एक सयमा पढाउने विद्यालय भवनको शिलान्यास

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–४ मा समता शिक्षा निकेतन माविको २० कोठाको नयाँ विद्यालय भवन निर्माण हुने भएको छ । ७० लाखको लागतमा निर्माण सम्पन्न हुन गइरहेको उक्त विद्यालय भवन आगामी एक वर्षभित्रमा तयार गरिने भएको छ । विद्यालय भवन निर्माणका लागि हास्य कलाकार किरण केसीले व्यक्तिगत एक लाख पाँच हजार पाँच सय र सांस्कृतिक कार्यक्रममार्फत २० लाख उपलब्ध गराउने कार्यक्रममार्फत घोषणा गरेका छन् । विद्यालय भवन निर्माणका लागि विराजविक्रम सिलवालले २० वर्षका लागि चार रोपनी जग्गा उपलब्ध गराएपछि विद्यालय भवन बन्ने पक्का भएको हो । यसअघि उक्त विद्यालय ललितपुर महानगरपालिका–१७ मा सञ्चालनमा थियो । पन्ध्र वर्षका लागि उपलब्ध गराइएको जमिनको सम्झौता सकिएपछि विद्यालय अर्काे वडामा स्थानान्तरण गर्नुपरेको समता शिक्षा निकेतन गुठीका निर्देशक दीपक सञ्जेलले जानकारी दिए । नयाँ निर्माण हुने विद्यालय भवनको आज महालक्ष्मीका नगरप्रमुख रामेश्वर श्रेष्ठ, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वसभापति जीवा लामिछाने, वरिष्ठ कलाकार हरिवंश आचार्य र नेपाल सरकारका पूर्वमुख्य सचिव तीर्थमान शाक्यले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । समता शिक्षा निकेतन गुठीले विगत २१ वर्षदेखि देशका सबै जिल्लामा मासिक रु १०० मा अङ्ग्रेजी माध्यममा विद्यार्थीलाई पढाउँदै आएको छ । हाल ७७ जिल्लाका ८० स्थानमा समता शिक्षा निकेतन स्कुल सञ्चालनमा छन् । हाल ४० हजार ३२१ विद्यार्थी समताको विद्यालयमा पढ्छन् । समताको स्याङ्जा र गोर्खामा आफ्नै निजी भवन छ । अन्य जिल्लामा दाताले उपलब्ध गराएको जमिनमा कच्चा टहरा बनाइ समताले विद्यालय सञ्चालन गर्दे आएको छ । हाल सार्क मुलुकअन्तर्गत भारतको बिहार, श्रीलङ्काको अनुराधापुर, बङ्गलादेशको ढाका र बर्मामा समता गुठीले विद्यालय स्थापना गरी पठनपाठनको कार्यअघि बढाउँदै आएको छ । नेपालमा झण्डै १६ हजार शिक्षक समताले सञ्चालन गरेको विद्यालयमा पढाउने गर्छन् । समताले रु १०० मा जोरपाटीमा अस्पतालसमेत सञ्चालनमा ल्याएको छ । समता शिक्षा निकेतन गुठीका संस्थापकमा उत्तम सञ्जेल छन् भने संरक्षकका वरिष्ठ कलाकारद्वय श्रेष्ठ र आचार्य छन् । रासस

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह स्थगित

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह स्थगित गरिएको छ । यही चैत १६ गतेका लागि निर्धारित दीक्षान्त समारोह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका रजिष्ट्रार प्राडा. नारायणप्रसाद पौडेलले दीक्षान्त समारोह स्थगित भएको जानकारी दिए । विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह २०७४ साल असारमा सम्पन्न भएको थियो । यसयता विश्वविद्यालयले दीक्षान्त समारोह सञ्चालन गर्न सकेको छैन ।

वित्तीय क्विज प्रतियोगिता शनिबार हुने

काठमाडौं । प्रभु क्यापिटलको आयोजनामा यही शनीबार अन्तर कलेज वित्तीय क्विज प्रतियोगिता-२०२२ आयोजना हुने भएको छ । विश्व वित्तिय सप्ताहअन्तर्गत प्रभु क्यापिटल लिमिटेडले पहिलो पटक वित्तीय क्विज प्रतियोगिता आयोजना गर्ने भएको हो । क्यापिटलले काठमाडौं उपत्यकाभित्र रहेका १५ वटा विजनेश कलेजहरूमा अध्ययनरत बिबिए तथा एमबिए तहका विद्यार्थीहरूलाई प्रतियोगितामा सहभागी गराउने तयारी गरेको छ । क्विज प्रतियोगिता यही चैत्र १२ गते शनिबार बिहान १० बजेबाट सिंहदरबार प्लाजास्थित स्काई दरबार ब्यांकेटमा आयोजना हुनेछ । प्रतियोगितामा प्रथम हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई २० हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिनेछ । त्यस्तै दोस्रो हुने कलेजलाई शिल्ड प्रमाणपत्र पत्रका साथै सहभागी विद्यार्थीहरुलाई १० हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिनेछ । तेस्रो हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई ५ हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिनेछ । यसका साथै प्रतियोगितामा सहभागी सबै प्रतियोगी विद्यार्थीहरुलाई प्रभु क्यापिटलमा डिम्याट खाता खोल्दा २ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन प्रदान गरिने प्रभु क्यापिटलले जनाएको छ ।