निपाह भाइरसको हल्लामा नपर्नुहोस्, सबै तयारी पूरा छः स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निपाह भाइरसको जनस्वास्थ्य जोखिमका सम्बन्धमा केही देशमा देखिएको घटनाप्रति सचेत रहेको उल्लेख गर्दै मन्त्रालयले त्यसका लागि आवश्यक सबै कदम चालिरहेकाले सबैलाई आतङ्कित नहुन र सचेत, सजग र जिम्मेवार बन्न अनुरोध गरेको हो । विश्व स्वास्थ्य सङ्गठनद्वारा विश्वव्यापी तथा दक्षिणपूर्वी एसिया क्षेत्रीयस्तरमा निपाह भाइरसको जनस्वास्थ्य जोखिम न्यून रहेको मूल्याङ्कन गरिए तापनि छिमेकी मुलुकमा देखिएका निपाह भाइरसका केही घटनालाई मध्यनजर गरी आवश्यक सचेतना अपनाइएको मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा पूर्वतयारीका कदम स्वरूप देशभरका स्वास्थ्य संस्था तथा निकायलाई सचेत गराइएको तथा निपाह भाइरसको परीक्षणका आवश्यक तयारी गरिएको स्पष्ट पारिएको छ । निपाह भाइरस सङ्क्रमित चमेराको र्याल, पिसाब वा मलमूत्रले दूषित फलफूल सेवन गर्दा सङ्क्रमण हुनसक्ने, सङ्क्रमित व्यक्तिको रगत थुक, पिसाब वा नजिकको सम्पर्कबाट तथा चमेरोबाट सुँगुर हुँदै पनि मानिसमा यो सङ्क्रमण सर्नसक्ने मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबैलाई फलफूल राम्ररी पखालेर मात्र खान, तरकारी राम्रोसँग पकाएर खान, सफा र सुरक्षित पानी उमालेर मात्र पिउन, जनावरका गोठ तथा फार्म सफा राख्ने, मासु काट्दा पत्रा र मास्क प्रयोग गर्ने, बेलाबेलामा साबुन पानीले हात धुने तथा भीडभाडमा जाँदा मास्क लगाउने जस्ता जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ । ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, चक्कर लाग्ने, खोकी लाग्ने, सास फेर्न गाहो हुने, वाकवाकी लाग्ने, बान्ता हुने तथा गम्भीर अवस्थामा होस हराउने, अचेत हुने लगायत शङ्कास्पद लक्षण देखिएका बिरामीको शीघ्र पहिचान गर्न आइसोलेसनमा राखेर रिपोर्टिङ गर्नुपर्ने मन्त्रालयले उल्लेख गरेको छ । रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रण मापदण्ड कडाइका साथ पालना गर्न गराउन पनि मन्त्रालय सबै सरोकार भएका सबैलाई अनुरोध गरेको छ । शङ्कास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा १११५ मा तुरुन्त सम्पर्क गर्न समेत आग्रह गर्दै मन्त्रालयले हालसम्म नेपालमा निपाह भाइरसका घटना पुष्टि नभएका तथा स्वास्थ्य निकाय जोखिम न्यूनीकरणका लागि पूर्ण रूपमा तयारी अवस्थामा रहेको जनाएको छ । मन्त्रालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदार निकायसँग समन्वय गर्दै अवस्था निरन्तर अनुगमन गरिरहेकाले सबैलाई अफवाहमा नपर्न र मन्त्रालयद्वारा जारी आधिकारिक सूचनामात्र विश्वास गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
स्वास्थ्य उपचारमा बीमितले पाउने सुविधा कटौती, अब २५ हजारसम्मको मात्रै ओपीडी उपचार बेहोर्ने
