जुम्लाकाे दुई स्थानीय तहले छात्रवृत्तिमा एमबिबिएस पढाउने
जुम्ला । जुम्लाका दुई पालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने भएका छन् । यहाँको चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाले एमबिबिएस पढ्ने एक/एक विद्यार्थीलाई आफ्नै खर्चमा एमबिबिएस पढाउने निर्णय गरेका हुन् । पहिलो र दोस्रो कोभिड–१९ महामारीले निकै प्रभावित भएपछि चिकित्सकको अभाव कम यो कार्यक्रम ल्याइएको बताइएको छ । पातारासी गाउँपालिकाले एक जना विद्यार्थीलाई छात्रवृत्तिमा एमबिबिएस पढाउने भएको छ । गाउँपालिकाले सातौं गाउँसभामा एमबिबिएस छात्रवृत्तिमा पढाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । ‘शिक्षा, स्वास्थ्य, विद्युत्, सञ्चार र रोजगार हाम्रो सरोकार र कृषि, जडीबुटी, पर्यटन समृद्ध पालिका निर्माणको मूल आधार’ भन्ने मूल नारासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । पातारासी गाउँपालिका स्वास्थ्य संयोजक रतन बुढ्थापाका अनुसार गाउँपालिकामा एमबिबिएस पढेका एक जना व्यक्ति पनि छैनन् । छात्रवृत्तिमा भएपनि एमबिबिएस पढाउनुपर्छ भन्ने पाठ कोभिड महामारीले नै सिकाएको प्रमुख प्रशासनिक अधिकृत टेकबहादुर बुढथापाले बताए । ‘गाउँपालिकाले एमबिबिएस पढ्ने एक जनाको सम्पूर्ण खर्च व्यवस्था गर्ने नीति ल्याएको छ । पातारासीमा अहिलेसम्म एमबिबिएस अध्ययन गरेको कोही नभएकाले प्रोत्साहन गर्नका लागि यस्तो नीति लिएका हौँ’, उनले भने । जिल्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिकाले पनि स्वास्थ्य र सामाजिक विकासलाई प्रथामिकता दिएर नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । हालै नेपाल सरकार चिकित्सा शिक्षा आयोगले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई २० सिट एमबिबिएस अध्ययन अध्यापनको अनुमति पाएसँगै जुम्लाका स्थानीय तहले नीति तथा कार्यक्रममा यो विषयलाई महत्व दिएका छन् । नगर प्रमुख कान्तिका सेजुवालका अनुसार एमबिबिएस पढ्ने विद्यार्थीलाई विशेष छात्रवृत्ति उपलब्ध गराउने नीति तथा कार्यक्रममा समेटिएको छ । उनले भने, ‘विपन्न, मेहनत जेहन्दार एकजना विद्यार्थीलाई छात्रवृति उपलब्ध गराउने नीति तथा कार्यक्रममा समेटेका छौँ ।’ रासस
ताप्लेजुङकाे मेरिङदेन गाउँपालिकाले इन्जीनियरिङ अध्ययनका लागि छात्रवृत्ति दिने
ताप्लेजुङ । जिल्लाको मेरिङदेन गाउँपालिकाले हाइड्रोपावर इन्जीनियरिङ अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि गाउँपालिका क्षेत्रभित्रका एक छात्र र एक छात्रालाई उक्त अध्ययनका लागि छात्रवृत्ति दिने भएको हो । बुधबार सार्वजानिक भएको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा फुङलिङ नगरपालिकास्थित बाल सुबोधिनी संस्कृत माध्यामिक विद्यालयमा दुई जना विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गरिने उल्लेख छ । यसैबीच १६ वर्षमुनिका असहाय बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याई विद्यालय भर्ना दर सत प्रतिशत पु¥याउनका लागि विशेष शैक्षिक प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने भएको छ । सोअन्तर्गत प्रतिव्यक्ति मासिक ५०० का दरले उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । यस्तै अनौपचारिक शिक्षामार्फत गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिनेसमेत नीति तथा कार्यक्रममा उल्लेख छ । स्थानीय भाषा, लिपि तथा संस्कृतिको संरक्षणका लागि स्थानीय मातृ भाषाको पठनपाठनलाई निरन्तरता दिने र स्थानीय भाषा स्वयंसेवक शिक्षकले पाउँदै आएको पारिश्रमिकमा रु तीन हजार थप गरिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४१ करोड १६ लाख ४९ हजारको बजेट ल्याएको छ ।
सामुदायिक विद्यालयका प्राचार्यले थप १ हजार रुपैयाँ तलब पाउने
फाइल फाेटाे काठमाडौं । काठमाडौं महानगरले सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई थप एक हजार रुपैयाँ तलब उपलब्ध गराउने भएको छ । बिहीबार महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले नेपाल सरकारले दिएको सेवासुविधामा महानगरले मासिक रुपमा उक्त रकम थप गर्ने जनाएका हुन । ‘महानगरपालिका क्षेत्रभित्रका सबै विद्यालयहरूमा पूर्व प्राथमिक तहदेखि कक्षा ८ सम्म स्थानीय विषयको रूपमा नेपाल भाषाको पाठ्यक्रम अनुरूप पठनपाठन कार्यलाई निरन्तरता दिइनेछ । नेपाल भाषाको विकास र प्रवद्र्धनका लागि नेपाल भाषा प्रवद्र्धन समितिमार्फत कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइने छ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई जिम्मेवार एवं थप उत्प्रेरित गराउन नेपाल सरकारले प्रदान गर्दै आएको मासिक सुविधाको अतिरिक्त प्रोत्साहन स्वरुप मासिक रु. १००० उपलब्ध गरिनेछ । ’ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा महानगरपालिका क्षेत्रभित्रका सबै विद्यालयहरूको गुणस्तर सुधार गरी समयानुकुल बनाउन शिक्षाविद् तथा संस्कृतिविद् सम्मिलित एकीकृत शिक्षा व्यवस्थापन योजना तर्जुमा समिति गठन गरी शिक्षा योजना तर्जुमा गर्ने नीति लिएको छ । त्यसैगरी महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा ‘एक वडा एक नमूना विद्यालय कार्यक्रम’ अघि सारेको छ । जस अन्तर्गत छनौट भएका ३२ नमुना विद्यालयहरूलाई नमुना सिकाई केन्द्र र तालिम हवका रूपमा विकास गरिने उल्लेख छ । ‘महानगर क्षेत्रभित्र प्रत्येक वडामा कम्तिमा एउटा सुविधा सम्पन्न एवं उच्च प्रविधियुक्त पुस्तकालयको स्थापना गरी पुस्तकालयको प्रयोगमा सबैको पहुंच सुनिश्चित गरिनेछ,’ नीतिमा भनिएको छ, ‘महानगर भित्रका प्रत्येक विद्यालयमा कक्षा ४ देखि नैतिक शिक्षालाई समावेश गरी पठनपाठन प्रारम्भ गरिनेछ ।’