चौतारी लघुवित्तको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्था लि. ले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ५ लाख ४० हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्नको उक्त क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । उक्त सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा यस लघुवित्त वित्तीय संस्था तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरे र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । हाल यस लघुवित्तको अधिकृत पूँजी ३० करोड रुपैयाँ, जारी पूँजी १८ करोड रुपैयाँ र चुक्तापूँजी १२ करोड ६० लाख रुपैयाँ रहेको छ । सो मात्राको सेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्तापूँजी १८ करोड रुपैयाँ हुनेछ ।

गणपति माइक्रोफाइनान्स र एशियन लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लि. र एशियन लाइफ इन्स्योरेन्स बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सहमती पत्रमा वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) अच्युतराज साप्कोटा र एशियन लाइफ इन्स्योरेन्सका तर्फबाट शाखा प्रबन्धक बद्रीनाथ पौडेलले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार यस वित्तीय संस्थाका ग्राहकहरुले यस वित्तीय संस्थाका जुनसुकै शाखाबाट यस इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सम्पुर्ण सेवा सजिलै लिन सक्नेछन् । संस्थाले २० वटा शाखाहरुबाट लघुवित्तका साथै बीमा सम्बन्धी सेवा पनि प्रदान गर्न लागेको सीईओ अच्युतराज साप्कोटाले जानकारी गराए ।

नेपाल जनरल इन्स्योरेन्सको महाप्रवन्धकमा एसके टमोट नियुक्त

काठमाडौं । नेपाल जनरल इन्स्योरेन्स कम्पनीको महाप्रबन्धकमा एस के टमोट नियुक्त भएका छन् । स्थापनाको क्रममा रहेको यस कम्पनीमा उनले गत सातादेखि नै जिम्मेवारी समालेका छन् । टमोट करिव चार वर्षअघि सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृृत भएका थिए । यूनाईटेड, सिद्धार्थ, रिलायन्स लगायत विभिन्न बीमा कम्पनीहरुमा करिव चार दशक कार्य गरेका टमोटसँग बीमाको प्राविधिक तथा व्यवस्थापकिय विषयमा राम्रो ज्ञान भएको जानकारहरु बताउँछन् । बीमा समितिबाट दुई महिनाअघि लाइसेन्स पाएको यस कम्पनी आगामी जेठ महिनाभित्र सञ्चालनमा आउने तयारीमा जुटेको छ । एक अर्ब रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीमा प्रवद्र्धकले ७० करोड रुपैयाँ लगानी गरिसकेका छन् भने ३० करोड रुपैयाँको साधारण सेयर निष्काशन गर्ने कम्पनीको योजना छ । कम्पनीको कार्यालय हात्तिसारमा रहने भएको छ । २०६३ सालमा कम्पनी रजिष्ट्रारमा दर्ता भएको यो कम्पनी बीमा समितिले लाइसेन्स नदिदा करिव १२ वर्ष सञ्चालनमा आउन सकेको थिएन । झपट बोहोराले नेतृत्व गरेको यस कम्पनीले बबरमहलमा कार्यलय राखेर धेरै महिना कर्मचारी समेत पालेको थियो । बीमा समितिका पूर्व अध्यक्ष फत्तबहादुर केसीले होच्याएर व्यवहार गरेपछि र व्यवसाय गर्न अनुमति नदिएपछि बोहरा बीमा कम्पनी त्यागेर राजनीतिमा होमिए । उनी हाल ७ प्रदेशको अर्थ तथा योजना मन्त्री छन् ।