मेडिकल कलेजहरुको मनोमानी असुली प्रति डिन कार्यालयको आपत्ति,बढि शुल्क नलिन र नदिन चेतावनी

काठमाडौं । त्रिभुवन विश्व विद्यालय अन्तर्गतका मेडिकल कलेजहरुले तोकिएको भन्दा बढी रकम असुली गर्न थालेपछि डिनको कार्यालय तातेको छ । तोकिएको मापदण्ड भन्दा बढि शुल्क असुलेको तथ्य सार्वजनिक भएपछि डिनको कार्यालयले विज्ञप्ति नै निकालेर बढि शुल्क नलिन चेतावनी दिएको छ । कार्यालयले बढि शुल्क नतिर्न अभिभावक तथा विद्यार्थीहरुलाई समेत आग्रह गरेको छ । डिन कार्यालयको ओपन हाउस काउन्सिलिङ्गले विद्यार्थीहरुले पहिलो किस्ता वापत जम्मा गरेको ५० प्रतिशत रकममा अतिरिक्त शुल्क जोडिएको पाइएपछि सक्रियाता बढाएको हो । यसअघि सरकारले मेडिकल कलेजहरुलाई उपत्याकाभित्र साढे ३८ लाख र उपत्याका भन्दा बाहिर ४२ लाख ४५ हजार शुल्क निर्धारण गररेको थियो । निर्धारण शुल्कमा परीक्षा शुल्क, छात्रावास शुल्क र खाना शुल्क बाहेक अन्य सबै शुल्क जोडिएको हुन्छ । डीन कार्यालयमा विद्यार्थीहरुले रोजेका शिक्षण संस्थाले तोकिएको भन्दा बढी रकम दिन दवाब दिदै आएको भन्ने गुनासो बढ्दै गएपछि डिनको कार्यालयले यस विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । साथै तोकिएका शीर्षक बाहेक कुनैपनि शीर्षकमा रकम नतिर्न र नतिराउन डिनको कार्यालयले अभिभावक तथा कलेजलाई आग्रह गरेको छ ।  

उपत्यकाबाट २४ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। वाग्मती सफाइ महाअभियानको २४६औँ हप्तामा आज शंखमूल दोभान क्षेत्रमा सफाइ गरी ५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ५०० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिए ।गुह्येश्वरीमाथिको वाग्मती सजफाइको २०७औँ हप्तामा हनुमानघाट र गोठाटार पुल क्षेत्रमा सफाइ गरी २ मेट्रिक टन फोहर व्यवस्थापन भयो । रुद्रमती सफाइको २०२ हप्तामा मैतीदेवी मन्दिर–सेतोपुल–रुद्रनगर टोलमा सफाइ गरी १ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए। विष्णुमती सफाइको १७४औँ हप्तामा तारकेश्वर नगरपालिका–१० मनमैँजु पुलमा सफाइ गरी ४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ अभियन्ता बिजेन्द्र लामाले सुनाए । चक्रपथ सफाइको ४२औँ हप्तामा सुकेधारा क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको पनि सहभागिता थियो । सडकमा फालिएका मोबाइल रिचार्ज गरेका कार्ड र सूर्तीको खोल पनि हटाइएको अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए। वाग्मतीको तिलगंगा क्षेत्र, मीनभवन क्षेत्रको आलोकनगर र चक्रपथको बाफलखण्डमा पनि आज जनचेतनामूलक सफाइ अभियान चलाइएको सफाइ महाअभियानले जनाएको छ । रासस

एनएमबि बैंकका ग्राहकलाई नेपाल मेडिसिटी अस्पतालमा विशेष छुट

काठमाडौं । नेपालको उत्कृष्ट बैंक एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई थप सुबिधा दिने उद्देश्यले नेपालको आधुनिक अस्पताल नेपाल मेडिसिटी अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौता अन्तर्गत एनएमबि बैंकका ग्राहकले मेडिसिटी अस्पतालमा उपचार गराउँदा बिशेष परार्मश सहित अस्पतालको बिभिन्न सेवा तथा सुबिधाहरुमा दश प्रतिशत (१०%)सम्मको छुट पाउने भएका छन् । ग्राहकहरुले बैंकको एनएमबी भिसा डेबिट तथा एनएमबी क्रेडिट कार्डको प्रयोग गरि अस्पतालको अन्तराष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरुको उपचार लगायत विभिन्न सेवा तथा सुबिधाहरुमा यो विशेष छुट सुबिधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले आफ्ना ग्राहकवर्गहरुलाई लाभान्वित गराउन तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले लामो समय देखि यस्ता विभिन्न खाले योजनाहरु ल्याउने गरेको छ । हाललाई यो सम्झौता एक वर्षका लागि गरिएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।