५ आर्थिक वर्षमा ड्राइफ्रुट्स आयातमै बाहिरियो १६ अर्ब ९ करोड, ओखर मात्रै ५ अर्ब
काठमाडौं । नेपालीहरूको दोस्रो महान चाड तिहार सुरु भइसकेको छ । तिहारका लागि अति महत्त्वपूर्ण खाद्यपदार्थमा पर्ने ओखर, काजु, बदाम, किसमिस, पिस्ता, छोकडालगायतको ड्राइफ्रुट्स सबैभन्दा धेरै खपत हुने गर्दछ । नेपाल कृषिप्रधान देश भएपनि कृषिसँग सम्बन्धित प्रायः सबै खाद्यपदार्थ विदेशबाट आयात गर्ने गरेको छ । यति मात्रै होइन, मूल्यको हिसाबले सबैभन्दा धेरै महंगो पर्ने ओखर, बदामजस्ता ड्राइफ्रुट्स आयातमा पनि नेपालले वार्षिक अर्बौं रकम खर्च गर्दै आएको छ । भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो पाँच आर्थिक वर्षमा ओखर, बदाम, काजु, नरिवल, छोकडा र पिस्ता आयात गर्दा १६ अर्ब ९ करोड ४ लाख रुपैयाँ बाहिरिएको छ । नेपालमा सबैभन्दा धेरै ओखर आयात हुने गरेको तथ्यांकले देखाउँछ । तथ्यांकअनुसार पाँच आर्थिक वर्षमा ५ अर्ब ४० करोड ४५ लाख रुपैयाँको आयात भएको छ । भन्सार विभागका अनुसार ओखरपछि नेपालमा सबैभन्दा धेरै काजु ३ अर्ब ७९ करोड ९४ लाख रुपैयाँको भित्रिएको छ । त्यस्तै, पाँच वर्षमा ३ अर्ब ४१ करोड ६९ लाख रुपैयाँ बराबरको बदाम, ३ अर्ब २० करोड रुपैयाँ बराबरको नरिवल, १८ करोड ६३ लाख रुपैयाँको छोकडा र ८ करोड २३ लाख रुपैयाँ बराबरको पिस्ता आयात भएको विभागको तथ्यांकले देखाउँछ । ओखर आयात तथ्यांक नेपालमा ओखरको व्यवसायिक खेती छैन । नेपालमा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा केही मात्रामा ओखर उत्पादन भइरहे पनि व्यवसायिक रूपमै खेती नहुँदा आयात गरेरै खानुपर्ने अवस्था छ । तथ्यांकअनुसार वार्षिक एक अर्ब रुपैयाँ बराबरको ओखर आयत हुँदै आएको छ । भाइटीकामा अति आवश्यक मानिने ओखर स्वास्थ्यको हिसाबले पनि फाइदाजनक मानिन्छ । जसको कारण पछिल्लो समय ओखर आयात बढ्दै गएको व्यवसायीहरू बताउँछन् । तथ्यांकअनुसार आव २०८१/८२ मा ओखर आयातमा सबैभन्दा धेरै नेपाली रुपैयाँ विदेशिएको छ । उक्त आवमा १ अर्ब ५५ करोड ९७ लाख रुपैयाँ बराबरको ओखर आयत भएको छ । त्यसपछि आव २०८०/८१ मा १ अर्ब १४ करोड १३ लाख रुपैयाँको ओखर आयात भएको छ । आव २०७७/७८ मा १ अर्ब ५ करोड ९७ लाख रुपैयाँ, आव २०७८/७९ मा ७२ करोड ८५ लाख रुपैयाँ र आव २०७९/८० मा ९१ करोड ५२ लाख रुपैयाँ बराबरको ओखर आयात भएको छ । काजु आयात तथ्यांक नेपालमा खासै उत्पादन नहुने र मूल्यको हिसाबले पनि महंगो पर्ने काजु आयात आव २०७७/७८ मा सबैभन्दा बढी आयात भएको देखिन्छ भने आव २०८०/८१ मा घटेको छ । तथ्यांकअनुसार आव २०७७/७८ मा १ अर्ब १७ करोड २३ लाख रुपैयाँको आयात भएको छ । त्यस्तै, आव २०७८/७९ मा १ अर्ब १७ करोड २५ लाख रुपैयाँ आयात भएको छ । आव २०७९/८० यता भने काजु आयातमा केही कमी आएको देखिन्छ । तथ्यांकअनुसार आव २०७९/८० मा ५६ करोड ७ लाख रुपैयाँ, आव २०८०/८१ मा ३६ करोड १५ लाख रुपैयाँ र आव २०८०/८१ मा ५३ करोड २२ लाख रुपैयाँ आयात भएको