मौद्रिक नीति आज

काठमाडौं, ३० असार । आगामी आर्थिक वर्षको मौद्रिक नीति आज(बिहिबार) सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैंकले दिउँसो २ बजे मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । यस अघि असार २६ गते नै मौद्रिक नीति सार्वजनिक गर्ने भनिएपनि आन्तरिक तयारी पुरा नभएको भन्दै पर सारिएको थियो ।

सगरमाथा इन्स्योरेन्सको २३ प्रतिशत बोनस सेयर पास

काठमाडौं, २९ असार । सगरमाथा इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई २३ दशमलब ७५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि एक दशमलब २५ प्रतिशत नगद लाभांश दिने भएको छ । उक्त निर्णय मंगलबार बसेको कम्पनीको १९औँ वार्षिक साधारणसभाले पारित गरेको हो । अध्यक्ष रामकृष्ण मानन्धरको सभापतित्वमा सम्पन्न भएको सभाले अधिकृत पुँजी ५० करोड रुपैयाँलाई बढाएर एक अर्ब ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको छ । साथै, सभाले जारी पुँजी ४० करोड रुपैयाँलाई बढाएर एक अर्ब रुपैयाँ कायम गर्ने बैंकको प्रस्तावलाई पारित गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म १० करोड ६५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले जनाएकोे छ । हाल ३५ करोड ६५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको बोनस सेयर पश्चात् ४४ करोड ११ लाख रुपैयाँ पुँजी कायम गर्ने बैंकले बताएको छ ।

लघुबीमा कम्पनी स्थापनाको गृहकार्य, जीबन र निर्जीबन ब्यवसाय गर्ने एउटै कम्पनी हुने

काठमाडौं, २८ असार । बैंकिङ क्षेत्रमा लघुवित्त संस्थाहरुले वित्तीय सेवा पुर्याए जस्तै सेवा दिनको लागि लघुबीमा कम्पनी खोल्ने प्रक्रिया सुरु भएको छ । नेपालको एकमात्र पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीले लघुबीमा कम्पनी संचालन गर्ने प्रक्रिया सुरु गरेको हो । लघुबीमा कम्पनी स्थापनाको लागि प्रक्रिया सुरु भएको पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले जानकारी दिए । नीतिगत अप्ठेरो भएकोले नियामक निकाय बीमा समितिसँग राय लिएर मात्रै अगाडि बढ्ने तयारी भएको भण्डारीको भनाइ छ । ‘लघु बीमामा लाइफ र ननलाइफ दुबै प्रकारको ब्यवसाय हुन्छ, बीमा समितिले यस्तो ब्यवस्था एउटै कम्पनीले गर्न हुदैन भन्ने नीति बनाएको छ, यसले कसरी अगाडि बढ्ने भनेर समितिसँग कुरा गर्दैछौं,’ भण्डारीले भने । लघु बीमा कम्पनीले लघुवित्त कार्यक्रम मार्फत ब्यवसाय गरिएका परिवार र ब्यक्तिको तथा उनीहरुको ब्यवसायको बीमा गर्ने सोच बनाएको छ । देशभर कार्यक्षेत्र बनाएर स्थापना गर्न लागिएको लघु बीमा कम्पनीले लाइफ र ननलाइफ दुबै प्रकारको बीमा ब्यवसाय गर्न दिनुपर्ने लविङ भएको छ । यस्तो बीमा कम्पनीमा पुनरबीमा कम्पनी, सरकारी स्वामित्वका राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी तथा निजी क्षेत्रका बीमा कम्पनी समेतको सेयर लगानी रहने गरी प्रक्रिया अगाडि बढाइएको छ ।