सांग्रिला डेभलपमेन्ट बैंकमा कसमस डेभलपमेन्ट बैंक र कम्यूनिटी डेभलपमेन्ट बैंक गाभिने, चुक्ता पुँजी १ अर्ब ३८ करोड पुग्दै

काठमाडौं, २१ पुस । सांग्रिला डेभलपमेन्ट बैंकले नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक र कसमस डेभलपमेन्ट बैंकलाई गाभ्ने (एक्वाएर गर्ने) भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक राष्ट्रिय स्तरको विकास बैंक हो । सांग्रिला डेभलमेन्ट बैंकको चुक्ता पुँजी १ अर्ब ७ करोड रुपैयाँ छ । दुई विकास बैंक गाभिएपछि सांग्रिलाको सेयर पुँजी करिव १ अर्ब ३८ रुपैयाँ हुने छ । तर स्वाप रेसियोको कारण मर्जपछि उल्लेखित पुँजीमा केही कमी आउन सक्नेछ । नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक सेयर पुँजी २० करोड ९५ लाख रुपैयाँ छ । पछिल्लो समय यस बैंकको सेयर प्रतिकित्ता २९० मा कारोबार भएको छ । यस बैंकले रुपन्देही, नवलपरासी र चितवन गरी तीन जिल्लामा बैकिङ सेवा दिदै आएको छ । कसमस डेभलपमेन्ट बैंक गोर्खा जिल्लालाई कार्य क्षेत्र मानेर २०६७ सालदेखि सञ्चालनमा आएको एक जिल्ले बैंक हो । कसमसको सेयर पुँजी ९ करोड ८९ लाख रुपैयाँ छ । पछिल्लो समय यस बैंकको प्रति सेयर ४२८ रुपैयाँमा कारोबार भएको छ । एक्विजिशन प्रक्रियामा गएकाले नेपाल स्टक एक्स्चेञ्ज कम्पनीले कम्यूनिटी र कसमस दुबै बैंकको सेयर कारोबार बन्द गरेको छ । सांग्रिला बैंकले असोज मसान्तसम्ममा निक्षेप १० अर्ब र कर्जा ९ अर्ब ८० करोड रुपैयाँ परिचालन गरेको छ । कम्यूनिटी डेभलपन्ट बैंकमा निक्षेप १ अर्ब ६२ करोड छ भने कर्जा १ अर्ब ३८ करोड रुपैयाँ लगानी गरेको छ । कसमस डेभलपमेन्ट बैंकमा करिव ८० करोड निक्षेम छ भने करिव ५१ करोड रुपैयाँ कर्जा छ ।

न्यूरोडबाट मात्रै बार्षिक १० अर्बको मोवाइल बिक्री; सामसुङ, हुवावे, जीओनी, ओप्पो सबैभन्दा अगाडि

पूरुषोत्तम बस्नेत–अध्यक्ष, नेपाल मोवाइल बिक्रेता संघ नेपाल मोवाइल बिक्रेता संघका अध्यक्ष पुरुषोत्तम बस्नेत पछिल्लो समय निकै चर्चामा छन्, खासगरी मोवाइल मेलाहरुको आयोजना गरेर । उनकै भनाई अनुसार अहिलेसम्म ९ वटा मोवाइल मेला तथा महोत्सव उनकै नेतृत्वमा भएको छ । यस्तो मेलाले मोवाइल बजार विस्तारमा उल्लेख्य योगदान गरेको उनी बताउँछन् । प्रस्तुत छ : मोवाइलका ब्राण्ड, उपभोक्ता, बजार र सेवाको बारेमा उनीसँग गरिएको मोवाइल बार्ता । तपाई आफै कुन मोवाइल प्रयोग गर्नुहुन्छ ? हुवावेको पी ९ हो । कतिमा लिनुभयो ? मैले लिँदा ६० हजार रुपैयाँ थियो । अहिले भने यसको भाउँ घटेको छ । किनेको कि उत्पादक कम्पनीले वितरकलाई गिफ्ट दिएको हो ? आजभोली महिनामा दुई वटा नयाँ मोडलका मोवाइल बजारमा आउँछन् । सबै मोडलको गिफ्ट दिन थाल्यो भने त कम्पनी नै टाँट पल्टन्छ । यसको विशेषता