८ करोड २० लाख लगानीको अवसर, तीन लघुवित्तले आइपिओ जारी गर्दै

काठमाडौं, २९ असार । नयाँ आर्थिक वर्षको सुरुमै ८ करोड २० लाख रुपैंयाँ बराबरको लगानीको अवसर जुट्ने भएको छ । तीन वटा लघुवित्त कम्पनीले सर्वसाधारणका लागि सेयर निष्काशन गर्दैछन् । सो मात्रामा साधारण सेयर निष्काशनका लागि ती कम्पनीहरुलाई नेपाल धितो पत्र बोर्डले अनुमति दिईसकेको छ । यसरी साउन लाग्ने वित्तिकै सेयर निष्काशन गर्ने तयारीमा नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था, सुर्योदय लघुवित्त वित्तिय संस्था र आरएसडिसी लघुवित्त वित्तिय संस्था रहेका छन् । यी संस्थाहरुलाई आइपिओ जारी गर्न नेपाल धितो पत्र बोर्डले बिभिन्न मितिमा अनुमति दिएको हो । नेशनल माइक्रोफाइनान्सले जेठ २४ गते नै तीन करोड मुल्य बराबरको तीन लाख कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । त्यस्तै, सुर्योददय लघुवित्त वित्तिय संस्थाले असार १४ गते नै एक करोड २० लाख मुल्य बराबरको एक लाख २० हजार कित्ता साधारण सेयर निष्काशनका लागि अनुमति पाएको छ । आरएसडिएस लघुवित्त वित्तिय संस्थाले ४ करोड मुल्य बराबरको चार लाख कित्ता साधारण सेयर निष्काशनका लागि असार १७ गते अनुमति पाएको हो । यीमध्ये नेशनल र आरएसडिसको बिक्रि प्रबन्धकमा एनआबिएल क्यापिटल नियुक्त भएको छ भने सुर्योदयको बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएका छन् । साधारण सेयर निष्काशन सम्बन्धी व्यवस्था अनुसार धितो पत्र बोर्डबाट अनुमति पाएको दुई महिना भित्र सेयर निष्काशन गर्नुपर्नेछ । त्यस्तै सेयर निष्काशन गर्ने मितिको एक हप्ता अघि नै निष्काशन सम्बन्धी सूचना प्रकाशित गर्ने व्यवस्था रहेको छ । प्छिल्लो समय लघु वित्त कम्पनीहरुको सेयर मुल्य निरन्तर बढिरहेको छ । बीमा समितिले लघुवित्त कम्पनीको पुँजी बढाउने तयारी गरेपछि सेयरको मुल्य अझै आकाशिँदै गएको छ ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउने काँग्रेस निर्णय

काठमाडौं, २९ असार । नेपाली काँग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ । बुधबार बसेको काँग्रेस केन्द्रिय कार्यसमितिको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो । काँग्रेसले माओवादी केन्द्रसँग गरिएको सात बुँदे सहमति अनुमोदन समेत गरेको छ । यसैबिच तीन बजेसम्म प्रधानमन्त्री ओलीले राजीनामा नगरेर संयुक्त अविश्वासको प्रस्ताव पेश गर्ने निर्णय पनि काँग्रेसले गरेको छ । त्यस बाहेक सत्ता साँझेदारीका बारेमा समेत भद्र सहमति भएको बैठकमा नेताहरुले बताएका थिए । ९ महिना प्रचण्डले सरकारको नेतृत्व गरेर स्थानिय निर्वाचन गर्ने र त्यसपछि काँग्रेस सभापति शेर बहादुर देउवाले केन्द्र र प्रदेशको निर्वाचन गराउने सहमति भएको बैठकमा नेताहरुले जानकारी दिएका थिए ।

ओलीले राजीनामा नदिए बजेट पास नहुने, अविश्वासको प्रस्ताव पेश हुने

काठमाडौं, २८ असार । मंगलवार मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीलाई राजीनामा गर्न दबाब दिएको छ । प्रधानमन्त्रीले पदवाट राजीनामा नदिए बजेट पारित हुन नदिने र सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ । बुधवार विहान प्रचण्ड निवास लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निर्णय गरेको बैठक पछि पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । केन्द्रले मंगलवार सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि बजेट पारित गर्न सहयोग गर्ने नेता कृष्णबहादुर महराले जानकारी दिएका थिए । संसदको बुधवारको बैठकमा आर्थिक विधयेक, राष्ट्र ऋण उठाउने विधयेक र ऋण तथा जमानत विधयेक पारित गर्ने कार्यसुची छ । विनियोजन विधयेक यसअघि नै पारित भइसकेको छ । यी सवै विधयेक पारित भएपछि एकमुष्ठ रुपमा बजेट पारित गर्ने कार्यसुची संसदको छ । केन्द्रले दिएको समर्थन फिर्ता लिएपछि ओली सरकार अल्पमतमा परेको छ । केन्द्रले समर्थन फिर्ता लिएपछिको रणनीति तय गर्न र पछिल्लो राजनीतिक घटनाक्रम विश्लेषण गर्न मंगलवार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको स्थायी समिति बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने र संसदमा सामना गर्ने निर्णय गरेको थियो । संसदमा विचाराधिन बजेट नेकपा माओवादी केन्द्र समेत सरकारमा सहभागी भएको सरकारले ल्याएको बजेट हो । नेपाली काँग्रेसले यो बजेट पारित गर्न सहयोग नगर्ने यसअघि नै प्रष्ट पारिसकेको छ । केन्द्रले सहयोग नगरेमा बजेट पारित हुन सक्ने छैन ।