टाटा गुरु सुभाष शर्माको उपचारमा सिप्रदीले गर्यो आर्थिक सहयोग
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटो पार्ट्स प्रालिका ‘टाटा गुरु’ सुभाष शर्मा गम्भीर स्नायु सम्बन्धी (न्युरोलोजिकल) समस्याका कारण काठमाडौंस्थित अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलाइड साइन्सेसमा उपचाररत रहेका छन् । ललितपुरको सानेपा निवासी शर्मा लामो समयदेखि अटोमोबाइल क्षेत्रमा आफ्नो सीप, दक्षता र अनुभवमार्फत योगदान पुर्याउँदै आएका व्यक्तित्व हुन् । चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्थाको जटिलताका कारण दीर्घकालीन उपचार आवश्यक परेको छ, जसका कारण उपचार खर्च व्यवस्थापनमा परिवारलाई आर्थिक चुनौती उत्पन्न भएको छ । यस संवेदनशील समयमा सिप्रदी अटो पार्ट्सले सामाजिक उत्तरदायित्वअन्तर्गत ‘सिप्रदी सहायता’ मार्फत शर्माको उपचारका लागि प्रारम्भिक आर्थिक सहयोग उपलब्ध गराइसकेको छ । कम्पनीले देखाएको यो पहलले कर्मचारीप्रतिको जिम्मेवारी र मानवीय संवेदनालाई स्पष्ट रूपमा उजागर गरेको छ । शर्माको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सिप्रदी अटो पार्ट्सले यस कठिन घडीमा विभिन्न संघ–संस्था, सरोकारवाला निकाय तथा सहयोगी मनहरूलाई मानवीय आधारमा यथोचित सहयोग गरिदिन पनि अपिल गरेको छ ।
डा. ज्ञानेन्द्रमानसिंह कार्कीको ओपनहार्ट सर्जरी सफल
काठमाडौं । विराट नर्सिङहोम र विराट मेडिकल कलेजका सञ्चालक एवं डा. ज्ञानेन्द्रमानसिंह कार्कीको ओपनहार्ट सर्जरी सफल भएको छ । नियमित जाँचका क्रममा दिल्लीस्थित मेदान्त अस्पताल पुगेका कार्कीको मुटुको भल्ब बन्द भएको पाइएपछि ओपनहार्ट सर्जरी गरिएको हो। एक साताअघि स्वास्थ्य समस्या देखिएपछि भारत पुगेका डा. कार्कीले अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले अस्पतालको बेडबाट भिडियो सेयर गर्दै भनेका छन्, ‘म अहिले स्वास्थ्यलाभ गरिरहेको छु, कसैलाई कुनै सन्देश नै दिन नपाइ दिल्ली आउनुपर्यो, हजुरहरूको कृपाले राम्रो हुँदैछ ।’ कार्कीले मुटुको भल्भको ब्लकेज जटिल शल्यक्रिया रहेको जनाउँदै अहिले आफ्नो अवस्था ठीक रहेको बताए । उनले अब आफू ठीक भएर चाँडै नागरिकको सेवाका लागि फर्किने समेत विश्वास दिलाएका छन् । ओपनहार्ट सर्जरी एक जटिल शल्यक्रिया हो, जसमा छाती खोलेर मुटुको उपचार वा शल्यक्रिया गरिन्छ । यो शल्यक्रिया कोरोनरी धमनी रोग, मुटुको भल्भ रोग, जन्मजात मुटुको दोष र अन्य गम्भीर मुटुसँग सम्बन्धित समस्याहरूका लागि गर्ने गरिन्छ । यसको लक्ष्य भनेको मुटुको सामान्य कार्य पुन: स्थापित गर्नु, रक्त प्रवाह सुधार गर्नु र मुटुको रोगबाट पीडित बिरामीहरूको जीवनको समग्र गुणस्तर बढाउनु हो ।
४० करोड भुक्तानी नपाउँदा शिक्षण अस्पतालले स्वास्थ्य बीमा उपचार सेवा बन्द गर्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बीमा उपचारका सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । अस्पतालले पाउनुपर्ने दाबी रकम बीमा बोर्डले उपलब्ध नगराएपछि बीमा उपचारका सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको हो । अस्पतालले एक सूचना जारी गर्दै आगामी माघ १ गतेदेखि बीमा सेवा बन्द गर्ने जनाएको छ । अस्पतालका अनुसार स्वास्थ्य बीमामार्फत उपचार गराउने बिरामीको संख्या दिनहुँ बढ्दै जाँदा मासिक झन्डै ५ करोड रुपैयाँ हाराहारी खर्च हुने गरेको छ । तर बीमा बोर्डबाट ५० प्रतिशत मात्र दाबी स्वीकृत हुने र बाँकी अस्वीकृत हुँदै आएकाले अस्पतालको बीमा दाबी रकम करिब ४० करोड रुपैयाँ भुक्तानी बाँकी रहेको जनाएको छ । अस्पतालले निकालेको विज्ञप्तिमा भनिएको छ, 'अस्पतालमा आउने बिरामीहरूको उपचारका क्रममा बीमा बोर्ड र अस्पतालको दररेट शुल्क फरक रहेको छ। अस्पतालले बारम्बार अस्पतालको दररेटलाई अन्तिम दर मानिदिन विगत दुई वर्षदेखि आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको, साथै आफ्नै आन्तरिक स्रोतबाट दैनिक सम्पूर्ण खर्च व्यहोर्नुपर्दा मासिक दुई करोड रुपैयाँ घाटा खाएर स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न असमर्थ भएकाले यही २०८२ साल माघ १ गतेदेखि नेपाल सरकारको स्वास्थ्य बीमाअन्तर्गतका सम्पूर्ण उपचार सेवाहरू बन्द गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो ।' स्वास्थ्य बीमा बोर्ड र त्रिवि शिक्षण अस्पतालबीच २०७७ सालदेखि स्वास्थ्य बीमा उपचार कार्यक्रम सञ्चालन हुने सम्झौता भएको थियो । यसबीच पनि अस्पतालले पटक–पटक दाबी भुक्तानी नपाएको भन्दै कार्यक्रम रोक्दै आएको थियो ।