चाहिँ के हो ? फोरजी चल्छ । आधुनिक प्रविधिको हो । पछाडि दुईवटा क्यामेरा छ, अगाडि एउटा क्यामरा छ । फोरजीबी र्याम छ । ६४ जीबी इन्टरनल मेमोरी छ । अहिलेको जेनेरेसन सुहाँउदो, लुक्स पनि राम्रो छ । पछिल्लो अपडेड भर्सन हो । मोवाइलमा के के प्रयोग गर्नुहुन्छ ? इन्टरनेट चलाउँछु । यसैभित्र फेसबुक, ट्वीटर, गुगल बढी चलाउँछु । गेम पनि कहिँलेकाँही खेल्छु । अहिले फोरजी भर्सन आएकोले चलाउँन सजिलो छ । मोवाइलमा विभिन्न एप्स पनि चलाउँछु । मोवाइल साथमा नभए कस्तो अनुभव हुन्छ ? पकेटमा मोवाइल हुनै पर्ने, एक छिन पनि मोवाइल नभए आफूसँग ठूलै बस्तु नभएको जस्तो हुन्छ । साथमा मोवाइल छैन भने कपडा नलगाएर नाङ्गै बसे जस्तो असजिलो हुन्छ । अहिले बजारमा नयाँ मोवाइल कस्ता आएका छन ? डीएगो, एप्पो, जोप्पोलगायतका धेरै नयाँ ब्राण्ड आएका छन् । काठमाडौंमा सबैभन्दा धेरै बिक्री हुने ब्राण्ड कुन हो ? सामसुङ, हुवावे, जीओनी, ओप्पो नै बढी बिक्री हुन्छ । कुन वर्गले कस्तो मोवाइल प्रयोग गर्छन ? चाइनिज टेक्नोलोजीको नयाँ मोवाइल नयाँ पुस्ताले चलाउँछन् । नयाँ प्रविधि र सस्तो पनि चाइनिजमै बढी छ । पुरानो पुस्ताले सामसुङ नै रुचाउँछन् । ब्राण्ड कन्सियस भने नयाँ पुस्तामै बढी छ । आइफोन चलाउँदैनन् ? आइफोन खासै किनेर चलाउँदैनन् । आइफोन चलाउने वर्ग बढी जसो विदेशबाट गिफ्ट आउने र आफन्तले पठाउने छ । ब्राण्डेड र महंगो मोवाइल चलाउन सक्ने शौखिन वर्गले मात्रै आइफोन किन्छन् । तपाई कस्तो मोवाइल किन्न सिफारिश गर्नुहुन्छ ? अहिलेको नयाँ प्रविधिमै जानुपर्छ भन्ने सल्लाह दिने गरेको छु । नयाँ टेक्नेलोजीमा धेरै जसोलाई हुवावे नै रिफर गरिरहेको हुन्छु । मोवाइल किन्न कहाँ जाने ? मोवाइल किन्न सबै हवमै जानुपर्छ । न्युरोड, ताम्राकार हाउस, ललितपुर मोवाइल हाउसलगायतका मोवाइल हवमै जानुपर्छ । जसले गर्दा ग्राहक ठगिदैनन् । ग्रे मार्केटमा मोवाइल नकिन्न सल्लाह दिन्छु, ह्वाईट मार्केटमा किन्नुपर्छ । ग्रे मार्केट र ह्वाईट मार्केट भनेको चाहिँ के हो ? ग्रे मार्केट भनेको चोरी गरेर लुकीछिपी ल्याइएका मोवाइलको मार्केट हो । यसमा वारेन्टी, ग्यारेन्टी केही हुँदैन । ह्वाइट मार्केट भनेको भन्सार, कर तिरेर ल्याएको, बजारमा स्वस्थ प्रतिस्पर्धा हुने मार्केट हो । यस्तो बजारमा किनेको मोवाईलमा वारेन्टी, ग्यारेन्टी हुन्छ । सक्कली माल कर तिरेको भ्याट विलसहित आउँछ । एउटै प्रकृतिको मोवाइल किन्दा ग्रे र ह्वाइट मार्केटको मूल्यमा कस्तो फरक हुन्छ ? दुईचार हजार कम नै हुन्छ ग्रेमा । ग्रेको भर पनि हुँदैन र मूल्यसँग तुलना गरेर ग्रे मार्केटमा जान पनि हुँदैन । बजारमा आएका मोवाइल ग्रे र ह्वाइट कसरी छुट्याउँने ? उपभोक्ताले सोधेर नै किन्ने हो । ग्राहकले सोधेको अवस्थामा