सङ्क्रमणको जाखिम बढ्यो तर लमजुङकाे ५ तहमा परीक्षा रोकिएन

लमजुङ । सङ्घीय सरकार र जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ को जोखिमका कारण शैक्षिक संस्था बन्द गर्न दिएको निर्देशनलाई यहाँका केही पालिकाले पालना गरेका छैनन् । केही विद्यालयले जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेका बेला पनि सङ्क्रमणलाई बेवास्ता गर्दै धमाधम परीक्षा सञ्चालन गरिरहेका छन् । जिल्लाका स्थानीय तहले अटेर गर्दा विद्यार्थी सङ्क्रमणको उच्च जोखिममा परेका बताइएको छ । कोरोनाकै कारण राइनास नगरपालिका– ७ गरमबेसीका ३९ वर्षीया एक महिलाको मृत्यु समेत भइसकेको छ । सङ्क्रमणमा वृद्धि हुन थालेपछि जिप्रकाले एक विज्ञप्ति निकालेर विद्यालयहरू बन्द गर्न निर्देश गरेपनि जिल्लाका सरकारी तथा नीजि विद्यालयले धमाधम परीक्षा सञ्चालन गरिरहेका छन् । जिल्लाका विद्यालयमा त सुरक्षा मापदण्ड नै पालना छ, न त वास्ता नै छ । बेँसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले भने, ‘पालिकाका विद्यालयमा धमाधम परीक्षा चलिरहेकाले सबै विद्यालयको परीक्षा सम्पन्न भएपछि मात्र विद्यालय बन्द गर्नेछौ ।’ केहीदिन अघि मात्र बेँसीशहरमा रहेको जनविकास माध्यमिक विद्यालयका ३० वर्षीया शिक्षिकालाई कोरोना पोजिटिभ देखिएको छ । शिक्षिकामा कोरोना देखिए पनि विद्यालयका शिक्षक र विद्यार्थीको भने कन्ट्रयाक्ट ट्रेसिङ नभएको बताइएको छ । सो विद्यालयमा समेत धमाधम परीक्षा सञ्चालन भइरहेको छ । विद्यार्थी सङक्रमणको जोखिम महशुस गर्दै डराइ डराइ हतार हतारमा परीक्षा दिँदै घर फर्किने गरेका बताइएको छ । जिल्लामा आठ स्थानीय तह रहेको छ । तीमध्ये दुधपोखरी, क्व्होलासोथर गाउँपालिका र मध्यनेपाल नगरपालिकाले सबै विद्यालय बन्द गरेपनि अन्य पाँच तहले वार्षिक परीक्षा सञ्चालन गरिरहेका छन् । जिल्लाका बेँसीशहर, सुन्दरबजार, राइनास नगरपालिका र दोर्दी, मस्र्याङ्दी गाउँपालिकाले धमाधम सङ्घीय सरकार तथा प्रशासनको निर्देशनको पालना नगर्दै परीक्षा सञ्चालन गरिरहेका छन् । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जिल्लाको विद्यालय तथा परीक्षा बन्द गर्न डिसिसिएमसीको बैठकले निर्णय गरेको जानकारी दिए । उनले भने, ‘हामीले सबै पालिका प्रमुखहरुलाई राखेर पनि विद्यालय बन्द गर्न निर्देशन दिएका थियौँ । उहाँहरुले पालना नगरी कोरोना सङक्रमणको जोखिमका बीच धमाधम परीक्षा सञ्चाालन गरिरहनुभएको छ ।’ विद्यालय व्यवस्थापन सम्बन्धी सम्पूर्ण अधिकार स्थानीय तहलाई भएकाले प्रशासनले अनुगमन मात्र गर्न सक्ने उनको भनाइ छ । जिल्लामा दैनिक ११ देखि २४ जनासम्ममा कोरोना पुष्टि हुन थालेको छ । रासस