छ । बदाम आयात तथ्यांक अत्यन्तै महंगो मानिने र नेपालमा मधेसी बदामको रूपमा चिनिने यो ड्राइफुड्स पनि वार्षिक करोड रुपैयाँ बराबरको आयात हुँदै आएको छ । भन्सार विभागको तथ्याकअनुसार आव २०७७/७८ मा ९१ करोड २४ लाख रुपैयाँको बदाम आयात भएको छ । आव २०७८/७९ मा ८४ करोड १८ दाख रुपैयाँ, आव २०७९/८० मा ५५ करोड ५३ लाख रुपैयाँ, आव २०८०/८१ मा ४३ करोड रुपैयाँ र आव २०८०/८१ मा ६७ करोड ७२ लाख रुपैयाँको आयात भएको छ । नरिवल आयात तथ्यांक नेपालका तराई क्षेत्रमा उत्पादन हुने नरिवल पनि दशैं तिहारको समयमा बढी खपत हुने गरेको छ । तथ्यांकअनुसार नेपालमा नरिवल आयातमा पनि ठूलो रकम विदेसिने गरेको छ । आव २०८१/८२ कै तथ्यांक हेर्ने हो भने ८६ करोड १४ लाख रुपैयाँको नरिवल आयात भएको छ । आव २०८०/८१ मा भने नरिवल आयात केही घटेको देखिन्छ । उक्त आवमा ३९ करोड ३१ लाख रुपैयाँको नरिवल आयात भएको छ । आव २०७७/७८ मा ६४ करोड ६२ लाख रुपैयाँको नरिवल आयात भएकोमा आव २०७८/७९ मा बढेको छ । उक्त आवमा ८२ करोड २५ लाख रुपैयाँको नरिवल आयात भएको छ ।
व्यवसायी प्रसिद्ध पाण्डेले २ अर्ब लगानीमा खोले सुविधा सम्पन्न रिसोर्ट, बेलायतको आईएचजीको व्यवस्थापन
काठमाडौं । सांग्रिला हस्पिटालिटी ग्रुपले चितवनको मेघौलीमा सुविधा सम्पन्न रिसोर्ट निर्माण गरेको छ । ग्रुपले लस्ट होराइजन सफारी रिसोर्ट एन्ड स्पा निर्माण सम्पन्नको अन्तिम तयारी गरिरहेको छ । कम्पनीले चितवनको मेघौलीमा लक्जरी होटल/रिसोर्ट निर्माण गरिरहेको छ । जुन नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन नेशनल पार्कको नजिक अवस्थित छ । यस परियोजनाका लागि कम्पनीले बेलायतको इन्टर कन्टिनेन्टल होटल ग्रुप (आईएचजी)सँग मार्केटिङ र म्यानेजमेन्ट सम्झौता गरेको छ । यो विश्वका प्रमुख होटल समूहहरूमध्ये एक हो । यस रिसोर्टमा ३८ प्लस २ (स्वीट) कोठाहरू रहनेछन् । दोस्रो चरणमा थप ४० लक्जरी कोठा निर्माण गर्ने योजना कम्पनीको छ । जुन डिसेम्बर २०२६ सम्म सो काम पूरा गर्ने लक्ष्य कम्पनीको छ । अहिले रिसोर्टको भौतिक कामहरं सम्पन्न भए पनि मेकानिकल, विद्युतीय तथा प्लम्बिङ र फिनिसिङ कार्यहरू जारी छन् । सुरुमा यो परियोजना निर्माणका लागि १ अर्ब २९ करोड ५० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिए पनि अहिलेसम्म लागत ४९ प्रतिशत बढेर कुल १ अर्ब ९२ करोड ६० लाख रुपैयाँ पुगेको बताइएको छ । कामको सुस्सताले लागत पनि बढेको बताइएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले नयाँ लागत संरचना अनुसार ऋण–इक्विटी अनुपात करिब ७२ः२८ रहेको उल्लेख गरेको छ । सन् २०२५ जुनसम्म आवश्यक इक्विटीको करिब ५६ प्रतिशत अर्थात् ३० करोड रुपैयाँमात्र लगानी भइसकेकाले वित्तीय जोखिम मध्यम रहेको इक्राले विज्ञप्तिमा उल्लेख गरेको छ । कम्पनीले ९३ करोड ३० लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेको छ । जसका लागि कम्पनीले दीर्घकालीन ऋणका लागि