नेपाल राष्ट्र बैंक र भारतीय केन्द्रीय बैंकबीच सूचना आदान प्रदानको समझदारी

काठमाडौं, ३० भदौ । नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकबीच सुपरिवेक्षकीय सूचना आदान–प्रदान गर्ने तथा बैंक सुपरिवेक्षणका क्षेत्रमा सम्बन्ध र सहयोग विस्तार गर्ने सम्बन्धि समझदारी भएको छ । भदौ २८ मा राष्ट्र बैंक र भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डियाविच समझदारी भएको हो । यस्तो समझदारी पत्रमा राष्ट्र बैंकका तर्फवाट बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल र रिजर्व बैंकका तर्फवाट बैंकिङ सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक मीना हेमचन्द्रले हस्ताक्षर गरेका हुन् । यस्तो समझदारी रिजर्व बैंकको केन्द्रीय कार्यालय मुम्बइमा सम्पन्न भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । दुबै देशका केन्द्रीय बैंकले आ–आफ्नो सुपरिवेक्षण क्षेत्राधिकार अन्तर्गत पर्ने वाणिज्य बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षण गर्नका लागि जानकारी तथा सुचनाहरु आदान प्रदान गर्नेछन् । यसरी सुचना तथा जानकारीहरु आदान प्रदान गर्दा प्राप्त जानकारी वा सूचना भंग नहुने गरी विदेशी सुपरिवेक्षण अधिकारीसँग सूचना÷जानकारी आदान–प्रदान गरिन बताइएको छ । यस्तो समझदारी राष्ट्र बैंकका लागि विदेशी सुपरिवेक्षण अधिकारीसँग गरिएको पहिलो सहमती–पत्र हो । सुपरिवेक्षण अधिकारीहरूबीच पारम्परिक सहयोग, सद्भाव र सम्बन्ध विस्तार गर्ने तथा सुपरिवेक्षकीय जानकारी एवम् सूचना आदान–प्रदान गर्ने उद्देश्यले अन्य मुलुकका सुपरिवेक्षण अधिकारीहरूसँग समेत यस्तो सहमती गर्दै जाने नीति नेपाल राष्ट्र बैंकको रहेको छ । सहमती–पत्रमा हस्ताक्षर कार्यक्रममा बैंक सुपरिवेक्षण विभागका निर्देशक झलक शर्मा आचार्य तथा भारतीय रिजर्व बैंकका बैंकिङ सुपरिवेक्षण विभागका पदाधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले केहि बर्ष अगाडिदेखि नै यस्तो समझदारी गर्ने प्रयत्न थालेको थियो ।