काेराेना संक्रमण बढेपछि लालबन्दी नगरपालिकाका सबै विद्यालय बन्द

काठमाडौं । प्रदेश २ को सर्लाही जिल्लामा पर्ने लालबन्दी नगरपालिकाले कोरोना संक्रमण दर बढ्न थालेपछि पालिकाभित्रका सबै पठनपाठन स्थगित गरेको छ । पालिकाले सोमबार एक सूचना जारी गर्दै १४ गते मंगलबारबाट विद्यालयहरू बन्द गर्न निर्देशन दिएको हाे अर्काे सूचना जारी नभएसम्म वैकल्पिक माध्यमबाट पठनपाठन गराउनको लागि विद्यालयहरूलाई पालिकाले निर्देशन दिएको छ । पछिल्लो समयमा संक्रमण तीव्र रुपमा बढेर गुणात्मक रूपमै उकालो लागेकाले विद्यार्थीहरुमा संक्रमण बढ्ने जोखिम उच्च भएको कारण विद्यालयहरू बन्द गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत सुदर्शन श्रेष्ठले जानकारी दिए । हाल पलिकाको सबैभन्दा बढि असर शैक्षिक क्षेत्रमा पुर्याएको पनि श्रेष्ठले बताए । नागरिकहरूले स्वास्थ्य मापदण्ड अप्नाई भिडभाड कम गर्न पनि नगरपालिकाले अपिल गरेको छ । पालिकाले स्वास्थ्यकर्मीहरूलाई पनि अनावश्यक बिदामा नबस्नको लागि आग्रह गरेको छ ।

बागलुङमा भुकम्पले भत्किएका १७९ विद्यालय भवन पुनःनिर्माण

गलकाेट । बागलुङमा भुकम्पले भत्काएका १७९ विद्यालय भवन ठडिएका छन् । बागलुङमा हाल सम्म १७९ विद्यालय भवनको पुनःनिर्माण भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालय बागलुङले जनाएको छ । भूकम्प गएको छ वर्ष बितिसक्दा विद्यालय पुनःनिर्माणले अन्तिम रुप लिन थालेको छ । विसं २०७२ को भूकम्पबाट क्षति पुगेका विद्यालय भवन ठडिएका छन् । बागलुङमा भूकम्पले भत्काएका करिब सबै विद्यालय पुनःनिर्माण भएको पुनःनिर्माण प्राधिकरणले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाले विद्यालय पुनःनिर्माणमा तदारुकता दिएपछि विद्यालय भवन ठडिएका हुन् । बागलुङमा पुनःनिर्माण कार्यालय (शिक्षा) स्थापना भएपछि आव २०७३/७४ मा १४, २०७४/७५ मा १४, २०७५/७६ पहिलो चरणमा ४०, दोस्रो चरणमा ३८, २०७६/७७ को पहिलो चरणमा आठ, दोस्रो चरणमा ६५ विद्यालय पुनःनिर्माण गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख मतिलाल चपाईंले जानकारी दिए । आव २०७६/७७ को दोस्रो चरणका विद्यालयको भौतिक प्रगति ८० प्रतिशत पुगेको र यसअघिका सबै विद्यालय निर्माण सम्पन्न भई विद्यालयलाई हस्तान्तरण गरिसकिएको छ । ‘अन्तिम चरणका केही भवन हस्तान्तरण हुन बाँकी रहेको र केही भवन दुर्गमका हिसाबले ढिलागरी निर्माण भइरहेकाले केही प्रतिशत बाहेक १७९ विद्यालय पुनःनिर्माण भइसकेको छ’, चपाईंले भने, ‘अब विद्यालयको पुनःनिर्माण लगभग सकिएको छ, सरकारले अब बन्ने विद्यालयको जिम्मा स्थानीय तहलाई दिने माथिको कार्यविधि छ ।’ बन्दाबन्दीमा भवन निर्माणले गति लिएपछि भौतिक प्रगति सन्तोषजक देखिएको छ । यसैगरी प्राधिकरणले आव २०७५/७५ को दोस्रो चरणमा २५, २०७६/७७ को पहिलो चरणमा आठ र ६ खानेपानी आयोजना र २०७६/७७ को दोस्रो चरणमा २५शौचालय र २५ खानेपानी आयोजना निर्माणधीन अवस्थामा रहेको तथा यसको भौतिक प्रगति ८० प्रतिशत भइसकेको छ । बागलुङमा निर्माण भएका १७९ विद्यालय मा ८२ वटा चार कोठे, २९ वटा तीन कोठे र ६८ वटा दुई कोठे विद्यालय निर्माण गरिएको हो । भूकम्पले क्षति पु¥याएका २१५ विद्यालय मध्येबाट दुर्गम, विद्यार्थी सङ्ख्या तथा मौजुदा भवनको अवस्था हेरेर नयाँ भवन निर्माण गरिएको हो । प्राधिकरण शिक्षाका इञ्जिनीयर रामानन्द देवका अनुसार चार कोठे भवनका लागि ७० लाख ४० हजार, तीन कोठे भवन निर्माणका लागि ३५ लाख ७० हजार, दुई कोठे भवन निर्माणका लागि २३ लाख ९० हजार, शौचालय निर्माणका लागि १५ लाख र खानेपानी आयोजनाका लागि सात लाख बजेट विनियोजन हुँदै आएको छ । भौगोलिक अवस्था तथा ढुवानी खर्च हेरेर केही बजेटमा हेरफेर पर्न सक्ने एकाइले जनाएको छ ।