शेरधन राईले भने, लोकमानलाई बोलाएर हिरो बन्न खोजे
१८ मंसिर । संसद्को सुशासन तथा अनुगमन समितिका सभापति शेरधन राईले संसदीय समितिहरूले अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई स्पष्टीकरणका लागि बोलाएर आफू हिरो बन्न खोजेको आरोप लगाएका छन् । अनुशासन समिति नै संसद्का अन्य समितिविरुद्ध उत्रिएपछि अहिले समस्या उत्पन्न भएको छ । बिहीबार रिपोर्टर्स क्लबको साक्षात्कारमा सभापति राईले समितिहरुबीचमै क्षेत्राधिकारलाई लिएर विवाद देखिएको भन्दै यसबारेमा सभामुख सुवासचन्द्र नेम्बाङले तत्काल संसदीय समितिका सभापतिहरुको बैठक बोलाएर क्षेत्राधिकारका सम्बन्धमा प्रस्ट पार्न माग पनि गरे । संसद्को कृषि तथा जलस्रोत समितिले पुनः अख्तियार प्रमुख कार्कीलाई बयानका लागि पत्र काटेपछि अहिले यसले ठूलो चर्चा पाएको छ । सो समितिका सभापति गगन थापा छन् । यसअघि कार्कीले अर्थ समितिमा बयान दिएका थिए । कार्कीले आफूल अनुशासन समितिबाहेक अन्य समितिमा उपस्थिति नहुने बताएका छन् । बारम्बार बोलाउँदा संसद्को अपमान गरेको ठहर हुने हो कि भन्ने डर कार्कीमा पनि देखिएको छ । त्यसैले उनले अनुशासन समितिलाई प्रयोग गरिरहेको सभासद्हरू बताउँछन् । कार्यक्रममा राईले आफ्नो मर्यादालाई ख्याल गरेर समितिहरू अघि बढ्नुपर्ने र अख्तियारले पनि संसद्को मर्यादा राख्नुपर्ने भन्दै उसले आफूलाई मन लागेको समितिमा जाने र नलागेको समितिमा जान्न भन्न नमिल्ने धारणा राखे । उनले भने, ‘‘संवैधानिक अंगका प्रमुखहरूलाई लगातार बोलाउँदा आयोगका कामकारबाहीहरू प्रभावित हुन्छन्, त्यसमा पनि हामीले ख्याल गर्नुपर्छ ।’’ राईले अख्तियारलाई प्रभाकारी, जवाफदेही, उत्तरदायी र कर्तव्यनिष्ठ बनाउन संसदीय समितिले सहयोग गर्नुपर्ने बताउँदै अख्तियारले सिमा नाघेमा उसलाई पनि समितिले नियन्त्रण गर्नसक्ने स्पष्ट पारेका छन् ।
राष्ट्र बैंककै डेढ करोड खाएर भागे सहकारी
१८ मंसिर । ३८ सहकारी संस्थाका संचालक नेपाल राष्ट्र बैंककै डेढ करोड रुपैयाँ लिएर बेपत्ता भएका छन् । सर्वसाधारणको रकम लिएर बेपत्ता हुने सहकारी संस्थाका संचालकहरुले राष्ट्र बैंककै पैसा खाएर बेपत्ता भएका हुन् । राष्ट्र बैंकको लघुवित्त प्रबद्र्धन तथा सुपरीवेक्षण विभागवाट २०५३ सालदेखि २०६८ सालसम्म ऋण लिएका ३८ सहकारी संस्थाका संचालकहरु बेपत्ता भएका हुन् । उनीहरुले राष्ट्र बैंकको १ करोड ४१ लाख ९५ हजार रुपैयाँ ऋण लिएका थिए । सो ऋणको सावा ब्याज पनि भुक्तानी नगरेको र संस्थाका संचालकहरु सम्पर्कमा पनि नभएको राष्ट्र बैंकको भनाइ छ । यसरी ऋण खाएर बेपत्ता हुने सहकारी संस्थाहरु खोज्न राष्ट्र बैंकले सहकारी विभाग मार्फत डिभिजन सहकारी कार्यालयहरुलाई अनुरोध पनि गरेको छ । राष्ट्र बैंकले गत २८ कात्तिकमा पत्र पठाउदै आफूसँग ऋण लिएर बेपत्ता हुने सहकारी संस्थाको अवस्थावारे जानकारी माग गरेको हो । राष्ट्र बैंकले दिएको जानकारी अनुसार ऋण लिएर बेपत्ता हुने सहकारी संस्थाहरुमा सितागंज सुनसरीको प्रतिभा बचत तथा ऋण सहकारी, मालिका दैलेखको कालिकादेबी जनकल्याण बचत तथा ऋण सहकारी, नारेश्वर गोरखाको नारेश्वर बचत तथा ऋण सहकारी, र खुर्काेट पर्वतको खूर्काेट युवा क्लब बचत तथा ऋण सहकारी संस्था रहेका छन् । ऋण खाएर बेपत्ता हुने अन्य सहकारी संस्थाहरुमा समुन्द्रटार नुवाकोटको समुन्द्रेश्वरी महिला बचत तथा ऋण सहकारी, रालुकादेबी नुवाकोटको नवबुद्ध महिला बचत तथा ऋण सहकारी, राउतबेशी नुवाकोटको दुप्चेश्वरी महिला बचत तथा ऋण सहकारी, राउतवेशी नुवाकोटकै भुमिस्थान महिला बचत तथा ऋण सहकारी, महेन्द्रनगर कञ्चनपुरको कञ्चन बचत तथा ऋण