यी हुन नाटा अटो सोमा सार्वजनिक गरिएका नयाँ गाडी

काठमाडौं, २९ भदौं । मंगबारबाट सुरु भएको नाटा अटो मोबाइल सोमा विभिन्न कम्पनीले नयाँ प्रडक्ट सार्वजनिक गरेका छन् । अन्तराष्ट्रियदेखि क्षेत्रीय हुँदै लोकल मार्केट समेत पकड जमाउन सफल कम्पनीहरुले नाडा अटो सोमा अर्थमन्त्री डा. रामशरण महत मार्फत आफ्ना प्रडक्ट सार्वजनिक गरेका हुन् । यसरी नयाँ प्रडक्ट सार्वजनिक गर्ने कम्पनीहरुमो टोयोटा, होण्डा, सुजुकी र टाटा कम्पनी छन् । टोयोटाले इटिओस क्रस डिजेल नामको कार सार्वजनिक गरेको हो । यसको मूल्य ४४ लाख ४५ हजार रुपैयाँ पर्छ । हेण्डाले नयाँ ज्याज कार भित्र्याएको छ । यसको मूल्यभने २८ लाख ३४ हजारदेखि ३९ लाख २५ हजार रुपैयाँसम्म पर्छन् । सुजुकीले एस क्रस र अल्टो के १० भित्र्याएको छ । एस क्रसको ३८ लाख ९९ हजारदेखि ६१ लख ९९ हजारसम्म पर्छन् । यी कारण बिभिन्न सिसि क्षमतामा उपलब्ध हुनेछन् । अल्टो के १० को भने १९ लाख ९९ हजार रुपैयाँ पर्छ । यो गाडी ९९८ सीसीमा मात्रै उपलब्ध छ । टाटा मोटर्सको स्टोर्म पनि भित्रिएको छ । २१७९ सीसीको यो कारमा ६३ लिटर इन्धन हाल्न मिल्छ । स्कोडाका पनि दुई वटा कार मंगलबार नै नेपाली बजारमा भित्रिएका छन् । स्कोडाले अक्टाभिया र यती कार सार्वजनिक गरेको हो । अक्टाभियाको बजार मूल्य ७१ लख ९५ हजार र ८१ लख ९५ हजार रुपैयाँ पर्छ । स्कोडा यतीको मूल्यभने ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । सबै कम्पनीहरुले नयाँ डिजाईन र नयाँ सुबिधा सहित नेपाली बजारमा आफ्ना उत्पादन प्रवेश गरेको दावी गरेका छन् ।

नविल बैंकले १२० प्रतिशत बोनस सेयर दिने, बोनसबाटै आठ अर्ब पुँजी पुर्याउने

काठमाडौं, २८ भदौं ।  नविल बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई तीन वर्षको नाफाबाट कम्तिमा १२० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले तीन वर्षको नाफाबाट कम्तिमा ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव अगाडि सारेको छ । नविल आगामी अडाई वर्षमा सेयरधनीसँग हाल भएको सेयरमा कम्तिमा १२० प्रतिशत सेयर थपिने छ । हाल १०० कित्ता सेयर हुनेसँग अडाई वर्षपछि कम्तिमा २२० कित्ता सेयर हुने छ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्ब पुर्याउने नविल बैंकले बोनस सेयर दिने एउटा मात्र प्रस्ताव अगाडि सारेको छ । उसले कुनै पनि बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा एक्वीजिसन नगर्ने नीति लिने भएको छ । बैंकले बोनस सेयर जारी गरेर चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने योजना राष्ट्र बैंकलाई बुझाउँदैछ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ६५ करोड ७६ लाख रुपैयाँ छ । तीन आर्थिक वर्षको नाफाबाट ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गरी पुँजी ८ अर्ब पुर्याउने लागेको हो । तीन आर्थिक वर्षको नाफा साढे ६ देखि ७ अर्ब रुपैयाँ सम्म हुने सक्ने बैंकको विश्लेषण छ । ‘गत आर्थिक वर्षमा २ अर्ब १० करोड खुद नाफा आर्जन गरेको छ । आगामी दुई आर्थिक वर्षमा कम्तिमा ४ अर्ब ५० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सकिन्छ’ नविल बैंक स्रोतले भन्यो–‘गत आर्थिक वर्षको भन्दा नाफा घट्दैन । आगामी दुई वर्षमा ४ अर्ब २० करोड रुपैयाँ मात्र नाफा भयो भने पनि गत वर्षको नाफा जोड्दा ६ अर्ब ३० करोड रुपैयाँ हुन्छ । त्यसबाट सजिलै ४ अर्ब ३५ करोड रुपैयाँको बोनस सेयर दिन सकिन्छ ।‘ राष्ट्र बैंकले २०७४ असार मसान्तसम्मको नाफाबाट प्रस्तावित बोनस सेयरलाई चुक्ता पुँजीको मान्यता दिने भएपछि नविल बैंकले बोनस सेयरबाटै राष्ट्र बैंकको तोकेको पुँजी पुर्याउने योजना बनाएको हो । बैंकको संचित नाफा ६ अर्ब ११ करोड रुपैयाँ छ ।