भूकम्प पीडितमाथि राजनीति, पहिलो किस्तामा १ लाख ५० हजार दिने प्रमुख दलबीच सहमति, ५० हजार मात्रै बाड्दै प्राधिकरण

काठमाडौँ, ३२ साउन ।  असार १६ गते सरकार र प्रमुख प्रतिपक्षीबीच भूकम्प पीडितलाई दुई किस्तामा अनुदान रकम उपलब्ध गराउने सहमति भयो । आर्थिक वर्ष ०७३/७४ को बजेट पारित भएपछि आवास निर्माण गर्न पहिलो किस्तामा डेढ लाख र दोस्रो किस्तामा थप ५० हजार रूपैयाँ उपलब्ध गराउने तथा मापदण्ड पूरा गरि घर निर्माण गरिसकेकालाई भने एकमुष्ट २ लाख रूपैया दिने सहमति भयो । पहिले नै ५० हजार रूपैया अनुदान लिएकाले थप १ लाख पाउने तर पहिले नलिएकालाई एक मुष्ट डेढ लाख रूपैया दिने सहमति भयो । यसका लागि घर निर्माणको प्रारूप पेश गर्नुपर्ने छ । दोस्रो किस्ताको बाँकी ५० हजार भने घर निर्माणको सबै काम सकिएपछि निरिक्षण गरेर उपलब्ध गराउने सहमति छ । उक्त सहमति पछि नेपाली काँग्रेसले अवरुद्ध गर्दै आएको व्यवस्थापिका संसद् खुल्यो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरुबीच भएको सहमतिका आधारमा पहिलो किस्तामा १ लाख ५० हजार रुपैयाँ भूकम्प पीडितलाई दिने जानकारी संसद्लाई गराए । तर साउन ३१ गते सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकार र प्रमुख दलबीच भएको उक्त सहमति आफूलाई जानकारी नभएको बताए । जुन सहमति प्रधानमन्त्रीले संसद्लाई जानकारी गराएका थिए र लामो समय अवरुद्ध भएको संसद् खुलेको थियो । भूकम्प पीडितलाई राहात वितरण गर्ने सम्बन्धि कार्यविधिमा तीन किस्ता गरि भूकम्प पीडितलाई राहात दिने व्यवस्था भएकोले उक्त व्यवस्था परिवर्तन नभएसम्म पहिलो किस्तामा ५० हजार रुपैयाँ भन्दा बढी रकम वितरण गर्न नसकिने उनले बताए ।  यतिबेला एकै पटक भूकम्प पीडितलाई दुई लाख दिनु पर्छ भन्ने नेपाली काँग्रेसको समर्थनमा सरकार बनेको छ । के काँग्रेस प्रमुख घटक रहेको नयाँ सरकारले भूकम्प पीडितलाई एकै पटक दुई लाख रुपैंयाँ दिन्छ ? अथवा तत्कालिन सरकारसँग भएको सहमति अनुसार पहिलो किस्ता वापत एक लाख ५० हजार रुपैंयाँ दिन्छ ? प्राधिकरणले ५० हजार भन्दा बढी दिन मिल्दैन भनिरहदा नेपाली काँग्रेस के हेरेर बसिरहेको छ ? काँग्रेसका चाहाना साँच्चिकै भूकम्प पीडितलाई छिटो राहात दिनु हो वा भूकम्प पीडितको नाममा लज्जास्पद राजनीति गर्ने हो ? सरकार परिवर्तन भयो । नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ ४५ दिन भित्र उपलब्ध गराउने भन्दै आफ्नो पहिलो निर्णय गरेका छन् । नयाँ सरकार कार्यविधि परिवर्तन गरी भूकम्प पीडितलाई पहिलो किस्तामा १ लाख ५० हजार दिने निर्णयमा पुग्नसकेको छैन ।