पसलेले आफैंले भन्छ । कुन मोवाइल हो भनेर सोध्यो भने ग्रे वा ह्वाइट के हो पसलेले नै भनिदिन्छ । तपाई जहिले पनि मोवाईल मेला गर्ने नेताको रुपमा सञ्चार माध्यममा देखिनु हुन्छ । मोवाइल किन्दा मेलामा जाने किन पसलमै जाने ? मैले अहिलेसम्म नौ वटा मेला गरे । भृकुटीमण्ड, न्युरोडमै, ललितपुर जहाँ गरे पनि ग्राहक आएकै छन् । जहाँ गरे पनि ग्राहक आउँछन । मेलामा किन्दा आकर्षक छुट पाइने हुन्छ । जहाँ मोवाइल मार्केट छ त्यहि मेला हुने भएकोले पनि जहाँ किने पनि हुन्छ । तर व्यवस्थित हबमा किनेको राम्रो । मेला ब्राण्डिङ गर्न हुन्छ कि मोवाइल बिक्री गर्न ? मेला बजारको प्रमोशनको लागि हुन्छ । बजारलाई प्रमोट गरेर बिक्री गर्ने पनि हुन्छ । हामीले सस्तो बेच्ने भनेकै धेरै बेच्नलाई हो । मेला ब्राण्डको प्रमोशन पनि गर्ने र मोवाइल बेच्ने पनि हो । अन्य मेला जस्तो देखाउने र ब्राण्ड गर्ने कामको लागि मात्रै मोवाइलको मेला हुँदैन । तपाईहरुले न्यूरोडमा मोवाइल मेला गर्नु भयो । यसो गर्दा अन्य स्थानको मोवाइल विक्रेतालाई घाटा हुन्छ कि हुँदैन ? मोवाइल क्षेत्रकै व्यापार विस्तार गर्ने गरी मेला गरिएको हुन्छ । ललितपुरमा पनि मेला गरेरै मार्केट बनाइएको हो । जहाँ प्रमोशन गर्यो त्यहाँ बढी र अन्त कम हुनु त स्वभाविक नै हो । भोलीका दिनमा आजको सानो मार्केट पनि ठूलो हुन सक्छ । आत्तिनु पर्ने अवस्था केही छैन । मोवाइल मेलामा आयोजकले कत्तिको नाफा गर्छ ? आयोजक सधै घाटामै हुन्छ । नाफामा हुँदैन । ६ वर्षअगाडिको मेलाको पैसा अझै तिर्दैछौ । हामीले बजारको प्रवद्र्धन गर्न गरेकोले मेला महोत्सव घाटाको रूपमा हेर्नु हुँदैन । लगानीको रूपमा हेर्नुपर्छ । ६ वर्षदेखि उदारोको भुक्तानी दिन बाँकी कसकसलाई छ ? विज्ञापन एजेन्सी र प्रिन्ट एजेन्सीलाई नै पैसा तिर्न बाँकी छ । अहिलेसम्म नौ वटाकै बाँकी होला । काम निरन्तर हुनुपर्छ, नयाँ काम आउँछ, नयाँ पैसा पनि आउँत । बाँकीले केही फरक पर्देन । मोवाईल मेलाको कारोबार संघको नाममा हुन्छ कि कम्पनीको नाममा ? हामीले नेपाल मोवाइल व्यवसायी संघबाट तीन चारवटा गरेका छौ । त्यसपछि आफैं कम्पनीबाट पनि गरेका छौं । मोवाइल व्यवसायी संघबीच नै विवाद भएकोले पनि संस्थागत आयोजना कम भएको हो । व्यसायीको संघ कति छ ? इम्पोटर संघ, डिस्टीव्यूटर्स संघ, खुद्रा व्यापार संघसहितका विभिन्न नाम हुने गरेको छ । मैले नेपाल मोवाइल विक्रेता संघको नेतृत्व गर्छु, यसमा सबैलाई समेटिएको छ । नेपालमा कति वटा मोवाइल ब्राण्ड छन् ? दुई दर्जन जति होलान । यी सबै ब्राण्ड बजारमा रहलान ? अरू ब्राण्ड पनि आउँछन् । मोवाइलको ब्राण्ड आउने र जाने भइरहन्छ । पहिले चलेको ब्राण्ड नोकिया, मोटोरोला, लेनेभो हराएर पुनः आउन थालेका छन् । टिक्ने भनेको ६ सात वटा ब्राण्ड मात्रै हो । तपाई त मोवाइल बिक्रेता हो, ग्राहकको गुनासो चाहिँ कत्तिको आउँछ ? अहिले त खासै छैन । राम्रो बाण्ड आउन थालेका छन् । सर्भिस पनि राम्रो दिन थालेका छन् । दुई वर्ष अगाडिको भन्दा धेरै सुधार भएको छ । कुनै मोवाइल ग्योन्टी गरेर दिएको छ र बनेन भने पनि नयाँ पाउने भएकोले गुनासो छैन । जबसम्म ग्राहकलाई सन्तुन्त बनउँन सकिदैन तबसम्म त्यो ब्राण्ड टिक्दैन । ग्राहकको रुची र सन्तुष्टि नै कम्पनीप्रतिको विश्वास हो । न्युरोड मोवाइल महोत्सव कस्तो रह्यो ? राम्रो भयो । धेरै भिडभाड हुनुका साथै व्यापार पनि राम्रो भएको छ । करिव २० करोड रुपैयाँ बराबर कारोबार भएको अनुमान छ । बजारको जम्मा मोवाइल मार्केट कतिको हो ? बार्षिक करीब २० अर्बको हो । यसमा न्युरोडमा ५० प्रतिशत भन्दा बढी हुने गरेकोले यहाँ करिब १० अर्बको कारोबार हुन्छ ।

मूल्य स्थिरिकरण कोषमा साढे तीन अर्ब राखेर उपभोक्तालाई मूल्य वृद्धि !

काठमाडौं, २१ । नेपाल आयल निगमले मूल्य स्थिरिकरण कोषमा ३ अर्ब ५१ करोड ३० लाख रुपैंयाँ राखेर पनि उपभोक्तालाई मूल्य वृद्धिको भार बोकाएको छ । पेट्रोलियम पदार्थको मूल्यमा स्थिरिकरण ल्याउने भन्दै निगमले २०७१ चैत २३ गतेदेखि मूल्य स्थिरिकण कोष स्थापना गरेको थियो । सो कोषमा हालसम्म ३ अर्ब ५१ लाख ३० लाख रुपैंयाँ जम्मा भैसकेको छ । पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा उपभोक्तालाई राहत दिन भन्दै स्थापना गरिएको कोषमा अरबौं रकम जम्मा भैसक्दा पनि त्यसको उपयोग गर्नुका साटो निगमले उल्टै मूल्य वृद्धि गरेर उपभोक्ताको ढाड सेकिरहेको छ । मूल्य स्थिरिकरण कोष आर्थिक बर्ष २०७१/७२ मा २ अर्ब ६१ करोड आर्थिक बर्ष २०७२/७३ मा ६९ करोड ८१ लाख आर्थिक बर्ष २०७३/७४(मंसिर १५ सम्म) २० करोड ४९ लाख जम्मा ३ अर्ब ५१ करोड ३० लाख तत्कालिन बाणिज्य तथा आपुर्ति मन्त्रालयले पेट्रोलियम पदार्थको मूल्य स्थिर बनाउन भन्दै आर्थिक बर्ष २०७१÷७२ मा स्थिरिकरण कोषको स्थापना गरेको थियो । सरकारले २०७१ चैत २३ गतेदेखि पेट्रोलियम पदार्थको बिक्रि मूल्यमा शुन्य दशलमब ५ प्रतिशत मूल्य स्थिरिकरण शुल्क असुल्न थालेको थियो । निगमले हाल पेट्रोलमा प्रतिलिटर ५१ पैसा, डिजेल र मट्टितेलमा ३९,३९ पैसा, आन्तरिक तथा बाह्य हवाई इन्धनमा क्रमशः ४३ र ४१ पैसा तथा एलपी ग्यासमा ६ रुपैंयाँ ६३ पैसा मूल्य स्थिरिकण कोषका लागि भन्दै असुलिरहेको छ । व्यवस्थापिका संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति अन्तर्गतको उप समितिले यसबारे छानबिन गर्ने बताएको छ ।‘निगमले उपभोक्तासँग बिभिन्न शिर्षकमा उठाएको रकमको एकिन हिसाब किताब तथा सदुपयोग भए नभएको अध्ययन गर्दैछौं’, उप समितिका संयोजक सुभाषचन्द्र ठकुरीले भने ।