काेराेना अति प्रभावित १४ जिल्लाका विद्यालय बन्दको जिम्मा जिल्ला प्रशासनलाई

काठमाडौं । कोरोना अति प्रभावित काठमाडौं उपत्यकाका तीन जिल्ला सहितका १४ जिल्लाका विद्यालय बन्दको निर्णय जिल्ला प्रशासनले गर्ने भएको छ । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित जिल्लाको रुपमा राखेका १४ जिल्लाका विद्यालय बन्द गर्ने वा आंशिक रुपमा खोल्ने निर्णय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई दिने निर्णय गरेका हो । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ लगायतका पदाधिकारी बीच भएको छलफलले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको डीसीसीएमसीले आवश्यकता अनुसार विद्यालय बन्द गर्ने वा खोल्ने निर्णय गर्ने सक्नेगरी अधिकार दिने  निर्णय गरेको हो । आजको बैंठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने, विद्यालयभित्र अनावश्यक भिडभाड नगर्ने, सभा सम्मेलन तथा वार्षिक उत्सव गर्न नपाईन मापदण्ड तोकिएको छ । यसैगरी, जोखिमका कारण बन्द भएका विद्यालयहरुले ‘सिकाइ सहजीकरण निर्देशिका, २०७७’ अनुसार विद्यार्थीलाई सिकाइसँग जोड्नुपर्ने पनि बैठकले निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको थियो ।

कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्ने काठमाडौं महानगरको निर्णय

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको छ । बिहीबार बसेकाे बैंठकले महानगरभित्र सञ्चालीत विद्यालयका शिक्षक तथा विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएमा विद्यालय एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो । महानगरले पछिल्लाे समय काेरोना संक्रमित बढेकाे भन्दै महानगरभित्र कोरोना नदेखिएका विद्यालयमा सुरक्षाका मापदण्ड अपनाउने, सामाजिक दुरी कायम गर्दै सेनिटाइजर, मास्क प्रयोग गर्न र साबुनपानीले हात धुन अनुराेध गरेकेा छ । स्वास्थ्य मन्त्रालयले बिहीबार नै काठमाडौंसहित १४ जिल्लालाई कोरोना संक्रमणको उच्च जोखिममा राखेको छ । मन्त्रालयले ती जिल्लाका विद्यार्थीलाई कोरोना जोखिमका कारण विद्यालय नजान अपिल गरेको थियो ।

निजी विद्यालय बन्द गर्ने वा नगर्ने ? निर्णय गर्न प्याब्सनका पदाधिकारी ‍भेला हुँदै

काठमाडौं । विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने विषयमा छलफल गर्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का पदाधिकारीहरु काठमाडौंमा भेला हुँदैछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार काठमाडौं उपत्यकाका तीन जिल्ला सहित १४ जिल्लालाई अति प्रभावित जिल्लाको रुपमा राखेपछि प्याब्सनका पदाधिकारीहरु काठमाडौँमा भेला हुन लागेका हुन् । विद्यालय बन्द गर्न सरकारको निर्णय कुरेर बसेको भन्दै उनीहरुले काठमाडौँमा भेला भएर बन्द गर्ने वा नगर्ने विषयमा छलफल गर्ने जनाएको छ । उनीहरुले विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई दिन शिक्षा र स्वास्थ्य मन्त्रालयका अधिकारीलाई दबाद दिने तयारी भएको प्याब्सनका पदाधिकारीहरु बताउँछन् । शुक्रबार साँझ मन्त्रीपरिषद्को बैंठक बस्नुभन्दा अगाडी पुनः एक पटक विद्यालय बन्दको जिम्मा स्थानीय सरकारलाई दिन अनुरोध गरिने प्याब्सनका महासचिव कुमार घिमिरे बताउँछन् । उनले प्याब्सनका सबै पदाधिकारी काठमाडौंमा जम्मा हुन लागेको बताउँदै साझँसम्म विद्यालय बन्द हुने वा सुचारु हुने विषयमा थप निर्णय आउने बताए । ‘अहिले धेरै विद्यालयमा परीक्षा सञ्चालनको तयारी भइरहेको छ, स्वास्थ्य संकट आएमा अनिवार्य रुपम विद्यालय बन्द हुन्छ । तर अहिलेको अवस्थामा स्थान र अवस्था हेरेर विद्यालय बन्द गर्नुपर्छ, सबै क्षेत्रका विद्यालय बन्द गर्नभन्दा पनि संक्रमण धेरै देखिएका क्षेत्रका विद्यालय बन्द गर्नुपर्छ भन्ने हाम्रो धारण हो,’ उनले भने । १४ जिल्लाका विद्यालयको अवस्था सरकारले १४ जिल्लाका विद्यालयलाई अति प्रभावित जिल्लाको रुपमा राख्दै सकेसम्म विद्यालय नजान अपिल गरेपछि प्याब्सनले सबै विद्यालयसँग त्यहाको अवस्थामा बारेमा जानकारी माग गरेको छ । ‘स्वास्थ्य मन्त्रालयको निर्णयका आधारमा हामीले १४ जिल्लाका विद्यालयलाई हालको अवस्थाको बारेमा रिपोटिङ गर्न निर्देशन दिइसकेका छौँ, उताबाट जवाफ आएपछि विद्यार्थी तथा अभिभावको अवस्थाको बारेमा थप जानकारी हुन्छ’, उनले भने । विद्यालय खुला गर्दा सरकारको निर्देशन चाहिने बन्द गर्दा चाहिदैन ? प्याब्सनका सहअध्यक्ष डिके ढुगांना विद्यालय बन्द गर्न सरकारको निर्देशन पर्खेर बसेको बताउँछन् । ‘कोरोना महामारीको समयमा हामीले सबै विद्यालयमा सकेसम्म अनलाईन मार्फत नै पठनपाठन सुचारु गर्र्याैँ, सरकारको निर्देशनमा भरखर विद्यालयमा भौतिक उपस्थितिमा पढाउन सुरु गरेका छौँ । पहिला सरकारको निर्देशन पालना गर्र्याै, अहिले आफूखुशी विद्यालय बन्द गर्दैनौँ’, उनले भने, ‘अहिले विद्यालय किन बन्द नगरेको भन्नेहरुले विद्यालय बन्द हुँदा किन आफुखुशी बन्द गरेको भन्दै औला उठाउँनसक्छन, हामी सरकारको निर्देशन अनुसार विद्यालय बन्द गर्छौ ।’ प्रिबोर्ड परिक्षा हुने बैशाख ५ गतेबाट सञ्चालन हुने प्रिबोर्ड परीक्षालाई सुचारु गराउँने पक्षमा प्याब्सनका पदाधिकारी रहेका छन् । प्याब्सनले यसअघि नै काठमाडाैं उपत्यका भित्रका विद्यालयलाई होम सेन्टरमा प्रिबोर्ड परीक्षा सञ्चालन गर्ने निर्देशन दिईसकेको छ । ‘हामीले उपत्यकाका भित्रका विद्यालयलाई स्वास्थय सुरक्षाको पालना गर्दै सञ्चालन गर्न अनुमति दिइसकेका छौँ, उपत्यका बाहेकका जिल्लामा आज बेलुकासम्म थप निर्णय हुन्छ । सकेसम्म हामी प्रिबोर्ड परीक्षा बिना रोकाबाट सञ्चालन गछौँ’, प्याब्सनका एक पदाधिकारीले भने ।