पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडले शुक्रबार (असार २६) गतेदेखि एकीकृत कारोबार सुरु गरेका छन् ।  दुवै वित्तीय संस्थाबीचको मर्जर प्रक्रिया सम्पन्न भएसँगै ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सञ्चालन गरेका हुन् ।  दुवै संस्था १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन् ।  मर्जरपश्चात् कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–२८, पुतलीसडकस्थित साविक समृद्धि फाइनान्सको कार्यालयमा रहनेछ ।  मर्जपछि सात सदस्यीय सञ्चालक समिति गठन हुनेछ । समितिमा समृद्धि फाइनान्सबाट अजय मिश्र, दुर्गा थापा, दिनेशकुमार बर्तौला र सुदीप घिमिरे तथा पोखरा फाइनान्सबाट प्रतीक गुरुङ, यमबहादुर सुर्खाली र तीलबहादुर गुरुङ रहनेछन् ।  हालका अध्यक्ष अजय मिश्रले मर्जरपछिको संस्थाको अध्यक्षको जिम्मेवारी पनि सम्हाल्ने स्रोतको भनाइ छ ।  यस्तै, मर्जरपछिको कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाश गुरुङ नियुक्त हुने सहमति भएको छ ।  मर्जरपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड १४ लाख ६८ हजार रुपैयाँ पुग्नेछ ।  हाल पोखरा फाइनान्सको चुक्ता पुँजी १ अर्ब ८ करोड २५ लाख ५६ हजार रुपैयाँ र समृद्धि फाइनान्सको ८१ करोड ८९ लाख ११ हजार रुपैयाँ रहेको छ । एकीकृत संस्थाको शाखा सञ्जाल ३६ वटा पुग्नेछ भने कर्मचारी संख्या करिब ३०० रहनेछ । 

राष्ट्र बैंकद्वारा ६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै १९ दिनको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरिएको जनाएको छ । बोलकबोल आज दिउँसो ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत हुनेछ । सूचनाअनुसार निक्षेप संकलन उपकरण आजै निष्कासन गरिनेछ भने यसको साँवा तथा ब्याज आगामी असोज २३ गते भुक्तानी गरिनेछ । ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ । बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम पाँच करोड रुपैयाँ दरले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने छ । निक्षेप संकलन उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।  

व्यतित बीमालेख नवीकरणमा ब्याज–जरिवानामा ५० प्रतिशत छुट

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित (ल्याप्स) भएका बीमालेख नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने बिलम्ब शुल्क अर्थात् ब्याज तथा जरिवानामा ५० प्रतिशत छुट दिने भएको छ । कम्पनीले साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट जारी भई व्यतित भएका बीमालेखहरूमा असार २५ गतेदेखि ३२ गतेसम्म नवीकरण वा पुनर्जागरण गर्दा उक्त छुट सुविधा उपलब्ध गराइने जनाएको हो । जतिसुकै अवधिदेखि व्यतित भएका बीमालेख भए पनि नवीकरणका क्रममा लाग्ने ब्याज तथा जरिवानामा ५० प्रतिशत छुट प्रदान गरिनेछ । कम्पनीले भने यस्तो सुविधा बीमाको अवधिभर एकपटक मात्र उपलब्ध गराइने स्पष्ट पारेको छ । यस्तै, ब्याज-जरिवाना छुट सुविधा उपयोग गरी नवीकरण गरिएका बीमालेख बीमालेख नवीकरण भएको मितिले दुई वर्षभित्र बीमित वा प्रस्तावकले समर्पण (सरेंडर) गर्न चाहेमा नवीकरणका क्रममा छुट दिइएको ब्याज तथा जरिवाना बराबरको रकम कम्पनीले कट्टा गर्ने जनाएको छ ।