नेशनल प्याब्सनको अध्यक्षमा पाण्डव हमाल

काठमाडाैं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को सातौँ केन्द्रीय महाधिवेशनलले पाण्डव हमाल ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । शिक्षा क्षेत्रमा गत २४ वर्षदेखि कार्यरत सिरहा निवासी हमाल लाहान मेरिचिल्ड्रेन एकेडेमीको संस्थापक प्रिन्सिपल तथा सल्लाहकार थिए । बाँकेको नेपालगन्जमा सोमबार सम्पन्न महाधिवेशनले सहअध्यक्षमा सुवास न्यौपाने, उपाध्यक्षमा प्रबोद प्रभाकर रिजाल, यमबहादुर खडका, शम्भु अधिकारी, श्यामसिङ मौनी, जयबहादुर श्रेष्ठ, ब्रजेन्द्र मिश्रा, डम्बर कार्की, तिलक चौहान, सुबोद डाँगी, कमलकुमार सिङ, महासचिवमा पारसमणि दाहाल, उपमहासचिवमा कुसुम रानाभाट, प्रकाश खडका, कोषाध्यक्षमा प्रताप थापा र सहकोषाध्यक्षमा विक्रम ढुकुछु चयन भएका छन् । सुुदूरपश्चिबाट धर्मराज रेग्मी–केन्द्रीय सचिव, सत्येसबहादुर चन्द, दिपक भट्ट, तेजराज खनाल (केन्द्रीय सदस्य) लगायत ५७ जना केन्द्रीय समितिमा चयन भएको जनाइएको छ ।

सेयर बजारबारे जानकारी दिन मल्पी इन्टरनेशनल कलेजले सुरु गर्यो बुटक्याम्प

काठमाडौं । मल्पी इन्टरनेशनल कलेजको लगानी साक्षरता सम्बन्धि बुटक्याम्प सुरु भएको छ । फागुन २७ गतेसम्म संचालन हुने उक्त बुटक्याम्प कलेजको सेन्टर फर फाइनान्स, बैंकिङ एण्ड इन्स्योरेन्सले आयोजना गरेको हो । बुटक्याम्पमा नेपाल स्टक एक्सचेन्जमा लगानी गर्न जान्न आवश्यक पर्ने सबै आधारभूत कुराहरु सिकाइने कलेजले जानकारी दिएको छ । लगानी साक्षरता बुटक्याम्पको अवधिभरि एनआइबिएल एस क्यापिटल लिमिटेड, अनलाइन सेक्युरिटिज, एसएमटीएम क्यापिटलका विशेषज्ञका साथै लगानीकर्ता दिलिप कुमार मुन्नाकर्मी पनि हुने बताइएको छ । लगानी साक्षरता बुटक्याम्प सबैका लागि निस्शुल्क रहेको र बुटक्याम्पको सम्पूर्ण सत्र पूरा गरेपछि उपस्थित हुने सबैलाई प्रमाणपत्र वितरण गरिने कलेजले जनाएको छ ।

संघीय निजामती सेवा ऐन यथाशीघ्र जारी हुन्छ: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गर्ने र कर्मचारी समायोजनको क्रममा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाली कांग्रेस निकट नेपाल कर्मचारी युनियनको अधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उक्त प्रतिबद्धता जनाएका हुन् । उनले भने, ‘संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गरी निजामती सेवालाई व्यवस्थित गर्न सरकार क्रियाशील रहेको छ ।’ प्रधानमन्त्री देउवाले मुलुक संघीय संरचनामा गएपछि कर्मचारी समायोजन गर्दा देखिएका समस्या पनि समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।