राहत सामग्रीको गुणस्तरीयता कामय गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद्ग्रस्त क्षेत्रमा वितरण गर्ने खाद्यान्न, पानी तथा लत्ता कपडाहरुको गुणस्तरीयता कायम राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । डुबानग्रस्त क्षेत्रका पानीका मुहानहरु डुबानमा परी दूषित भएको अवस्था रहेकाले पिउने पानीको स्वच्छता सुनिश्चित गर्न नसके एक साताभित्र हैजा लगाएतका महामारी र प्रकोप देखापर्न सक्ने भन्दै मन्त्रालयले त्यसतर्फ गम्भीर हुन आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयका सहसचिव एवं प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले संकटको समयमा वितरण गरिने पिउने पानी र खाद्यान्न स्तरहीन भए विपद्‍ग्रस्त क्षेत्रमा महामारी र प्रकोप फैलनसक्ने जोखिम रहेकाले त्यसतर्फ ध्यानाकर्षण गराएका हुन् । ‘मानवीय संवेदनामा सचेत भएर काम गरिदिनुएन भने अबको एक/दुई हप्तामा फेरि महामारी फैलिन्छ । अहिलेको अवस्थामा जुनसुकै स्रोत वा मुहानको पानी भएपनि उमालेर मात्र पिउनुपर्छ भन्ने कमन म्यासेज जानुपर्छ । त्यसकारण सबै नागरिकलाई त्यहीअनुसारको निर्देशन दिनुहोस्,’ उनले भने । नत्र पानी प्रदूषण भएकै कारण हैजा, झाडापखाला, टाइफाइड जस्ता रोगहरुको प्रकोप फैलिने सम्भावना रहने उनको भनाइ छ । उनले वितरण गरिने खाद्यान्न, पानी र लत्ताकपडाको गुणस्तरियता कायम राख्न सबैलाई आग्रह गरे ।

नयाँ कर्मचारीले जीवन बीमा कोषमा नपुग रकम जम्मा गर्नुपर्ने

काठमाडौं । नागरिक लगानी कोषले नयाँ नियुक्त कर्मचारीले आर्थिक वर्षमै नपुग बीमा ‘प्रिमियम’बापतको रकम आफू कार्यरत कार्यालयमार्फत कोषमा एकमुष्ट जम्मा गरी अर्को आर्थिक वर्षदेखि बीमा सुनिश्चित गर्न सकिने जनाएको छ ।  अन्यथा बीमा प्रिमियम रकम नपुगुञ्जेलसम्म बीमा नहुने कोषले स्पष्ट पारेको छ । नागरिक लगानी कोषले बीमा कोष सञ्चालन कार्यविधि, २०७५ बमोजिम राष्ट्रिय बीमा संस्थानमा बीमा रकम पठाई राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बीमा कोष सञ्चालन गर्दै आइरहेको छ ।  

एनआईसी एशिया बैंकका ग्राहकलाई किरण आँखा अस्पतालमा उपचार गर्दा छुट हुने

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले अब वीरगंजस्थित किरण आँखा अस्पतालमा उपचार गर्दा १० प्रतिशतसम्म छुट सुविधा पाउने भएका छन् । आँखा उपचारमा छुट उपलब्ध गराउने उद्देश्यले एनआईसी एशिया बैंक र किरण आँखा अस्पतालबीच सम्झौता सम्पन्न भएको हो । सम्झौता अनुसार, बैंकका ग्राहकहरूले आँखा उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालका विभिन्न सेवामा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यसका लागि ग्राहकहरूले बैंकका डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्न सक्नेछन्, साथै मोबैंक एप मार्फत भुक्तानी गर्दा पनि सो सुविधा पाउनेछन् । बैंकका अनुसार, यस सहकार्यले ग्राहकहरूलाई गुणस्तरीय आँखा उपचारमा सहज पहुँच दिलाउनुका साथै डिजिटल भुक्तानी प्रणालीको प्रयोग प्रवर्द्धन गर्नेछ । यसले मुलुकलाई नगदरहित कारोबारतर्फ अघि बढाउन सहयोग पुर्‍याउने विश्वास बैंकले जनाएको छ ।