शिखर इन्स्योरेन्सको मंसिर २२ गतेदेखि १७ दिन बुक क्लोज

काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडको मंसिर २२ गतेदेखि १७ दिन बुक क्लोज हुने भएको छ । वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि कम्पनीको मंसिर २२ गतेदेखि आगामी पुस ७ गतेसम्म बुक क्लोज हुन लागेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभा पुस ७ गते हुने भएको छ । उक्त सभाले सेयरधनीलाई ३०.५३ प्रतिशत लाभांश दिने कम्पनीको निर्णयलाई पारित गर्ने भएको छ । यस कम्पनीले २९ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.५३ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने निर्णय गरेको हो ।

नेसनल लाइफ इन्स्योरेन्सद्धारा ३८ लाख ५ हजारको मृत्यु दाबी भुक्तानी

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सले आफ्नो कम्पनीका बिमितका परिवारलाई ३८ लाख पाँच हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले तुलसीपुर उपमहानगरपालिका–५, का रत्नबहादुर वलीकी धर्मपत्नी कौशिला वलीलाई मृत्यु दाबी बापत यही गत मंसिर १५ गते ३८ लाख ५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । उक्त चेक कम्पनीका सिइओ भरत बस्नेतले हस्तान्तरण गरेका थिए । आरके सप्लायर्सका प्रोप्राइटर तथा सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रत्नबहादुर वलीले यस नेसनल लाइफ इन्स्योरेन्स कम्पनीमा मिति २०७१ असार ३१ गते २५ लाख रुपैयाँको जीवन बिमा गरेका थिए । बिमितको निधन भएकाले कम्पनीले बिमा दाबी भुक्तानी गरेको हो । बिमित वलीको २०७४/०२/१६ गते निधन भएको थियो । शुक्रबार कम्पनीका नायब महाप्रबन्धक सुरेश प्रसाद खत्री सहितका उच्च अधिकारीहरु, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, लगायतको उपस्थितिमा एक कार्यक्रम गरी मृतककी धर्मपत्नी कौशिलालाई मृत्यु दाबी भुक्तानी बापत उक्त चेक हस्तान्तरण गरिएको हो । मृतक रत्नबहादुर जंगवीर वलीका छोरा हुन् ।  

स्वावलम्बन लघुवित्तको ३१.५७ प्रतिशत लाभांश पारित

काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंकको प्रस्तावित ३१.५७ प्रतिशत लाभांश पारित भएको छ । काठमाडौंमा सम्पन्न कम्पनीकाे १६ औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको २० प्रतिशत बोनस र ११.५७ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । साथै, सभाले आ.व. २०७३/७४ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ । बैंकले आर्थिक वर्ष २०७३/७४ मा २६ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । चालु आ.व.को कात्तिक मसान्तसम्म बैंकको कर्जा रकम ८ अर्व २५ करोड रुपैयाँ पुगेको छ । बैंकको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा ४ अर्व ७० करोड रुपैयाँ रहेको बैंकले जनाएको छ । हाल बैंकको अधिकृत पूँजी १ अर्ब रुपैयाँ छ । साथै, यसै साधारण सभाले जारी तथा चुक्ता पूँजी ५० करोड ३१ लाख रुपैयाँ कायम गर्ने निर्णय समेत गरेको छ ।