कुमारी बैंकले गर्याे अत्याधुनिक कोर बैंकिङ सफ्टवेयरको सुरुवात

काठमाडौं । कुमारी बैंक लिमिटेडले अत्याधुनिक कोर बैंकिङ(सीबीएस) सफ्टवेयर फिनाकल–१०.२.१९ सेवाको सुरुवात गरेको छ । ग्राहकवर्गलाई आधुनिक, गुणस्तरिय तथा सुरक्षित सेवा दिने उद्देश्यले उक्त नयाँ प्रविधि भित्र्याएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)सुरेन्द्र भण्डारीले अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यले बैंकले नयाँ कोर बैंकिङ सफ्टवेर खरिद गरेको बताए । बैंकहरुमध्ये कुमारी बैंक फिनाकल प्रविधिको पछिल्लो संस्करण (सीबीएस) प्रयोग गर्ने पहिलो बैंक भएको उनले जानकारी दिए । उनका अनुसार सफ्टवेयर खरिद गर्नका लागि विश्व प्रख्यात सूचना प्रविधि कम्पनी इन्फसाइस इण्डीयासँग सम्झौता गरिएको थियो । ‘विगतदेखिनै देशको बैंकिङ क्षेत्रमा नयाँ प्रविधि भित्र्याउन कुमारी बैंकले अग्रणी भूमका निर्वाह गरेको छ,’ उनले भने ‘यस बैंकले नेपालमा सबैभन्दा पहिले इन्टरनेट बैंकिङ सेवा सुरुवात गरेको थियो ।’ बैंकको डेपुटीसीईओ उमेशसिंह भण्डारीले वर्षदिन लाग्ने उक्त सफ्टवेयर बैंकले अत्यन्त छोटो अबधि ५ महिनामै प्रयोगमा ल्याउन सफल भएको बताए । ‘यति छिटो समयमा नयाँ प्रविधि फिनाकल सफ्टवेयर सफलतापूर्वक कार्यान्वयन ल्याउनेमा विश्वका बैंकमध्ये नेपाल पहिलो हो,’ उनले भने ‘बैंकभित्र भएको दक्ष जनशक्तीको प्रयत्नले यो सम्भव भएको हो । बैंकको अनुसार फिनाकल प्रविधि संसारभरी चल्तीमा रहेको उच्चस्तरीय बैंकिङ सफ्टवेयर मध्ये एक हो । हाल सो प्रविधि विश्वका ४५ वटा देशहरुमा प्रयोग भइरहेको छ ।

सेञ्चुरी कमर्सियल बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सोमबार बैंकका का. मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

रिलायन्स लाईफ इन्स्योरेन्सको पहिलो शाखा पाटनमा, चैतभित्रै १६ वटा शाखा खोल्ने तयारी

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पहिलो शाखा पाटनमा विस्तार गरेको छ । कम्पनीले जीवन बीमा व्यवसाय फराकिलो पार्न शाखा तथा उप-शाखाहरु विस्तारलाई प्राथमिकतामा राख्ने उद्देश्यले सो स्थानमा नयाँ शाखा खोलेको हो । कम्पनीले चैत मसान्तभित्र १६ वटा शाखा विस्तार गर्ने भएको छ । साथै, कम्पनीले यस आर्थिक वर्षको अन्त्यसम्ममा नियामक निकायको स्विीकृति लिई करिब २५ वटा शाखा खोल्ने लक्ष्य लिएको छ । यस इन्स्योरेन्सले सुरूवातबाट ३ वटा जीवन बीमा योजना संचालनमा ल्याएको छ । साथै, निकट भविष्यमा थप ४ बीमा योजना संचालनमा ल्याउने भएको छ ।