बरालसँग राजीनामा मागे लगत्तै यूनाईटेड इन्स्योरेन्सद्धारा डीजीएममा भट्टराई नियुक्त
रमेशकुमार भट्टराई काठमाडौं । यूनाईटेड इन्स्योरेन्स कम्पनीको नायव महाप्रबन्धक (डीजीएम)मा रमेशकुमार भट्टराई नियुक्त भएका छन् । बैशाख १६ गते नियुक्ती पाएका भट्टराई १९ गतेदेखि हाजिर हुने भएका छन् । उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालसँग सञ्चालक समितिले राजीनामा मागेको समाचार विकासन्युजमा प्रकाशित भएकै दिन कम्पनीले भट्टराईलाई सेकेण्ड म्यानको हैसियतमा नियुक्तीपत्र दिएको छ । सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत बराललाई पद त्याग्न दवाव दिएको छ तर बरालले राजीनामा बुझाएका छैनन् । कम्पनीले बराललाई चार वर्षको नियुक्ती पत्र दिएको छ । उनको कार्यकाल अझै एक वर्ष बाँकी रहेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा कम्पनीको प्रिमियम आम्दानी करिव १३ करोड रुपैयाँ कम हुने देखिएपछि ‘टेक्नोमार्केटिङ’मा अनुभवी भट्टराईलाई कम्पनीले भित्र्याएको हो । सन् १९९९ मा यूनाईटेड इन्स्योरेन्स कम्पनीबाटै बीमा क्षेत्रमा प्रवेश गरेका भट्टराईसँग युनाईटेड, प्रुडेन्सियल इन्स्योरेन्स र नेको इन्स्योरेन्समा गरी १९ वर्ष बीमा कम्पनीहरुमा काम गरेको अनुभव छ । उनले सन् १९९९ मा शंकरदेव क्याम्पसबाट एमबीए गरेका छन् । यसअघि उनी नेको इन्स्योरेन्स कम्पनीमा मुख्य प्रबन्धक थिए ।
लुम्बिनी इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकान्स्योरेन्स सम्झौता
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत शोमेश्वर सेठबीच उक्त सम्झौता सम्पन्न भएको हो । उक्त सम्झौता पश्चात बैंकका ग्राहकले बैंकको कुनै पनि शाखाबाट कम्पनीको बीमा सम्बन्धी सम्पूर्ण सेवा लिन सकिने बैंकले जानकारी दिएको छ । कम्पनीको बीमा योजना बिक्री गर्ने एवं बीमीतहरुलाई छिटो छरितो तथा भरपर्दो सेवा पुर्याउने उद्देश्यले सो सम्झौता भएको कम्पनीले जनाएको छ ।
वित्तीय अपराध न्यूनिकरणकाे लागि फाइनान्सियल फ्रड कन्फरेन्स हुदै
काठमाडौं । वैशाख चौथो साता फाइनान्सियल फ्रड कन्फरेन्स हुने भएको छ । नेशनल बैंकिङ ईन्ष्टिच्युट (एनबीआई) ले भारतको सम्बन्धित संस्थासँगको सहकार्यमा बैशाख २४ गते बैंक तथा वित्तीय क्षेत्रमा बढ्दो अपराधलाई मध्यनजर राख्दै अन्र्तराष्ट्रिय अनुभव आदान प्रदान गर्ने उद्देश्यले राजधानीमा एक दिने राष्ट्रिय स्तरको फाइनान्सियल फ्रड कन्फेरेन्स आयोजना गर्न लागेको हो । कार्यक्रमको मुख्य उद्देश्य वित्तीय अपराधहरु पत्ता लगाउने तरिका, अनुगमन, निदान तथा सुपरीवेक्षण गर्ने कार्यहरुमा देखिएका चुनौतीहरु के–कस्ता छन् भन्ने बारेमा चर्चा गरिने बताइएको छ । त्यस्तै के–कस्तो रणनीतिक पहलहरु गरेमा वित्तीय अपराधलाई न्यूनिकरण गर्न सकिने छ भन्ने बारे पनि छलफल कार्यक्रममा गरिने आयोजकको भनाइ छ । आयोजकको अनुसार सम्मेलनमा स्रोत व्यक्तीहरुको रुपमा भारतका विज्ञहरु आउनेछन् । उनीहरुले विभिन्न विषयमा प्रस्तुती गर्नेछन् । प्यानल डिस्कशन लगायतका कार्यक्रमहरु राखिएको आयोजकको भनाइ छ । सम्मेलनमा विभिन्न बैँक तथा वित्तीय संस्थाहरुबाट १५० भन्दा बदी उच्च पदस्थका बैंकिङ कर्मचारीहरु सहभागी हुनेछन् ।