देउराली जनता फर्मास्युटिकल्सको आम्दानी साढे २ अर्ब, बैंकको ऋण घटाउँदै

काठमाडौं । साढे तीन दशकदेखि सञ्चालनमा रहेको देउराली जनता फर्मास्युटिकल्सले साढे २ अर्ब रुपैयाँ आम्दानी गरेको छ । देउराली जनताले सन् २०२५ मा २ अर्ब ३५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ । यो आम्दानी गत वर्षको तुलनामा १६.१६ प्रतिशत अर्थात् ३२ करोड ७० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले २ अर्ब २ करोड ३० लाख रुपैयाँ बढी आम्दानी गरेको थियो ।  नेपाली औषधि उद्योगको अग्रणी कम्पनीको रुपमा चिनिएको देउराली जनता सन् १९९१ मा स्थापना भएको हो । देउराली जनता फार्मास्युटिकल्सले मुटु रोग, मधुमेह, स्त्रीरोग तथा बाल स्वास्थ्य, ग्यास्ट्रोलोजी र हेपाटोलोजी, छाला रोगलगायतका क्षेत्रमा प्रयोग हुने सामान्य तथा विशेष खालका औषधिहरू उत्पादन गर्दै आएको छ ।  हाल कम्पनीले विभिन्न वर्गमा २५० भन्दा बढी प्रकारका औषधी उत्पादन बजारमा उपलब्ध गराइरहेको छ ।  कम्पनीले सन् २०१८ मा १ अर्ब ४० करोड ५९ लाख रुपैयाँ, सन् २०१९ मा १ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब १९ करोड ६४ लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ४६ करोड ९० लाख रुपैयाँ,सन् २०२२ मा १ अर्ब ७० करोड ५० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब ८६ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २०२५ को जुलाईको मध्यसम्मको तथ्याङ्क अनुसार देउराली जनता फर्मास्युटिकल्सको करिब ७१ प्रतिशत इक्विटी सेयर कम्पनीका कार्यकारी निर्देशक तथा अध्यक्ष हरिभक्त शर्माको स्वामित्वमा रहेको छ । बाँकी सेयर उनको परिवारका सदस्य तथा अन्य व्यक्तिको नाममा रहेको छ ।  दीर्घ अनुभव, फराकिलो उत्पादन दायरा र स्थिर स्वामित्व संरचनाका कारण देउराली जनता फर्मास्युटिकल्स नेपाली औषधि बजारमा विश्वासिलो ब्रान्डको रूपमा स्थापित हुँदै आएको छ । कम्पनीले देशभर २०० भन्दा बढी वितरकहरूसँग समन्वय गरेर व्यापार विस्तार गर्दै आएको छ ।  ‘मानव जीवनका लागि स्वास्थ्यभन्दा बहुमूल्य अरू केही छैन’ भन्ने मूल दृष्टिकोणका साथ देउराली-जन्ता फर्मास्युटिकल्सको स्थापना गरिएको हो । दीर्घकालीन रूपमा नेपाललाई स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बनाउने दृष्टिकोणसहित कम्पनीले मानव जीवनजस्तो संवेदनशील र अमूल्य सम्पत्तिको संरक्षण तथा सम्वर्द्धनलाई आफ्नो प्रमुख मिसन बनाएको कार्यकारी सञ्चालक हरिभक्त शर्माले बताए । गुणस्तरीय औषधि उत्पादनप्रतिको गहिरो प्रतिबद्धता कम्पनीको डीएनएमै रहेको र घरेलु तथा क्षेत्रीय औषधि उद्योगको अग्रपङ्क्तिमा पुर्‍याएको उनको भनाइ छ । सन् १९९१ मा ज्वरो घटाउने औषधि एन्टिबायोटिक्स र भिटामिनजस्ता उत्पादनबाट यात्रा सुरु गरेको देउराली जनताले समयक्रमसँगै आफ्नो उत्पादन दायरा निरन्तर विस्तार गर्दै आएको शर्माले बताए । हाल कम्पनीले ट्याब्लेट, क्याप्सुल, मलहम, ड्राइ पाउडर तथा तरल डोज फर्मसहितका औषधि उत्पादन गरिरहेको उनले जनाए ।  नेपालमा औषधि कम्पनीहरूको संख्या बढेसँगै प्रतिस्पर्धा पनि वृद्धि भएपनि रणनीतिक सुधार, अत्याधुनिक उत्पादन प्रविधिको प्रयोग र गुणस्तरीय मानव संसाधन विकासमार्फत कम्पनीले आफ्नो अग्रणी स्थान जोगाउँदै आएको उनको भनाइ छ । उद्योगले बैंकको ऋण पनि घटाउँदै लगेको देखिन्छ । हाल उद्योगले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ६ करोड १० लाख रुपैयाँ लिएको छ । जबकि सन् २०२४ मा १ अर्ब ११ करोड ६० लाख रुपैयाँ ऋण थियो । त्यसअघि सन् २०२३ मा उद्योगले १ अर्ब १७ करोड ५६ लाख रुपैयाँ ऋण लिएको थियो । 

