त्रिभुवन विश्वविद्यालयबाट १४ हजार विद्यार्थी दीक्षित (तस्बिरहरू)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित ५०औँ दीक्षान्त समारोहमा विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरे । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका ९ हजार ६८, स्नातकोत्तर तहका ५ हजार ५५, एमफिलका ६३ र विद्यावारिधि (पिएचडी) का १२२ जना विद्यार्थी दीक्षित भएका छन् । त्रिभुवन विश्वविद्यालयबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षामा सर्वप्रथम भएका विद्यार्थीलाई विभिन्न पदकबाट पुरस्कृतसमेत गरिएको छ । यस वर्षको त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्णपदक व्यवस्थापन शङ्कायका हीरा श्रेष्ठलाई र श्री इन्द्रभक्त श्रेष्ठ स्वर्णपदक स्कुल अफ म्यानेजमेन्टका सुधा काफ्लेलाई प्रदान गरिएको छ । यसैगरी, अमृत पदक रसायनशास्त्र केन्द्रीय विभागका सुशील पोखरेललाई, मदन विद्या वातावरण विज्ञान पुरस्कार वातावरण विज्ञान केन्द्रीय विभागका रिकिता भण्डारीलाई, नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिं स्वर्णपदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार काठमाडौँ मोडल कलेजका रेविका भण्डारीलाई प्रदान गरिएको छ । नरेन्द्रमणि आचार्य दीक्षित पदक र डा मोहनप्रसाद लाखे स्वर्णपदक रत्नराज्यलक्ष्मी क्याम्पसका सुदीक्षा घिमिरेले पाएका छन् । शान्ति–नारायण मिश्र पदकबाट पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका सञ्जीवकुमार सिंह, डा दुबसु क्षेत्री स्वर्ण पदकबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका प्रतीकराज जोशी, इमिरेट्स प्रा डा रामप्रसाद चौधरी स्वर्ण पदकबाट वनस्पति शास्त्र केन्द्रीय विभागका श्रीणा क्षेत्री र नारायण शान्ति मिश्र पदकबाट पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका चेतना कुँवरबाछ पुरस्कृत भएका छन् । तारपद चौधरी पदक, खगेन्द्रमान सिं प्रधान पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार श्रीज्या काफ्लेले पाएका छन् । काफ्ले अर्थशास्त्र केन्द्रीय विभागको छात्रा हुनुहुन्छ । शील्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार शिक्षाशास्त्र केन्द्रीय विभागका सीताकुमारी श्रेष्ठले प्राप्त गरेका छन् ।
एसईईको आवेदन फारम खुला
काठमाडौं । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुलेको छ । कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयले फारम भर्न एक महिनाको समय दिएको छ । पुस १२ देखि माघ १२ गते भित्र फारम भरिसक्न कार्यालले भनेको छ । फारमका लागि प्रति परीक्षार्थी ५ सय दस्तुर लाग्ने छ । त्यसैगरी रजिस्ट्रेसनको अर्धकट्टीको प्रतिलिपि, शैक्षिकसत्र २०७९ वा सो भन्दा पहिले आधारभूत तह कक्षा उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र हालसाल खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो फारम भर्न चाहिने कार्यालयले जनाएको छ ।
नवौं संस्करणको ‘युवा वैज्ञानिक शिखर सम्मेलन’ २०२५ को तयारी अन्तिम चरणमा
काठमाडौं । नवौं संस्करणको युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ । आइयूपीएसीअन्तर्गत नेपालको आधिकारीक संस्था नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब माध्यमिक विद्यालयको संयुक्त आयोजनामा हुने सम्मेलनमा हालसम्म ४२ विद्यालयका ७७ वटा परियोजना दर्ता भइसकेका छन् । सम्मेलनमा कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको सहभागिता सुनिश्चित भएको छ । पुसको १२ र १३ गते काठमाडौंको कमलादीस्थित यूनिग्लोब कलेजमा आयोजना हुने सम्मेलनमा आईआईटी गुवाहाटीका प्रतिष्ठित प्राध्यापक तथा सेन्टर फर सस्टेनेबल पोलिमरका निर्देशक प्रा. डा. विमल कटियार मुख्य वक्ताको रुपमा रहने आयोजकले जनाएको छ । सम्मेलनमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत देशभरीका युवा वैज्ञानिक र अनुसन्धानकर्ताहरुले विभिन्न ५ विद्यामा आफ्ना अनुसन्धान परियोजना प्रस्तुत गर्नेछन् । जसमा जीव विज्ञान, रासायनिक र पर्यावरण विज्ञान, भौतिक विज्ञान, गणित, इन्जिनियरिङ र रोबोटिक्स, कम्प्यूटर विज्ञान र कृत्रिम बाैद्धिकता, स्वदेशी ज्ञान र स्थानीय प्रविधि जस्ता विषय समावेश रहेका छन् । प्रत्येक विधामा उत्कृष्ट परियोजनालाई ‘युवा वैज्ञानिक’ उपाधिले सम्मानित गरिनुको साथै सिङ्गापुरमा आयोजना हुने १४औं एसिया प्यासिफिक कन्फेरेन्समा सहभागिता जनाउनको लागि आवेदन दिन योग्य मानिनेछ । यसबाहेक छानिएका युवा वैज्ञानिकहरूले नेपाल पोलिमर इन्स्टिच्युटको राष्ट्रिय अनुसन्धान समितिको सहयोग र वैज्ञानिक मार्गदर्शनमा वैज्ञानिक समुदायमा आफ्नो क्षमता विस्तार गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुसन्धान र नेटवर्किङमा पहुँच प्राप्त गर्न सक्नेछन्।