विदेशीहरू धाएर नेपालमा आउन थाले ।’ आफ्नै जिल्लामा एमबीबीएस तहको पठनपाठन गराउने झापावासीको दशकौँं पुरानो चाहना बल्ल पूरा भएको जनाउँदै उनले मेडिकल कलेजका लागि विसं २०६८ मा सरकारबाट आशयपत्र पाउँदा र विसं २०७१ मा ३०० शय्याको अस्पताल सञ्चालन हुँदासमेत पठनपाठन सुरू हुन एक दशक कुर्नुपरेको बताए । सत्तरी जना प्रोफेसर कार्यरत बिएन्डसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा उमेश शर्माले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन पाएका ११ वटामध्ये बीएन्डसी कान्छो कलेज भएको स्मरण गर्दै पठनपाठन सुरू हुँदै गर्दा ७० जना प्रोफेसर (पूर्णकालीन फेकेल्टी) कार्यरत रहेको बताए । उनले पहिलो सत्रमै देशका राम्रो श्रेणीका विद्यार्थीले बिएन्डसी मेडिकल कलेज रोजेको जनाउँदै मेचीनगर–१२ स्थित साइन्स ब्लकमा एनाटोमी, फिजियोलोजी, बायो केमेस्ट्री, माइक्रो बाइलोजी, कम्युनिटी मेडिसिन, फर्माकोलोजीलगायतका सुविधासम्पन्न फेकेल्टीमा पठनपाठन भइरहेको बताए । ‘शान्त र सुविधासम्पन्न छ पढाउने भवन,’ प्राडा शर्माले भने, ‘बेसिक साइन्स भवनमा पाँच तला छन् । दुई वटा ठूला सेमिनार हल छन् । सात वटा डिपार्टमेन्टका अलग अलग कक्षा कोठाहरू छन् । अत्याधुनिक प्रयोगशाला र पुस्तकालय छ ।’ सबै विद्यार्थीलाई छात्रावास सुविधा र शैक्षिक वातावरण राम्रो रहेको उल्लेख गर्दै उहाँले झापामा बिएन्डसी अस्पतालको स्थापनापछि एक हजार जनाले प्रत्यक्ष रोजगार पाएको र अब कलेज सञ्चालन भएपछि अरू एक हजार रोजगारी सिर्जना हुने बताए । ‘भौतिक पूर्वाधार र शैक्षिक जनशक्तिका दृष्टिले बिएन्डसीले धेरै अगाडि मेडिकल कलेजको सम्बन्धन पाउनु पथ्र्यो,’ प्राडा शर्माले भने, ‘सुरूमै पढाइ हुन पाएको भए यतिखेर एक हजार जनाले एमबीबीएस उत्तीर्ण गरिसक्थे भने यहाँ पढ्नेहरू प्रोफेसर भइसक्थे ।’ झापाको आर्थिक विकासमा बिएन्डसी मेडिकल कलेज र हस्पिटलले ठूलो टेवा पुर्याएको र जिल्लालाई मेडिकल शिक्षा र मेडिकल टुरिज्मको हब बनाउने बाटो खुलाएको उहाँको धारणा छ । सर्वोच्च अदालतले विसं २०८० चैत १३ गते बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौँ युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो । रासस