दिनमा तीन कप कफी पिउनु स्वास्थ्यका लागि लाभदायक

बिहान उठ्नसाथ कफी पिउने बानी धेरैमा हुन्छ । धेरै कफी पिउनाले दाँत, मुखमा मात्र होइन, समग्र पाचन यन्त्रमै नकारात्मक असर पुर्‍याउँछ । तर, अब कफी पिउनलाई डराउनुपर्दैन । कफी पारखीका लागि खुसीको खबर छ । दिनमा ३-४ कप कफी पिउनु स्वास्थ्यका लागि लाभदायक हुने एउटा अध्ययनले देखाएको छ । कफीको सेवन गर्ने मानिसमा कलेजो, क्यान्सर र हृदयघातजस्ता जोखिम कम देखिएको छ । यद्दपी त्यसको कारण कफी नै हो भन्ने यकिन गर्न नसकिने अनुसन्धानकर्ताहरु बताउँछन् । महिलालाई गर्भवती भएको समयमा भने कफी सेवन हानीकारक हुने निश्चित रहेको अध्ययनले पुष्टी गरेको छ । रोगव्याधबाट जोगिन वा स्वास्थ्यलाई आधार मानेर कफी पिउन नहुने विज्ञहरु बताउँछन् । साउथ्याम्पन युनिभर्सिटीका अनुसन्धानकर्ताले मानव शरीरमा कफी सेवनबाट पर्ने प्रभावसम्बन्धी तथ्यांक संकलन गरेका छन् । के यो कफीकै प्रभाव हो ? कफी नपिउनेको तुलनामा दिनमा ३ कप कफी पिउने मानिसको शरीरमा मुटुको समस्या कम देखिएको छ । मुटु रोग तथा क्यान्सरको जखिम कम हुनु यसको लाभ लिने बलियो पक्षको रुपमा रहेको छ । तर, अध्ययनका सह-लेखक प्रोफेसर पौल रोडरेकका अनुसार कफीले गर्दा नै यो सम्भव भएको भन्ने स्पष्ट तथ्यांक छैन । उनले भने, ‘उमेर, धुम्रपान सेवन, कसरत जस्ता कुराले पनि यस्तो प्रभाव पारेको हुनसक्छ । ‘ जिवनमा जोखिमको सन्तुलन र उचित मात्रामा कफी सेवनले जोखिम कम भएको देखिएको हुनसक्ने उनको भनाई छ ।  गर्भवती महिलालाई २०० एमजी अर्थात दुई कप भन्दा कम कफी खान सुझाव गरिएको छ । यसले गर्भपतनको जोखिम निम्तयाउन सक्छ ।

