राष्ट्र बैंकबाट विदा भए गुणाकर, ‘अब विद्यार्थीलाई पढाउँछु’
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट राष्ट्र बैंकबाट विदा भएका छन् । उनी राष्ट्र बैंकबाट अनिवार्य अवकाशमा विदा भएका हुन् । राष्ट्र बैंक कर्मचारी सेवा नियमावली अनुसार कार्यकारी निर्देशक पदमा सात वर्षे कार्यकाल पूरा भएपछि अनिवार्य अवकाश पाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार उनी कात्तिक ५ गतेबाट राष्ट्र बैंकबाट विदा भएका हुन् । वि.सं २०५७ सालमा सहायक निर्देशकका रुपमा राष्ट्र बैंकमा प्रवेश गरेका उनले राष्ट्र बैंकमा साढे दुई दशक सेवा गरे । उनी २०७५ कात्तिकमा कार्यकारी निर्देशकका रुपमा काम सुरु गरेका थिए । यो अवधिमा उनले राष्ट्र बैंकको प्रवक्तासँगै आर्थिक अनुसन्धान विभाग, बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग र मौद्रिक व्यवस्थापन विभाग लगायतको नेतृत्व गरेर आफ्नो क्षमता देखाएका छन् । एक काविल अर्थशास्त्री र अनुभवी थिंकट्यांकका रुपमा आफूलाई चिनाएका भट्टको घर सुदूरपश्चिम हो । उनी राष्ट्र बैंकको गभर्नरको प्रतिस्पर्धामा पनि लागेका थिए । तर, त्यसमा उनी सफल हुन सकेनन् । भट्टले अमेरिकाको विलियम्स कलेजबाट मास्टर्स र अमेरिकाको वयन स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका छन् । त्रिभुवन विश्व विद्यालयबाट मास्टर्समा स्वर्ण पदक जितेका उनको अनुसन्धान क्षेत्र मौद्रिक अर्थशास्त्र, वित्तीय अर्थशास्त्र, र विकास अर्थशास्त्रमा केन्द्रित रहेको छ । उनले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा अनुसन्धान लेखहरू प्रकाशित पनि गरेका छन्। उनले अब अवकाश जीव अध्ययन अध्यापनमा बिताउने बताएका छन् । ‘अब अध्ययन अध्यापनमा थप सक्रिय हुन्छु, सामाजिक काममा क्रियाशिल रहन्छु,’ उनले भने ।
सूर्य नेपालको ८ लाख कित्ता सेयर नष्ट, ब्रिटिस अमेरिकन टोबाकोद्वारा नयाँ सेयर माग
काठमाडौं । सूर्य नेपाल प्राइभेट लिमिटेडको ८ लाख ६ हजार ४ सय कित्ता सेयर नष्ट भएको एक सेयरधनीले दावी गरेका छन् । कम्पनीका अनुसार बेलायतको लण्डनस्थित ब्रिटिस अमेरिकन टोबाको (इन्भेस्टमेन्ट) लिमिटेडबाट जारी सेयर प्रमाणपत्र नष्ट भएको हो । ब्रिटिश अमेरिकन टोबाको (इन्भेस्टमेन्ट्स) लिमिटेडले सेयर कित्ता नम्बर ३८९७६०४९ देखि ३९७८२४४८ सम्मका ८ लाख ६ हजार ४ सय कित्ता सेयर नष्ट भएको दावीसहित नयाँ सेयर माग दावी गरेको छ । उक्त सेयर प्रमाणपत्र कसरी नष्ट भएको भन्ने विषयमा कम्पनी स्पष्ट पारेको छैन । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण अदालतसहित देशभरका सरकारी कार्यालयहरू तथा निजी कम्पनीका महत्वपूर्ण कागजातहरू हराएका वा जलेका समयमा ब्रिटिश अमेरिकन टोबाको नयाँ दावी परेको हो । ब्रिटिस अमेरिकन टोबाकोले सेयर प्रमाणपत्र नष्ट भएको दावीसहित नयाँ सेयर प्रमाणपत्र माग गरेको र माग अनुसार नयाँ सेयर प्रमाणपत्र जारी गर्न लागिएको सूर्य नेपालले जनाएको छ । नयाँ सेयर प्रमाणपत्र जारी गर्न नमिल्ने भए त्यसको कारणसहित ७ दिन भित्र निवेदन पेस गर्न पनि सूर्य नेपालले अपिल गरेको छ । निवेदन काठमाडौं महानगरपालिका-१ स्थित सूर्य नेपालको कार्यालयमा लिखित रूपमा पेश गर्न कम्पनी सचिवले अनुरोध गरेको छ ।
‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो, बक्यौता रकम ८ अर्ब नाघ्यो
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रङ्कलाइन प्रयोग गरेर त्यसवापतको महसुल नतिर्ने थप १८ वटा उद्योगको विद्युत् लाइन काटेको छ । यसअघि प्राधिकरणले ६ वटा उद्योगको लाइन काटेकामा शुक्रबार रातिदेखि थप १८ वटा उद्योगको बिजुली काटेको हो । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार हिजो पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, कसमस सिमेन्ट, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलवारी स्वचालित कारखाना, जगदम्बा सेन्थेटिक, एभरेष्ट रोलिङ इन्ड्रस्टिज, घराना फुड्स, विशाल सिमेन्ट, बुटवल सिमेन्ट, निगाले सिमेन्ट, एसआर फुड्स, सिद्धार्थ पेट प्लान्ट, हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न र सोना मिनरल्स एन्ड आयल्सको बिजुली काटिएको हो । यसअघि जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् आपूर्ति कटौति गरिएको थियो । कूल आठ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका उद्योगहरुमध्ये केहिले किस्तामा तिर्न थालेको र केही कानुनी प्रक्रियामा गएका प्रवक्ता ढकालले बताए । 'डेडिकेटेड फिडर र ट्रङ्कलाइन प्रयोग गरेर महसुल तिर्न बाँकी १४ उद्योगले किस्तामा भुक्ताती गर्न थालेको छन् भने छ वटा उद्योगले अदालतबाट अन्तरिम आदेश लिएका छन् । हेटौडा सिमेन्ट र उदयपुर सिमेन्टको पनि बक्यौता छ', उनले भने । डेडिकेटेड र ट्रङ्कलाइनको महसुल उठाउने विषय २०७५ साल यता सुल्झिन सकेको छैन । प्राधिकरणका तत्कालीन सञ्चालक भक्तबहादुर पुनको संयोजकत्वमा पहिलोपटक डेडिकेटेड र ट्रङ्कलाइनको महसुल बक्यौताबारे अध्ययन भएको थियो । त्यसपछि प्राधिकरणले बक्यौता उठाउने प्रयास गर्दै आएको छ । उद्योगी–व्यवसायीहरुले भने आफुहरुले डेडिकेटेड र ट्रङ्कलाईन प्रयोग नै नगरेकाले त्यसको महसुल नतिर्ने अडान लिँदै आएका छन् । यो विषय अदालत, सङ्घीय संसद्को सार्वजनिक लेखा समिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ । प्राधिकरणले गत असोज १२ गते उद्योगहरुलाई २१ दिनभित्र बक्यौता बुझाउन सार्वजनिक सूचना जारी गरेको हो । किस्ताबन्दीमा बक्यौता तिर्ने सुविधा दिएको प्राधिकरणले सो अवधिसम्ममा बक्यौता तिर्न नआएपछि विद्युत् महसुल सङ्कलन नियमावली, २०७८ अनुसार लाइन काटिएको जनाएको छ । रासस