नाडेप लघुवित्तको साधारणसभा सम्पन्न, पाँच सदस्यीय सञ्चालक समिति चयन
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरेको छ । साधारणसभाको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष पिताम्बर प्रसाद आचार्यले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत दीर्घबहादुर अर्यालले सहभागीलाई स्वागत गरेका थिए । अध्यक्ष आचार्यले हाल वित्तीय क्षेत्रमा चुनौतीपूर्ण अवस्था रहे पनि संस्थाले ग्राहक सदस्यलाई गुणस्तरीय सेवा प्रदान गर्दै सेयरधनीको अपेक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताए । उनले नेपाल राष्ट्र बैंकबाट जारी हुने नीति तथा निर्देशनहरू अझ लघुवित्तमैत्री हुने अपेक्षा पनि व्यक्त गरे । साधारणसभाले आर्थिक वर्ष २०८२/८३ का लागि कुबेर एन. भट्टराई एन्ड कम्पनीलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । साथै संस्थागत र सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व हुने गरी पाँच सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरिएको छ । संस्थाका अनुसार हाल नाडेप लघुवित्तले देशभरका ८८ शाखामार्फत ८० हजारभन्दा बढी ग्रामीण तथा विपन्न महिलालाई वित्तीय सेवा उपलब्ध गराइरहेको छ । २०८३ जेठ मसान्तसम्म संस्थाको लगानीमा रहेको कर्जा ६ अर्ब ५० करोड रुपैयाँ, सदस्यको बचत २ अर्ब ४० करोड रुपैयाँ तथा बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा २ अर्ब ८९ करोड रुपैयाँ पुगेको जनाएको छ ।
एशियन लाइफको २५ हजार कित्ता सेयर बिक्रीमा
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको करिब २५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक समूहको २४ हजार ८९८ कित्ता सेयर बिक्रीमा राखिएको हो । यो सेयरमा कम्पनीका संस्थापक सेयरधनीहरुले मात्र खरिदका लागि निवेदन पेस गर्न सक्नेछन् । कम्पनीका अनुसार निवेदन ३५ दिनभित्र पेस गर्नुपर्नेछ । निवेदन काठमाडौंको मैतीदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ । तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन प्राप्त नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
साताभर नेप्सेमा उतारचढाव, कारोबार १५ अर्ब नाघ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साता उतारचढावबीच समग्रमा सामान्य वृद्धि भएको छ । साताको पहिलो दिन सोमबारदेखि लगातार दुई दिन ओरालो लागेको बजार बुधबार र बिहीबार सुधारिए पनि शुक्रबार पुनः घटेर बन्द भएको हो । साताको पहिलो कारोबार दिन सोमबार नेप्से १६.५४ अंक घटेर २६३२.९६ विन्दुमा बन्द भएको थियो। मंगलबार पनि बजारले ओरालो यात्रा कायम राख्दै २४.६३ अंक घटेर २६०८.३३ विन्दुमा झरेको थियो । तर बुधबार बजारमा सुधार देखियो । यस दिन नेप्से ४४.५९ अंकले उकालो लाग्दै २६५२.९३ विन्दुमा पुगेको थियो । बिहीबार पनि बजारले निरन्तरता दिँदै ८.७८ अंक बढेर २६६१.७१ विन्दुमा पुगेको थियो । साताको अन्तिम कारोबार दिन शुक्रबार भने नेप्से ८.३० अंकले घटे पनि २६५३.४० विन्दुमा बन्द भयो । यससँगै अघिल्लो साताको अन्तिम कारोबार दिनको तुलनामा नेप्से २०.४४ अंक अर्थात् करिब ०.७८ प्रतिशतले बढेको छ । कारोबार रकम पनि उत्साहजनक रह्यो । पाँच कारोबार दिनमा कुल १५ अर्ब ५८ करोड ७४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । साताभर करिब ३ करोड ४४ लाख कित्ता सेयर किनबेच हुँदा २ लाख ६५ हजारभन्दा बढी कारोबार भएको तथ्यांक छ । साताको सबैभन्दा धेरै कारोबार बुधबार भएको थियो । बुधबार ३ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको थियो । सबैभन्दा कम कारोबार भने सोमबार २ अर्ब ५८ करोड रुपैयाँमा सीमित रह्यो । बजार विश्लेषकहरूका अनुसार साताभर बजारमा नाफा सुरक्षित गर्ने र खरिदकर्ता दुवै सक्रिय देखिएकाले नेप्से उतारचढावका बीच सीमित दायरामै घुमेको छ ।