नर्भिक अस्पतालमा ‘सेवा शुल्क’का नाममा बिरामीमाथि ठगी, सरकारले माग्यो स्पष्टिकरण

काठमाडौं । नर्भिक अन्तराष्ट्रिय अस्पतालले सेवा शुल्कका नाममा ठगी गरेको पाइएको छ । अस्पतालमा स्वास्थ्य सेवा कर बापत ५ प्रतिशत शुल्क उठाउने व्यवस्था छ । तर, अस्पतालले थप १३ प्रतिशत शुल्क जोडेर सेवा शुल्कका नाममा ठगी गरेको पाइएको हो । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत मंगलबार गरेको अनुगमनमा सेवा शुल्क शिर्षकमा बिरामीबाट बढी रकम असुलेको पाएपछि स्पष्टिकरण मागेको छ । विभागका महानिर्देशक कुमार दाहालले १३ प्रतिशत अतिरक्त रकम ‘अस्पताल सेवा शुल्क’का नाममा उपभोक्ता ठगी गरेको पाइएको जानकारी दिए । विकासन्यूजसँग कुरा गर्दै उनले भने, ‘कानुनी प्रावधान अनुसार ५ प्रतिशत स्वास्थ्य सेवा कर लिन पाउने व्यवस्था छ । अन्य शुल्क लिने व्यवस्था त कतै उल्लेख छैन ।’ अनुगमन टोलीले तीन दिनभित्र स्पष्टिकरण पेश गर्न अस्पताललाई निर्देशन दिएको थियो ।  अस्पतालले उक्त शुल्क पनि सरकारलाई नतिरी आफैंले लिइरहेको उनले बताए । जिल्ला जन स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन भोलनाथ पौडेलका अनुसार अस्पतालले मनपरी ढंगले सेवा शुल्क लिन पाउने व्यवस्था छैन । उनले भने, ‘होटल, रेष्टुरेन्टहरुमा सर्भिस चार्ज (सेवा शुल्क) लिइएको थाहा छ । तर अस्पतालमा लिन पाउने व्यवस्था छैन ।’ स्वास्थ्य सेवा विभागका प्रमुख मेडिकल अधिकृत डा. हेमन्तचन्द्र ओझाले अस्पतालले स्वास्थ्य सेवाका नाममा ५ प्रतिशत भन्दा फरक अन्य शुल्क पाउने व्यवस्था नभएको स्पष्ट पारेका छन् । उनले भने, ‘अन्य सेवा शूल्कको विषय हो भने त्यो अर्थ मन्त्रालयसँग सम्बन्धीत छ । तर जहाँसम्म स्वास्थ्य सेवाको कुरा छ- ५ प्रतिशत भन्दा बढी लिन पाइन्न ।’ स्वीकृती भन्दा बढी बेड सञ्चालनमा उक्त अनुगमनका क्रममा अस्पतालले स्वीकृती लिएको भन्दा बढी बेड सञ्चालन गरेको पाइएको छ । अनुमति बिना नै अस्पतालले थप ३० वटा बेड सञ्चालन गरेको पाइएको अनुगमन टोलीका संयोजक निरोज घिमिरेले जानकारी दिए । ‘१ सय वटा बेड स्विकृती लिएको नर्भिक अस्पतालले १३० वटा बेड चलाइरहेको छ, ‘उनले भने, ‘उनीहरुले २ सय वटा बेडका लागि स्वीकृती  माग गरेको पत्र देखाएका छन् । तर निवदेन स्वीकृत नभई बेड सञ्चालन गर्न पाइन्न ।’ स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती निर्देशिका अनुसार अस्पतालले बेड सञ्चालन गर्नका लागि स्वास्थ्य सेवा विभागसँग स्वीकृती लिनूपर्ने व्यवस्था रहेको स्वास्थ्य सेवा विभागका प्रमुख मेडिकल अधिकृत डा. ओझाले जानकारी दिए । उनले भने, ‘त्यस्तो पाइएका हामी अस्पताललाई सुरुमा सुध्रने मौका दिन्छौं । त्यसपछि पनि अटेर गरेको पाइएका उक्त अस्पताललाई आंशिक वा पूर्णरुपमा बन्द गर्छौं ।’ ‘सेवा शुल्क सर्वमान्य छ‘ अस्पताल सेवा शुल्क लिनु गलत नभएको नर्भीक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले दाबी गरेका छन् । उनले भने, ‘हामीले अस्पताल सेवा शुल्क लिन पाउदैनौं भन्ने कुन कानुनमा उल्लेख छ ? हामीले लिने सेवा शुल्क बिल्कुल जायज छ ।’ उनले स्विकृती नलिई बेड सञ्चालनमा ल्याएको भन्ने कुरा गलत भएको उनले बताए । उनले आक्रोशपूर्वक कुरा गर्दै भने, ‘कसले भन्यो स्वीकृती नलिई बेड सञ्चालन गर्‍यौं ?’

