एनसेल सधैं अन रिन्युअल : विद्यार्थीहरूलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युब पनि
काठमाडौं । एनसेलले विद्यार्थीहरूका लागि विशेष रूपमा डिजाइन गरिएको ‘सधैं अन रिन्युअल’ प्लानहरु संचालनमा ल्याएको छ । २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका लगायत सबै विद्यार्थीहरूलाई लक्षित यो स्टार्टर प्लान अफरले सुलभ दरमा मनोरञ्जनका साथै दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गर्दछ । कम्पनीका अनुसार कर सहित ३९९ रुपैयाँ र सो भन्दा माथिका मासिक शुल्कमा उपलब्ध हुने यी प्लानहरुमा अनलिमिटेड फेसबुक, अनलिमिटेड टिकटक, अनलिमिटेड युट्युब, लाइन्सगेट प्लेमा निःशुल्क प्रिमियम सामग्रीको पहुँच, अनलिमिटेड नाइट डेटा र प्याकमा समावेश अन्य सेवाहरू पाइन्छ । उदाहरणका लागि ३९९ रुपैयाँको सधैं अन रिन्युअल प्लानमा विद्यार्थीहरूले ३० दिनको लागि ३९९ मिनेट अल नेपाल कल टक टाइम, ८ जीबी डेटा र ३९ वटा अल नेपाल एसएमएस बन्डल भएको सेवाहरु पाउँछन् । त्यसैगरी यदि विद्यार्थीहरुले रु ५९९ को सधैं अन रिन्युअल लिएमा उनीहरुले ५९९ मिनेट अल नेपाल टक टाइम, २० जीबी डेटा र ५९ वटा अल नेपाल एसएमएस सेवाहरु पाउँछन्। यो योजना अन्तर्गतको सिम वा ई–सिम लिन विद्यार्थीहरूले आफ्नो पासपोर्ट साइजको फोटो, विद्यार्थी परिचयपत्र र आफ्नो वा आमाबुवाको नागरिकताको प्रतिलिपिसहित नजिकको कुनै पनि एनसेल सेन्टर वा आधिकारिक बिक्रेताकोमा जान सक्ने कम्पनीले जनाएको छ । विद्यार्थीहरूलाई सुलभ मूल्यमा सेवाका साथै मनोरञ्जनका लागि विभिन्न सुविधा सहित यो अफर ल्याउन पाएकोमा कम्पनी खुशी रहेको एनसेलले जनाएको छ । ‘सधैं अन रिन्युअल’ अन्तर्गतको यो स्टार्टर प्लानले विद्यार्थीहरूलाई आफ्नो डिजिटल यात्रा आफ्नै सिमबाट सुरु गर्न सहयोग गर्ने, उनीहरूलाई सधैं अन राख्ने र साथीभाइ, परिवारका सदस्यहरुसँग सम्पर्कमा रहि रहन ठूलो भुमिका खेल्ने विश्वास एनसेलले लिएको छ ।
व्यास नगरपालिकाबाट २०६ विद्यार्थीलाई छात्रवृत्ति, शिक्षा क्षेत्रमा लगानी
काठमाडौं । तनहुँको व्यास नगरपालिका कार्यालयले २०८१/८२ मा २०६ विद्यार्थीलाई १८ लाख ४८ हजार ५ सय रुपैयाँ छात्रवृत्ति वितरण गरेको छ । कक्षा १२ भन्दा माथिका ३९ जना विद्यार्थीलाई ११ हजारका दरले र कक्षा ९ देखि १२ सम्मका १६७ जनालाई आठ हजार ५ सय रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरेको हो । आर्थिक अवस्था नाजुक भएका गरिब तथा जेहेन्दार विद्यार्थीका लागि उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गरेर पढ्ने वातावरण मिलाइदिएको नगरपालिकाले जनाएको छ । शिक्षाबाट कोही पनि वञ्चित हुन नपरोस् भनी नगरपालिकाले शिक्षा क्षेत्रमा बर्सेनि ठूलो रकम लगानी गर्दै आएको व्यासका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । उनले भने, ‘नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरेको छ, शैक्षिक क्यालेन्डर निर्माण गरी सोही आधारमा विद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।’ कक्षा ५ र ८ को परीक्षा सञ्चालन गरी शैक्षिक गुणस्तर मापन कार्य गरिएको नगरपालिकाले जनाएको छ । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा उत्कृष्ट विद्यालय, उत्कृष्ट शिक्षक, दीर्घ सेवारत शिक्षक, निवृत्त शिक्षक गरी ४९ र १२ उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत एवं सम्मान गरेको थियो । राष्ट्रिय बाल दिवस २०८१ का अवसरमा अन्तर विद्यालय विभिन्न प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरी उत्कृष्ट चार विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । संघीय शिक्षण सिकाइ सहयोग अनुदानमा माध्यमिक र आधारभूत तहको २३ कोटामा विषयगत शिक्षक पदपूर्ति गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘प्रसूति बिदामा रहेका १३ शिक्षकको सट्टामा सुत्केरी सट्टा शिक्षक व्यवस्थापन गरी पठनपाठन कार्यलाई सञ्चालन गरिएको थियो ।’