मेचीनगरलाई क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्य

झापा । बिगत तीन वर्षयता बिरामीको खोजपड्ताल अभियानमार्फत मेचीनगरमा ६६१ क्षयरोगीका सङ्क्रमित फेला परेका छन् । मेचीनगर स्वास्थ्य कार्यालयका अनुसार फेला परेका सङ्क्रमितमध्ये ९४ प्रतिशत उपचारपछि रोगमुक्त भएका छन् । नगरलाई आर्थिक वर्ष २०८३/८४ भित्र क्षयरोगमुक्त पालिका घोषणा गर्ने अभियान अन्तर्गत नगरपालिकाको स्वास्थ्य शाखाले घर घरमा पुगेर बिरामीको पहिचान र उपचार गर्दै आएको शाखा प्रमुख सविता सापकोटाले बताइन् । उनका अनुसार चालू आव २०८२/८३ को पाँच महिनामा ४६ जना क्षयरोगका नयाँ सङ्क्रमित भेटिएका छन् । आव २०८१/८२ मा २१० जना, २०८०/८१ मा २०५ जना र २०७९/८० मा २०० जना क्षयरोगका संक्रमित फेला परेका थिए । नगर प्रमुख गोपाल बुढाथोकीले नगरपालिकालाई क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्य बमोजिम सञ्चानल गर्दै आएको अभियान प्रभावकारी भइरहेको बताए । शाखाकी प्रमुख सापकोटाले अन्य घातक रोग लागेका सङ्क्रमितको उपचारकै क्रममा मृत्यु हुने गरेको बाहेक क्षयरोगबाट हुने मृत्युदर अत्यन्त न्यून रहेको बताइन् । जोखिमयुक्त क्षेत्र पहिचान गरेर संक्रमितको खोजी कार्य गर्ने र अति विपन्न बिरामीलाई पोषिलो खानेकुरा समेत वितरण गर्ने कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिइन् । उनका अनुसार क्षयरोग लागेका प्रत्येक विरामीलाई वर्षेनी एक बोरा चामल, एक क्यारेट अण्डा, एक लिटर खानेतेल, एक केजी बदाम, एक केजी मिक्स सातु र एक केजी मुसुरी दाल दिने गरिएको छ । लगत संकलन गरिएका क्षयरोगका विरामीलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि सेवन गराउने र उपचारमा फ्लोअप गरिरहेको पनि उनको भनाइ छ । क्षयरोगी पहिचानका लागि नगरपालिकाले एआई प्रविधिको सहायताबाट छातीको एक्सरे परीक्षण गर्दै आएको छ । यसका लागि मेचीनगरको वडा नं. २, ४, ७, १०, १२ र १५ मा छातीको एक्सरे परीक्षण गर्ने शिविर सञ्चालन गरिएको छ ।  

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई प्याथ ल्याबमा छुटको सुविधा

काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्मचारीहरू र बैंकमा खाता राखेका ग्राहकहरूलाई नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रालिका विभिन्न प्याथ ल्याब क्लिनिकमा उपचार गर्दा लाग्ने शुल्कमा छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौताअनुसार नेपाल बैंकका कर्मचारी र ग्राहकहरूले प्याथोलोजी ल्याबको विविध सेवाहरूमा बिल रकमको १० देखि ५० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । यससँगै निःशुल्क होम डेलिभरी सुविधा र विभिन्न हेल्थ प्याकेजमा पनि विशेष छुट प्रदान गरिने व्यवस्था गरिएको छ । पौष १४ गते भएको सम्झौतामा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि. तर्फबाट प्रबन्ध निर्देशक पवन जोशीले हस्ताक्षर गरेका छन् । यस सम्झौताको माध्यमबाट नेपाल बैंकका कर्मचारी र ग्राहकहरूले नक्साल, महाराजगंज, ललितपुर, रुपन्देही, भैरहवा, पोखरा, चितवन, तुल्सीपुर, घोराही, धनगढी, गुल्मी, अर्घखाँची र महेन्द्रनगरमा रहेका नेशनल प्याथ ल्याब रिसर्च सेन्टरका उच्च स्तरीय उपचार सेवाबाट लाभ लिन सक्नेछन् ।