सरकारले तोकेको कडा रोगहरुको उपचार अब चितवनकाे पुरानो मेडिकल कलेजमा पनि

काठमाडौं । २३ वर्ष देखि स्वास्थ्य सेवा दिइरहेको चितवनकाे  पुरानो मेडिकल कलेज यस अस्पतालमा अब नेपाल सरकारले तोकेको कडा रोगहरुको पनि उपचार पाइने भएको छ । कडा रोगहरु मध्ये क्यान्सर बाहेक मुटुरोग, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सस, अल्जाइमर्स तथा हेमोडायलाइसिस रोगहरुको उपचार सेवा पनि सुचारु भएको अस्पतालका प्रमुख सञ्चालन अधिकृत डा.सुप्रभात श्रेष्ठले बताए । यो सुविधा पाउनको लागि सेवाग्राहीले स्थायी बसोबास भएको स्थानिय निकायबाट विपन्नताको शिफारिस लिइ अन्य आवश्यक कागजात सहित जिल्ला जनस्वास्थ्य कार्यलयमा गई जिल्ला स्तरिय शिफािरस पत्र लिई अस्पतालमा आउनुपर्ने छ । श्रेष्ठका अनुसार यस अस्पतालमा कडा रोगमध्ये निःशूल्क हेमोडायलाइसिस सेवा पहिले देखि नै सुचारु र साथै नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रम र क्षयरोग सम्बन्धी निःशूल्क डट्स कार्यक्रम पनि उपलब्ध छ । “नेपालकै सबैभन्दा बढि विशेषज्ञ डाक्टरहरु कार्यरत यस शिक्षण अस्पतालमा सेवा ग्राहीहरुले साँच्चै गुणस्तरीय उपचार सेवा पाउने कुरामा दुई मत छैन,” श्रेष्ठले भने । उनको अनुसार नेपालमा काठमाडौँ बाहिर एकमात्र ३ टेस्ला क्षमताकोःआरआई सेवा उपलब्ध भएको यस अस्पतालमा १६७ स्लाइस क्षमताको सीटीस्क्यान टिवाईएफ डिजिटल एक्स्रे/यूएसजी सेवा उपलब्ध छ । अन्तरराष्ट्रिय प्रविधि युक्त भेन्टिलेटर सहितको अत्याधुनिक आइसियू/एचडियू/एनआईसीयू/पीआईसीयू तथा अप्रेशन थिएटर उपलब्ध यस अस्पतालको आफ्नै फार्मेसि समेत रहेको छ । काठमाडौ+ बाहिरको नेपालकै पहिलो अन्तरराष्ट्रिय स्तरको ट्रमा सेन्टरको रुपमा परिचित यो अस्पतालले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत पनि धेरै कामहरु गरेको छ जिल्ला ट्राफिक कार्यलय चितवनको समन्वयमा सचेतनामूलक ट्राफिक चिन्ह अंकित बोर्डहरु भरतपुरका विभिन्न चोकहरुमा राखिएको, जिल्ला ट्राफिक कार्यलय चितवनका ब्रेथलाइजर २ यूनिट, इलाका प्रहरी कार्यलय मनहरीमा सीसी क्यामेरा, ई.प्र.का. भण्डारामा तथा रजहरमा फर्निचर र विभिन्न स्वास्थ्य संस्था तथा स्कूलहरुमा प्राथमिक उपचार सामाग्रीहरु पनि उपलब्ध गराएको छ । यसका अलावा विपन्न तथा पिछडिएको वर्गलाई लक्षित गर्दै विभिन्न निःशूल्क शिविरहरु पनि आयोजना गरेको अस्पतालका सिनियर मार्केटिङ म्यानेजर दुर्गा प्रसाद न्यौपानेले बताए । साथै, आगामी दिनमा जुनसुकै रोगहरुको सुलभ र गुणस्तरीय उपचार दिई सेवाग्राहीलाई विदेश वा भारत गई आर्थिक भार, समय र स्वास्थ्य बचाउन महत्वपूर्ण भूमिका खेल्ने कुरामा निरन्तरता दिईने कुरा प्रमुख सञ्चालन अधिकृत डा.सुप्रभात श्रेष्ठले बताएका छन् ।