एलबी प्लस र खल्पकालिन ऋणका लागि ए फोर रेटिङ पाएको छ । चितवनको मेघौली क्षेत्रमा धेरै होटलहरू सञ्चालनमा आइसकेकाले प्रतिस्पर्धा तीव्र हुँदै गएको विज्ञप्तिमा उल्लेख छ । ऋण भार कम भएका पुराना र स्थापित होटलहरूले मूल्यमा दबाब सिर्जना गर्न सक्ने भएकाले नयाँ परियोजनाको अफटेक जोखिम बढ्न सक्ने रेटिङ एजेन्सीको भनाइ छ । सांग्रिला हस्पिटालिटी ग्रुपले काठमाडौं र पोखरामा होटल सञ्चालन गर्दै आएको छ । कम्पनीका लगानीकर्ता प्रसिद्ध बहादुर पाण्डे हुन्, जो सांग्रिला हस्पिटालिटी ग्रुपका सञ्चालक हुन् । सन् २०२२ डिसेम्बरमा होटल व्यवस्थापनका लागि लस्ट होराइजन र आईएचजीबीच सम्झौता भएको थियो । सम्झौताअनुसार रिसोर्ट इन्टरकन्टिनेन्टल रिसोर्ट चितवन मेघौली ब्राण्डमा सञ्चालन हुने भएको छ । सांग्रिलाले पोखराको बेगनासमा पनि लक्जरी रिसोर्ट बनाएको छ । सांग्रिला हस्पिटालिटी ग्रुप होटल क्षेत्रमा परिचित छ । जसको संस्थापक श्यामबहादुर पाण्डे हुन् । उनको गत वर्षमात्रै निधन भएको थियो । अहिले उनका दुई छोराहरु प्रसिद्ध र प्रवीणले उनको व्यवसाय सम्हालिरहेका छन्।
डलर कमजोर, सुन बलियो ! विश्व बजार किन सुनतिर दौडिरहेको छ ?
काठमाडौं । सुनको मूल्य प्रतिऔंस ४ हजार ३०० अमेरिकी डलर माथि पुगेको छ । यसले यो वर्षको असाधारण वृद्धिदरलाई ६० प्रतिशतभन्दा बढी पुर्याएको छ । यो वृद्धिदर विश्लेषकहरूको अनुमानभन्दा निकै छिटो भएको हो । सन् २०२४ को सुरुमा सुरु भएको वृद्धिदेखि हालसम्म सुनको मूल्य लगभग दोब्बर भइसकेको छ । सुनको मार्केट क्याप ३० ट्रिलियन डलरभन्दा माथि पुगेको छ । विश्व इतिहासमा पहिलो पटक कुनै एसेट (सम्पत्ति) यो स्तरमा पुगेको हो । सुनको वर्चस्व कति बलियो छ भन्ने कुरा यसैबाट बुझ्न सकिन्छ कि यसको मार्केट क्याप अहिले विश्वकै सबैभन्दा मूल्यवान कम्पनी एनभीडीयाको भन्दा सात गुणा बढी छ । सुनको चर्को मूल्यवृद्धि सँगै विभिन्न देशमा सुन किन्नेहरू सुन व्यापारीका पसल अगाडि लामो लाइनमा उभिएका देखिएका छन् । वास्तवमा सुनको मूल्य पछिल्ला केही वर्षदेखि नै लगातार उकालो लागिरहेको छ – यी हालका कारणहरू देखा पर्नु अघि नै । सबैभन्दा ठोस कारण भनेको सुनसँग सम्बन्धित एक्सचेन्ज–ट्रेडेड फन्ड (ईटीएफ) हरूबाट बढ्दो माग हो । ईटीएफ बजारमा कारोबार गर्न मिल्ने यस्तो लगानी कोष हो, जसले लगानीकर्तालाई एकैपटक धेरै सम्पत्तिमा लगानी गर्ने अवसर दिन्छ । यी फन्डहरूले सुन, सेयर वा बन्डजस्ता सम्पत्तिहरूको मूल्य चाल ट्र्याक गर्छन् र सेयर बजारमा कारोबार गर्न सकिन्छ । यसले लगानीकर्ताहरूका लागि सुनजस्ता वस्तुमा लगानी गर्न सजिलो बनाएको छ । २००३ मा पहिलो सुन ईटीएफ सुरु हुनुअघि सामान्य लगानीकर्ताले सुनमा प्रत्यक्ष लगानी गर्न कठिन मानिन्थ्यो । तर अहिले सुन ईटीएफ सजिलै उपलब्ध भएकाले सुनलाई अरू वित्तीय सम्पत्तिजस्तै किनबेच गर्न सकिन्छ । यसले सुनलाई केवल ‘सुरक्षित सम्पत्ति’ का रूपमा होइन, लाभदायक