‘तीजको दरले पेट गडबडी गर्ला बरी लै’, दर खादा स्वाथ्यको ख्याल गर्नुपर्ने
काठमाडौं १८, भदौ । तीजको रमाइलो आयो बरी लै’ जस्ता गीत बज्न थालेको निकै दिन भयो । यसले हिन्दू नारीहरूको महान् चाड तीज नजिकिँदैछ भन्ने सन्देश दिन्छ । टेलिभिजन, रेडियो, युट्युबमा तीजका गीत बजिरहेका छन् । हिन्दू धर्म, संस्कृतिमध्ये नारीहरूको महान पर्व तीजको दर खाने दिन शनिबार परेको छ । प्रत्येक वर्षको भाद्र शुक्ल द्वितीयाका दिन दर खाने र तृतीयाका दिन निराहार बसेर शिवको पूजा गरिन्छ । धार्मिक रूपमा तीज पर्व महिलाले पुरुषप्रति गरेको त्याग र समर्पणको जीवन्त कथा हो । पार्वतीले आफ्ना पति रोज्ने अधिकार स्थापित भएको पर्व तीज हो । महिला अधिकारको गरिमामय चाडका रूपमा रहेको यो पर्व मनाउने क्रममा पछिल्ला वर्षमा केही विकृति भित्रिएका छन् । बढ्दो तामझाम र सहरीया जीवनशैलीमा आएको परिवर्तनले चेलीलाई घरमा बोलाएर मीठोमसिनो खुवाउने चलन अब होटल, क्याटरिङ र रेस्टुरातिर सरेको छ । विभिन्न पारिवारिक समूह, सङ्घ, संस्था, टोलछिमेक र पार्टीहरूले चेलीबेटीलाई दर खुवाउन यस्तै ठाउँमा बोलाउने गरेका छन् । धेरै दिनसम्म दरको नाममा भोज खाने गर्नाले अस्पतालमा पेटका रोगीको सङ्ख्या बढेको पाइएको छ । तीजको रमाइला गीतमा एउटा गीत थप्नुपर्ने भएको छ । त्यो हो– ‘तीजको दरले पेट गडबडी गर्ला बरी लै’। तीज आउनु निकै अघिदेखि दर खान थालेका महिलालाई परम्पराका गीतका सट्टा चेतनामूलक यस्तै गीत गाउनु सुनाउनुपर्ने अवस्था आएको छ । तीज आउनु महिना दिनअगावैदेखि दर खाएर पेट दुखाएका महिलाले केही दिनयता आयुर्वेद औषधालय धाउन थालेका छन् । गोरखापत्र दैनिकबाट ।
परिवार नियोजन संघमा ब्रम्हलुट, विघटनको संघारमा
काठमाडौं १७, भदौ । नेपाल परिवार नियोजन संघमा भएको व्यापक अनियमितताका कारण संघको अस्तित्व नै संकटमा पर्ने खतरा बढेको छ । संघको नेतृत्वले दातृ निकायबाट प्राप्त रकम अनियमितता तरिकाले खर्च गर्ने र संघको कामकाज प्रचलित ऐन, कानुन र संघको विधानलाई समेत उल्लघंन गर्दै मनोमानी ढंगले संचालन गर्न थालेपनि संघको अस्तित्व संकटमा परेको हो । संघले आफ्ना कार्यक्रम संचालन गर्न कानुनबमोजिम पेन गर्नुपर्ने कागजात पेस नगर्ने, परियोजनाहरु स्वीकृतिबिना नै संचालन गर्ने, कार्यक्रम संचालन गरेपश्चात अनुमोदन नगर्ने, समाज कल्याण् परिषद्बाट अनुगमन नगराउनेलगायत समाज कल्याण ऐन २०४९, समाज कल्याण नियमवाली २०४९, संस्था दर्ता ऐन २०३४ तथा नेपाल परिवार नियोजन संघको विधानका व्यवस्थाहरु संघको केन्द्रीय समितिले लगातार उल्लघंन गरिरहेका कारण संघ संकटमा परेको छ । जसका कारण करिब १ करोड जनताले प्राप्त गरेको सेवा बन्द हुने अवस्थामा रहेको छ भने करिब ६ सय कर्मचारीको भविष्य अन्योलमा परेको छ । नेपाल समाचारपत्र दैनिकबाट ।
आर्य फर्माको बिक्री सूची ‘झुटो’, औषधि फर्माको ल्यावमै यस्तो विवरण
काठमाडौं १०, भदौ । औषधि बनाउन प्रयोग हुने सहायक रसायन स्युडोफ्रिडिन नेपाल भित्र्याएर लागुऔषधका तस्करलाई बिक्री गरेको अभियोगमा अनुसन्धान दायरामा तानिएका आर्य फर्मा ल्यावका सञ्चालकले औषधि निर्माण गरी विक्रि गरेको झुठो विवरण भेटिएको छ । नेपालमा स्युडोफ्रिडिन मगाएर एमफेटामाइन बनाउन भारत हुँदै बर्मा र चीन पुर्याउने गरेको आरोपमा लागू औषध नियन्त्रण ब्युरोले आर्य फर्माका सञ्चालक रतनलाल संघाई र कामदारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ खबर शुक्रबारको कान्तिपुरमा समचार छ । अनुसन्धानका क्रममा आर्यले नेपाल भित्र्याएको स्युडोफ्रिडिन औषधि बनाउन प्रयोग गरेको विवरण ब्युरोमा पेश गरेको थियो। उनीहरुले धरान, काठमाडौं, नेपालगञ्ज, धनगढीका औषधि विक्रेताको सूची देखाएका थिए । ब्युरोका एसएसपी गणेश केसीका अनुसार उनीहरुले औषधि दिएको दाबी गरेका औषधिका डिलरलाई बोलाएर सोधपुछ गर्दा उनीहरुले आर्यबाट औषधि नकिनेको बताएका छन् । ‘आर्यले औषधि दिएको दाबी गरेका वितरकहरुसँग जानकारी माग्दा उनीहरुको सबै विवरण झुठो देखियो,’ केसीले भने‘ वितरकको बयानबाट आर्यले स्युडोफ्रिडिनको दुरुपयोग गरेको थप प्रमाण फेला पर्यो ।’ ललितपुरको पाटनभित्र रहेको प्लाष्टिकको फ्याक्ट्रिमा ४ सय ७० केजी स्युडोफिड्रिन फेला परेपछी ब्युरोले संघाई समूहका रतनलाल संघाई, कर्मचारी दिलिप पण्डित मोहित हलान, श्याम तामाङ र बद्री वन पक्राउ परेका थिए । अनुसन्धानका लागी प्रहरीको न्यायिक हिरासतमा रहेका रतनले आफूले आर्यको कारोबार नहेर्ने र त्यसबारे केही जानकारी नभएको दाबी गरे पनि पक्राउ परेका म्यानेजर पण्डितले पवन र रतनको निर्देशनमा हुने स्युडोफ्रिडिनको तस्करीबारे बयानमा सकारेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिए । ‘रतनले आफूलाई थाहा छैन भनेर छल्ने प्रयास गरिरहेका छन्, तर अनुसन्धानकोक्रममा फेला परेका प्रमाणले स्युडोफ्रिडिनको तस्करी पुष्टि हुने पर्याप्त प्रमाणहरु फेला परिसकेका छन्,’ ब्युरोका एसएसपी केसीले भने ।