काठमाडौं । स्वास्थ्य बीमामा आवद्ध नागरिकले अब बहिरंग (ओपीडी) मा उपचार गरेबापत वार्षिक २५ हजार रुपैयाँभित्रको मात्रै सेवा पाउने भएका छन् । स्वास्थ्य बीमा बोर्डको सञ्चालक समितिको बैठकले सोमबार (आज) यस्तो निर्णय गरेको हो । बोर्डको व्ययभार कम गर्ने उद्देश्यले यस्तो निर्णय लिनु परेको बोर्डले जारी सूचनामा उल्लेख छ । बोर्डको यो निर्णयसँगै ओपीडीमा भएको स्वास्थ्य उपचारमा बीमितले पाउने सुविधा कटौती हुने भएको छ । बोर्डले गरेको यो निर्णय फागुन १ गतेदेखि लागू हुनेछ । यसअघि तीन हजार ५०० रुपैयाँ प्रिमियम तिरेर स्वास्थ्य बीमा गरेपछि एक परिवारका पाँच सदस्यले वर्षभरिमा एक लाख रुपैयाँसम्मको उपचार सेवा पाउने व्यवस्था थियो । बीमा नियमालीअनुसार ८ प्रकारका कडा तथा दीर्घरोगको उपचारको विषयमा भने हाल व्यवस्था भएबमोजिम नै हुने बोर्डले जनाएको छ ।
म्याक्स हेल्थकेयरको कोलोरेक्टल क्यान्सर कन्क्लेभ सम्पन्न
काठमाडौं । म्याक्स सुपर स्पेसियलिटी अस्पताल, वैशालीले 'कोलोरेक्टल क्यान्सर : भ्रम चिर्दै प्रमाणमा आधारित उपचारतर्फ' विषयक कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा चिकित्सा शिक्षा र क्यान्सर उपचारको क्षेत्रमा यो कार्यक्रमलाई एक महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । कार्यक्रममा देशभरबाट १०० भन्दा बढी वरिष्ठ चिकित्सकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा सर्जिकल अङ्कोलोजीका प्रिन्सिपल डाइरेक्टर डा. विवेक मङ्गलाले आफ्नो प्रस्तुतिमा अत्याधुनिक शल्यक्रिया प्रविधि, बहुविषयगत उपचार रणनीति तथा अन्तर्राष्ट्रिय रूपमा मान्य प्रमाणमा आधारित उपचार पद्धतिबारे धारणा राखेका थिए । उनले कोलोरेक्टल क्यान्सरसँग जोडिएका पुराना भ्रमहरू तोड्दै समयमै रोग पहिचान भए उपचार सम्भव रहेको बताए । कार्यक्रमको शैक्षिक गहिराइ र व्यावहारिक उपयोगिताको सहभागी चिकित्सकहरूले खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा भएको छलफल समयसापेक्ष, प्रभावकारी तथा दैनिक क्लिनिकल अभ्यासका लागि रूपान्तरणकारी रहेको सहभागिहरूको प्रतिक्रिया थियो । कार्यक्रममा बोल्दै म्याक्स हेल्थकेयरका नेपालका लागि वरिष्ठ प्रबन्धक सबिन कार्कीले नेपालप्रति संस्थाको दीर्घकालीन प्रतिबद्धता दोहोर्‍याए । उनले भविष्यमा पनि यस्ता शैक्षिक कार्यक्रमहरू निरन्तर आयोजना गर्दै नेपाली चिकित्सकहरूसँग सहकार्य विस्तार गर्ने, क्लिनिकल ज्ञान सुदृढ बनाउने र देशमा क्यान्सर उपचारका नतिजा अझ सुधार गर्ने लक्ष्य रहेको बताए । म्याक्स हेल्थकेयरका प्रतिनिधिहरूले सीमा–पार चिकित्सा सहकार्यलाई सुदृढ गर्दै निरन्तर शैक्षिक संलग्नता तथा बिरामी सहयोग कार्यक्रममार्फत नेपालमा अङ्कोलोजी सेवाको विकासमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।