लगानीका रूपमा पनि हेर्ने दृष्टिकोण बदल्दैछ । पहिलो विश्वका धेरै देशका केन्द्रीय बैंकहरूले आफ्ना विदेशी मुद्रासञ्चय (रिजर्भ) मा सुनको हिस्सा बढाइरहेका छन् । त्यसैले पनि सुनको मूल्य बढिरहेको हो । त्यस्तै, अमेरिकी फेडरल रिजर्भले नीतिगत ब्याजदर घटाउने अपेक्षा र अमेरिकी डलर कमजोर हुँदै गएपछि लगानीकर्ताहरू सुरक्षित विकल्पका रूपमा सुनतर्फ आकर्षित भइरहेका छन् । चीन र रसियाको मागले सुन अझै तातियो खुद्रा लगानीकर्ताका अतिरिक्त केही उदाउँदो अर्थतन्त्रहरू— विशेषगरी चीन र रसियाले आफ्नो विदेशी मुद्रा सञ्चिति अमेरिकी डलरबाट सुनमा स्थानान्तरण गर्न थालेका छन् । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) का अनुसार उदाउँदो बजारहरूमा केन्द्रीय बैंकद्वारा सञ्चित सुनको मात्रा २००६ देखि हालसम्म १६१ प्रतिशतले बढेर करिब १० हजार ३०० टन पुगेको छ । तुलनाका लागि १९५५ देखि २००५ सम्म ५० वर्षमा यो वृद्धि केवल ५० प्रतिशत मात्र थियो। शोधहरूले देखाउँछ — यो रूपान्तरणको कारण अमेरिकी डलर, युरो, येन र पाउण्डजस्ता प्रमुख मुद्राहरू प्रयोग गर्ने मुलुकहरूले लगाएका वित्तीय प्रतिबन्धहरू हुन् । रसियाले सन् २००६ देखि नै सुन किन्ने कार्य तीव्र पारेको हो र २०१४ मा क्राइमिया कब्जा गरेपछि अझ बढाएको हो । अहिले त्यसले विश्वकै ठूला सुन भण्डारहरूमध्ये एक राखेको छ। उता चीनले पनि अमेरिकी सरकारी बन्डहरू बिक्री गर्दै सुन किन्ने क्रम तीव्र पारेको छ । यो प्रक्रिया ‘डि–डलराइजेसन’ भनेर चिनिन्छ । यसको उद्देश्य अमेरिकी मुद्रामा निर्भरता घटाउने हो । यसै क्रममा उदीयमान अर्थतन्त्रहरूले पश्चिमी मुद्राहरूमा सम्भावित वित्तीय प्रतिबन्धको जोखिम देखेका छन् । सुनमा यस्तो जोखिम हुँदैन । त्यसैले भविष्यमा वित्तीय प्रतिबन्ध नीतिगत रूपमा कम प्रभावकारी हुन सक्छ । सुन अझै बढ्न सक्छ ? रसिया र चीनको मागका साथै ईटीएफमा लगानीकर्ताको आकर्षणले सुनको मूल्य अझै बढ्न सक्ने सम्भावना छ । यी दुई कारणले दीर्घकालीन रूपमा सुनको माग बलियो बनाउँछन् । मूल्य बढ्दै जाँदा गुमाइने डरको प्रभावले ईटीएफमा अझ बढी लगानी बढाउँछ । विश्व सुन परिषदका अनुसार सेप्टेम्बर महिनामा रेकर्ड तोड्ने गरी ईटीएफमा लगानी भित्रिएको छ । सेप्टेम्बर त्रैमासमा मात्र २६ अर्ब अमेरिकी डलर बराबर सुन ईटीएफमा पुगेको थियो, जबकि २०२५ का पहिलो नौ महिनामा कुल ६४ अर्ब अमेरिकी डलर प्रवाह भएको छ । केन्द्रीय बैंकहरूको माग भने मूल्यभन्दा बढी भू–राजनीतिक कारणले निर्धारण हुने भएकाले यो माग अझै स्थिर रहन्छ । यी सबै संकेतका आधारमा गोल्डम्यान स्याच्सका विश्लेषकहरूले सुनको मूल्य लक्ष्य पुनः संशोधन गर्दै सन् २०२६ को अन्त्यसम्म प्रतिऔंस अमेरिकी डलर ४ हजार ९०० पुग्ने अनुमान गरेका छन् । मस्कले पाउने इतिहासकै ‘सबैभन्दा ठूलो कर्पोरेट तलब प्याकेज’मा आईएसएसको अवरोध अमेरिका–चीनबीचको आर्थिक द्वन्द्वले विश्व बजार अस्थिर बनाउने संकेत