२४ बाणिज्य बैंकको नाफा ३१ अर्ब ५१ करोड, यी हुन पहिलो पटक अर्ब कमाउने ७ बैंक

काठमाडौं, ३१ साउन । २४ वटा बाणिज्य बैंकहरुले २०७३ असार मसान्तसम्ममा ३१ अर्ब ५१ करोड ८५ लाख नाफा कमाउन सफल भएका छन् । आर्थिक वर्ष २०७२/७३ को चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेका २४ वटा बैंकले सो मात्रामा नाफा कमाउन सफल भएका हुन् । यीमध्ये १६ वटा बैंकले एक अर्ब भन्दा बढि नाफा कमाउन सफल भएको देखिन्छ । तीमध्ये ७ वटा बैंकले पहिलो पटक अर्ब भन्दा बढि नाफा कमाउन सफल भएका छन् । २४ वटा बाणिज्य बैंकले २०७२ साल असार मसान्तसम्मको तुलनामा २०७३ साल असार मसान्तसम्ममा २ अर्ब ९२ करोड नाफा बढाउन सफल भएका हुन् । सो अवधीमा तिनै २४ वटा बाणिज्य बैंकहरुले २८ अर्ब ५९ करोड रुपैंयाँ नाफा कमाउन सफल भएका थिए । कृषि विकास बैंक र राष्ट्रिय बाणिज्य बैंकको नाफा घटेकाले बाणिज्य बैंकहरुको कुल नाफामै कमि देखिएको हो । कृषि विकास बैंकको नाफा ३ अर्ब ६० करोडबाट घटेर २ अर्ब ५७ करोडमा सिमित भएको छ भने राष्ट्रिय बाणिज्य बैंकको नाफा ६ अर्ब ६४ करोडबाट घटेर २ अर्ब ६४ करोेडमा खुम्चिएको छ । यी दुई बैंकका अलवा स्ट्याण्डर्ड चाटर्ड बैंकको नाफा पनि एक अर्ब २९ करोडबाट घटेर एक अर्ब २६ करोडमा सिमित भएको छ । बाँकी सबै बैंकको नाफामा उल्लेख्य सुधार आएको देखिन्छ । यी हुन पहिलो पटक अर्ब कमाउने ७ वटा बाणिज्य बैंक एनएमबी बैंक, सिद्धार्थ बैंक, नेपाल बंगलादेश बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई, सिटिजन्स बैंक र एनआइसी एसिया बैंक पहिलो पटक एक अर्ब नाफा कमाउन सफल भएका हुन् । २०७२ असार मसान्तसम्म ५० करोड ३८ लाख नाफा कमाउन सफल भएको एनएमबी बैंकले २०७३ असार मसान्तसम्ममा एक अर्ब २० करोड खुद नाफा कमाएको छ । २०७२ असार मसान्तसम्ममा ७७ करोड नाफा कमाएको सिद्धार्थ बैंक पनि एक अर्ब २४ करोड नाफा कमाउँदै अर्ब कमाउने सूचिमा उक्लिएको छ । त्यस्तै, नेपाल बंगलादेश बैंकले पनि आफुलाई अर्ब नाफा गर्ने बैंकका रुपमा स्थापित गराएको छ । २०७२ असार मसान्तसम्ममा ८१ करोड ३९ लाख नाफा कमाएको बैंकले २०७३ असार मसान्तसम्ममा एक अर्ब १९ करोड नाफा कमाउन सफल भएको छ । प्राइम कमर्सियल बैंक पनि अर्ब नाफा कमाउने सूचिमा समावेश भएको छ । अघिल्लो असार मसान्तसम्मा ७४ करोड नाफा कमाएको प्राइमले यसपालीको असार मसान्तसम्ममा भने एक अर्ब १२ करोेड नाफा कमाउन सफल भएको हो । ग्लोबल आइएमई बैैंक पनि पहिलो पटक अर्ब कमाउने बैंकको सूचिमा उक्लिन सफल रह्यो । २०७२ असार मसान्तसम्ममा जम्मा ९६ करोड ६ लाख नाफा कमाएको बैंकले २०७३ असार मसान्तसम्ममा भने एक अर्ब ३९ करोड खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो पटक ७२ करोड ३ लाख नाफा कमाएको सिटिजन्स बैंकले पनि एक अर्ब १० करोेड नाफा आर्जन गरेर अर्ब कमाउने सूचिमा आफ्नो नाम लेखाएको छ । त्यस बाहेक एनआइसी एसिया बैंक पनि अर्ब कमाउने बैंकको सूचिमा नव प्रवेशी बनेको छ । एनआइसी एसिया बैंकले २०७३ असार मसान्तसम्ममा एक अर्ब ७ करोड नाफा कमाउन सफल भएको देखिन्छ । जबकी बैंकले २०७२ असार मसान्तसम्ममा जम्मा ६८ करोेड ३ लाख नाफा कमाएको थियो ।

कृषि विकास बैंकले कमायो २ अर्ब ५७ करोड, बाणिज्य बैंकको नाफा पनि २ अर्ब ६४ करोड

काठमाडौं, ३१ साउन । कृषि विकास बैंकले २०७३ असार मसान्तसम्ममा २ अर्ब ५७ करोड नाफा कमाएको छ । यद्यपी यो नाफा बैंकले २०७२ असार मसान्तसम्ममा कमाएको भन्दा एक अर्ब ३ करोडले कम हो । बैंकले सो अवधीमा ३ अर्ब ६० करोड नाफा कमाएको थियो । १० अर्ब ३७ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ३८ करोड रुपैंयाँ रहेको छ । बैंकको खराब कर्जा ५ दशमलब ३५ प्रतिशतबाट घटेर ३ दशमलब ८५ प्रतिशतमा झरेको छ । बैंकले ६२ करोड राइट ब्याकबाट प्राप्त गरेको छ भने ५६ करोड प्रोभिजन गरेको छ । ९ अर्ब ५६ करोड ब्याज आम्दानी गरेको बैंकले ३ अर्ब ३८ करोड ब्याज खर्च गरेको देखिन्छ । बैंकले निक्षेप संकलन पनि ७७ अर्बबाट बढाएर ८७ अर्ब पुर्याएको छ । बैंकको प्रति सेयर आम्दानी ५५ रुपैंयाँ ६४ पैसा र प्रति सेयर नेटवर्थ ३०३ रुपैंयाँ १५ पैसा रहेको छ । यसैबिच, राष्ट्रिय बाणिज्य बैंकले २०७३ असार मसान्तसम्ममा २ अर्ब ६४ करोड नाफा कमाएको छ । बैंकले कमाएको यो नाफा २०७२ असार मसान्तसम्ममा कमाएको भन्दा २ अर्बले कम हो । बैंकले सो अवधीमा ४ अर्ब ६४ करोड नाफा गरेको थियो । यद्यपी १ अर्ब ९१ करोड सञ्चित नोक्सानीमा रहेको बैंकले सो रकम तिरेर जगेडा कोषमा ७३ करोड रुपैंयाँ जम्मा गर्न सफल भएको छ । बैंकको खराब कर्जा पनि ५ दशमलब ३५ प्रतिशतबाट घटेर ३ दशमलब ९५ प्रतिशतमा झरेको छ । बाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब ४८ करोड रुपैंयाँ रहेको छ । बैंकको निक्षेप एक खर्ब २४ अर्बबाट बढेर एक खर्ब ४६ अर्ब पुगेको छ । बैंकले ७ अर्ब ४२ करोड ब्याज आम्दानी गरेर एक अर्ब ८७ करोड ब्याज खर्च गरेको देखिन्छ ।