चार दिनसम्म चलेको सफ्टवारिका कलेजको प्रविधि महोत्सवमा १० हजारभन्दा बढी भए सहभागी
काठमाडौं । सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सले आयोजना गरेको ‘टेक एक्सस् एलिभेट २०२५’ नामक चारदिने प्रविधि महोत्सव उत्साहजनक रूपमा सम्पन्न भएको छ । असार ३२ देखि श्रावण ३ गतेसम्म सञ्चालित उक्त कार्यक्रमले प्रविधि, उद्यमशीलता र प्रेरणालाई एउटै मञ्चमा समेट्दै युवा पुस्तालाई नवीन सोच र आत्मविश्वासको सन्देश दिएको छ । करीब १० हजारभन्दा बढी आगन्तुकहरूको सहभागिता रहेको महोत्सवमा ५० भन्दा बढी शैक्षिक संस्थाहरूको सहभागिता, ३० भन्दा बढी प्रविधिमैत्री कम्पनीहरूको प्रदर्शनी र १५ भन्दा बढी चर्चित कन्टेन्ट क्रिएटरहरूसँगको प्रत्यक्ष संवादले वातावरणलाई जटिल नभई जिज्ञासुपूर्ण बनायो । कार्यक्रममा विद्यार्थीहरूले विकास गरेका २० भन्दा बढी प्रविधिमूलक प्रोजेक्टहरू जस्तै ‘करुणा’, ‘मिरा’, ‘स्टडीसेन्स’, ‘तोमात्रों’, ‘फिसअवेर’, ‘फ्लिप आरएफआईडी’, ‘केम्ल्याब भीआर’ आदिले दर्शकहरूको ध्यान खिचे। ती इनोभेसनहरूले शिक्षा, कृषि, स्वास्थ्य र सुरक्षाको क्षेत्रमा प्रविधिको सम्भावनालाई उजागर गरे। आन्त्रप्रेनरशिप मास्टरक्लास सत्रमा नारायण कोईराला, डा. मनीष थापा र निरञ्जन खडेलजस्ता विशेषज्ञहरूले अनुभव साटे । २५ भन्दा बढी स्टार्टअप आइडिया पिच गरिएका भीसी सत्रमा ७ भन्दा बढीमा लगानीकर्ताहरूले चासो देखाएका थिए । कलेजले उत्कृष्ट स्टार्टअपहरूलाई लक्षित गर्दै १ करोड रुपैयाँ लगानी गर्ने घोषणा समेत गर्यो । नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेललगायत प्रेरक व्यक्तित्वहरूले ‘इन्स्पायर टक’ सत्रमा इमान, अनुशासन र राष्ट्रप्रेमबारे विचार राखे । जब फेयरमा ३० भन्दा बढी कम्पनीहरूको सहभागिता रह्यो, जसमा ५०० भन्दा बढी सहभागीले प्रत्यक्ष अन्तर्वार्ता, नेटवर्किङ र करियर परामर्शका अवसर पाए । ‘आइरन क्लाश’ नामक रोबोट युद्ध प्रतियोगिता कार्यक्रमको विशेष आकर्षण बन्यो। विद्यार्थीहरूले दुई वर्षदेखि निर्माण गरेका रोबोटहरूको रोमाञ्चक भिडन्तमा विजेता समूहलाई ३ लाख बराबरको पुरस्कार प्रदान गरियो । १५ भन्दा बढी चर्चित डिजिटल इन्फ्लुएन्सरहरूको सहभागिताले युवामाझ डिजिटल सम्भावनाबारे नयाँ सोचको ढोका खोल्यो । सविन कार्की (बिस्ट), राहुल खड्गी, सिद्धार्थ घिमिरे (टेक), सजिना खनाललगायतले सामाजिक सञ्जालमा सकारात्मक प्रभावको सम्भावनाबारे चर्चा गरे । कार्यक्रमको समापन समारोहमा आयोजक संस्थाले ‘टेक एक्सस् एलिभेट’ केवल प्रविधिको प्रदर्शनी नभई शिक्षा, नवप्रवर्तन र प्रेरणाको संगम भएको स्पष्ट गर्यो । कलेजले नेपाली युवालाई विश्वस्तरीय प्रविधि सीप, सोच र आत्मविश्वास प्रदान गर्दै ग्लोबल प्रतिस्पर्धाका लागि तयार पार्ने प्रतिबद्धता दोहोर्‍यायो । चार दिनको कार्यक्रमले एउटा स्पष्ट सन्देश दिएको छ । अब प्रविधिको यात्रा नेपाली युवाहरूको हातमा सुरक्षित छ, र उनीहरू आत्मविश्वासका साथ भविष्यको नेतृत्व गर्न तयार छन् ।