सहकारी, गौरादह झापाको ग्रामीण विकास बचत तथा ऋण सहकारी, पिपलाडी कञ्चनपुरको नमुना बचत तथा ऋण सहकारी, जोशीपूर कैलालीको श्रृजनशील बचत तथा ऋण सहकारी, पर्सा चितवनको महिला बहुउदेश्यीय सहकारी, भारपा पाँचथरको पाथिभरा दुग्ध उत्पादक सहकारी र बागेश्वरी नुवाकोटको सूर्यगढी बहुउदेश्यीय सहकारी संस्था रहेका छन् । समयमै ऋण नतिर्ने अन्य सहकारी संस्थाहरुमा खादबारी संखुवासभाको अरुण बहुउदेश्यीय सहकारी, भण्डारा चितवनको सिकारा वहुमुखी सहकारी, बुखेल ललितपूरको प्रगतिशील बचत तथा ऋण सहकारी, नेटा लम्जुङको आदिवासी आयआर्जन बचत तथा ऋण सहकारी, बनेपा काभ्रेको बागमति बहुउदेश्यीय सहकारी, मेलम्ची सिन्धुपाल्चोकको जागेश्वरी नारी चेतना बचत तथा ऋण सहकारी, र रुपनगर सप्तरीको सगरमाथा बहुमुखी सहकारी संस्था रहेका छन् । अन्य सहकारी संस्थाहरुमा दुराडाडा लम्जुङको जनता दुग्ध उत्पादक सहकारी, गैडाकोट नवलपरासीको किसान बचत तथा ऋण, चारपाने झापाको सूर्योदय दुग्ध उत्पादक सहकारी, नयाँपाटी काठमाडौंको रेडियन्ट सेभिङ्ग एण्ड क्रेडिट सहकारी,थानसिंह नुवाकोटको सचेतना महिला विकास बचत तथा ऋण सहकारी, ताघ्रिङ लमजुङको कालिका आयआर्जन बचत तथा ऋण सहकारी, घोराही दाङको नवपालुवा बचत तथा ऋण सहकारी र सिम्पानी मकवानपुरको विश्वज्योति स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था रहेका छन् । राष्ट्र बैंककै पैसा खाएर बेपत्ता हुने अन्य सहकारीहरुमा फोक्सिङ्गटार काभ्रेको डाडापारी बहुउदेश्यीय सहकारी, भुजहवा नवलपरासीको जनकल्याण आयआर्जन बचत तथा ऋण सहकारी, बन्दीपूर तनहूको तीनधारा बहुउदेश्यीय सहकारी, बुधवारे झापाको ओम शिव बचत तथा ऋण सहकारी र बेलुवा वर्दियाको नवप्रभात स्वावलम्बन कृषक बहुउदेश्यीय सहकारी संस्था रहेका छन् । यस्तै मुडली पर्साको न्यू जिबनज्योति बचत तथा ऋण सहकारी, बसेरी धादिङ्गको महालक्ष्मी कृषि बहुउदेश्यीय सहकारी, सिर्सिया पर्साको दलित उत्थान बचत तथा ऋण सहकारी र सुनावली जाजरकोटको सूर्य बचत तथा ऋण सहकारी संस्थाका संचालक पनि र पैसा खाएर बेपत्ता भएका राष्ट्र बैंकको भनाइ छ ।
बैंकर्स संघको अध्यक्षमा पौडेल, उपाध्यक्षमा शाह
१७ मंसिर । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा उपेन्द्र पौडेल निर्विरोध निर्वाचित हुने भएका छन् । संघको शुक्रबार बस्ने साधारणसभाले एनएमबी बैंकका कार्यकारी प्रमुख (सीईओ) पौडेललाई अध्यक्षमा निर्वाचित गर्ने भएको छ । पौडेल हाल उपाध्यक्ष छन् । नयाँ नेतृत्वका लागि मंगलबारसम्म उम्मेदवारका लागि मनोनयन दर्ताको समय तोकिएकोमा पौडेलबाहेक कसैले पनि मनोनयन नगरेपछि पौडेल अध्यक्ष हुने निश्चित भएको छ । हालका अध्यक्ष सीटीजन बैंकका सीईओ राजनसिंह भण्डारी रहेका छन् । उनले अर्को कार्यकालका लागि मनोनयन दर्ता गराएका छैनन् । अध्यक्षको कार्यकाल दुई वर्षको हुनेछ । यसैगरी, दुई उपाध्यक्षमध्ये एकका लागि मेगा बैंकका सीईओ अनिल शाहले मनोनयन दर्ता गरेका छन् । हाल संघमा एउटा उपाध्यक्ष पद खाली छ । ग्रान्ड बैंकका सीईओ सुधिर खत्री बाहिरिएपछि उनको पद रिक्त छ । सबैको कार्यकाल दुई दुई वर्ष हुने भएकाले रिक्त हुने पद संघको कार्यकारिणी सभा बसेर पूर्ति गर्ने गरिन्छ । संघको आठ सदस्यमा ग्लोबल आईएमई बैंकका सीईओ रत्नराज बज्राचार्य, नबिल बैंकका सीईओ अनिल ज्ञवाली, बैंक अफ काठमाण्डूका सीईओ अजय श्रेष्ठ, सनराइज बैंकका सुरेन्द्रमान प्रधान (हालै राजीनामा दिएका), सिभिल बैंकका किशोर महर्जन, राष्ट्रिय वाणिज्य बैंकका कृष्णप्रसाद शर्मा, स्ट्यान्डर्ड चार्टर्ड बैंकका पीजे सिलभानुस र सानिमा बैंकका भुवन दाहाल रहेका छन् ।